जिप चलाउन सिक्ने क्रममा ठक्कर दिँदा १ बालकको मृत्यु, चार घाइते

लक्ष्मी साह

बारा — जिप चलाउन सिक्ने क्रममा ठक्कर दिएपछि एक बाललकको घटनास्थलमा मृत्यु भएको छ ।


अन्य चार जना बालबालिका घाइते भएका छन्। कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित नेपाल राष्ट्रिय उच्च माविको चौरमा भएको घटनामा सोही ठाउँका सुनिल साह कानुको १० वर्षीय छोरा सुरज साहको टाउकोमा गम्भीर चोट लागेपछि मृत्यु भएको हो। अन्य घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनायो।

Yamaha


क्रिकेट खेल हेर्ने बालबालिकाको समुहमध्ये सुरजको मृत्यु भएको हो। कैलाश साह तुराहाको १२ वर्षीय छोरा अजुर्ण तुराहा र सुरेन्द्र साहको १२ वर्षीय छोरा प्रदीप गुप्ता गम्भीर घाइते छन्। अन्य घाइतेहरुमा हीरालाल साहको ६ वर्षीया एक नातिनी र ५ वर्षीय एक नाति छन्।

सोही ठाउँका सिकारु चालक ३० वर्षीय मोहन साह कानु र गाडीमा बसेका दीपेन्द्र साहसहित जी एच ०९ डी ३७०८ नम्बरको भारतीय बोलेरो जिप प्रहरीले अनुसन्धानको लागि हिरासतमा लिएको छ। चालक रुस्तम भन्ने जाकिर हुसेन फरार छन्।

Esewa Pasal

प्रकाशित : पुस १४, २०७४ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फास्टट्रयाक निर्माणमा समस्यैसमस्या

फास्टट्रयाक निर्माणका लागि आवश्यक आधारभूत पूर्वाधार विद्युत्, खानेपानी, टेलिफोनको क्षमता विस्तारको अभाव
लक्ष्मी साह

बारा — रणनीतिक महत्त्वको बहुचर्चित निजगढ–काठमाडौं फास्टट्रयाक आयोजना सरकारले आफैं निर्माण गर्ने निर्णय गर्दै वर्षअघि नेपाली सेनालाई जिम्मा दियो । त्यसबखत शून्य अवस्थामा रहेको राष्ट्रिय गौरवको यो आयोजना चार वर्षभित्र सक्न जिम्मा दिएपछि सेनाले निर्माणको काम सुरु गर्‍यो । तर, चाहे अनुसारको गति लिन नसकेको सेनाकै अधिकारीहरू बताउँछन् ।

झन्झटिलो कानुनी प्रक्रिया मिलान गर्दै समय खर्चिनुपरिरहेको उनीहरूको भनाइ छ । गत जेठमा पूर्वप्रधामन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको आयोजना राजनीतक खिचातानीले चेपुवामा परेको थियो । तर, किचलो र अन्योलबाट पार लागेर सेनाको जिम्मामा गएको महत्त्वाकांक्षी आयोजनाको निर्माणमा चाहिने आधारभूत पूर्वाधारको अभावले काम प्रभावित भइरहेको छ । विद्युत्, खानेपानी र टेलिफोनको क्षमता वृद्धि नभएर प्रभावित भइरहेको हो । अभावैअभाव र वनसम्बन्धी झन्झटिलो कानुनी प्रक्रियाले फास्टट्रयाक ‘फास्ट’ होइन, ‘स्लो’ ट्रयाकजस्तो भएको नेपाली सेनाका अधिकारीहरूले बताउँछन् ।
‘यी सबै आधारभूत आवश्यकताको पूर्वाधार तयारीका लागि सम्बन्धित निकायलाई लिखित र मौखिक ताकेता गर्दासमेत घैंटामा घाम लागेको छैन, दु:ख पाएका छौं,’ निर्माणमा खटिएका सहायक रथी भरतबहादुर खड्काले भने, ‘फास्टट्रयाक आयोजना निर्माणको सबै काम ‘फास्टट्रयाक’ मै हुनुपर्ने हो तर हुन सकेको छैन ।’ सबै सम्बन्धित निकायले अटेरी गरिरहेको उनको आरोप छ । ‘पत्र काटेको महिनौं भइसक्यो,’ कसरी फास्टट्रयाकको उद्देश्य पूरा हुन्छ ?’ उनले भने, ‘शून्य अवस्थामा जिम्मा पाएको आयोजना सम्पन्न गर्न दिनरात खटेका छौं तर सरकारको कानुनी झमेला थेगिनसक्नु भएको छ ।’ इक्विपमेन्ट खरिद, मुआब्जा, अधिग्रहण, सर्भे, रूख कटान गरी घाटगद्दी र साइज मिलान गर्नेदेखि टाँचा लगाउनेजस्ता झन्झटिलो प्रक्रियागत कामले हैरान हुनुपरेको उनले बताए । ‘पुराना पाराले हुँदैन, सरकारले फास्टट्रयाक निर्माणको लागि ‘फास्ट’विधि बनाइदिनुुपर्छ,’ उनले भने ।
जिरो माइल (पूर्व–पश्चिम राजमार्गसँगैको उद्गमस्थल) देखि ७ किमिसम्मका रूखकाट्नमा निकै झन्झट दु:ख मोल्नुपरेको उनको भनाइ छ । उनी भन्छन्, ‘कटान गर्ने जवानलाई खानेपानी छैन । सम्पर्कका लागि टेलिफोनको टावरको कम क्षमताले सम्पर्क विच्छेद भइरहेको छ । कालोपत्रे तयारका लागि थ्री फेजको लाइन विस्तार छैन ।’ क्रसर प्लान्ट र अलकत्रा प्लान्टका लागि बढी क्षमताको विद्युत् आवश्यक छ । यिनै समस्यालाई ख्याल गरी आइतबार निजगढमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो । अन्तक्रियामा विद्युत्, टेलिकम, नगरप्रमुखलगायतले निर्माणमा देखिएका समस्यामा साथ दिने प्रतिबद्धता जनाएको फास्टट्रयाक सरोकार समितिका एक पदाधिकारीले बताए ।
२२ मिटर चौडाइमा खोलिएको ट्रयाकलाई अहिले १८ मिटर थपेर ४० मिटर बनाइँदै छ । यसका लागि धमाधम रूख र डाँडा कटान भइरहेको छ । अहिले २५ मिटरको चौडाइमा पिच गरिने यो फास्ट्रयाकको कुल चौडाइ सय मिटरको हुनेछ । अहिले तत्कालको आवश्यकता पूरा गर्न २२ मा १८ मिटर थपेर ४० मिटर पुर्‍याउन थालिएको हो ।
त्यो कामका लागि पाँचवटा स्थायी क्याम्प स्थापना गरी झन्डै १२ सय सैनिक जवान बिहान ६ बजेखि बेलुका ५ बजेसम्म परिचालन गरिएको छ । थप पाँचवटा स्थायी क्याम्प तत्काल स्थापना गर्न अनुगमन भइरहेको निजगढस्थित वागदेव स्थायी क्याम्पका कर्णेल खड्काले जानकारी दिए । उनका अनुसार निजगढदेखि काठमाडौंसम्म मखुबेंसी, सिनेरीको दोभान, निजगढको वागदेव, लेनडाँडा र बुधुनेमा क्याम्प स्थापना गरी काम भइरहेको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको फास्टट्रयाकको उद्गमस्थल, राजदमार, खोकना, अँधेरीलगायत ठाउँमा थप क्याम्प स्थापनाका लागि अनुगमन र पूर्वाधार तयारी भइरहेको छ । ‘सेना त कुद्ने हो तर झन्झटिलो र आभावैअभावले हिँड्नसमेत सकेको छैन,’ निर्माणमा खटिएका एक अर्का सेनाका अधिकारीले भने, ‘समस्यैसमस्या र कानुनी झन्झटमै अल्झेर फास्ट हुन सकेका छैनौं ।’ आयोजना सम्पन्न भएपछि यस क्षेत्रको आर्थिक, सामाजिक र व्यापारमा वृद्धि हुन्छ । साथै वार्षिक १० अर्बको इन्धन बचत हुने अनुमान छ ।
७६ दशमलव २ किमि दूरीको यो फास्टट्रयाक निर्माण भएपछि काठमाडौं र निजगढ आउजाउ गर्न २ घण्टा मात्र लाग्नेछ । यस मार्गमा दैनिक पाँच हजार सवारी साधनको आवागमन हुनेछ । २०६७ मा ९४ करोडको लागतमा २२ मिटर चौडाइको ट्रयाक पनि सेनाले ३ वर्ष लगाएर खोलेको थियो । २०६४ सालदेखि सुरु भएको यो आयोजना २०७५/२०७६ मा सक्ने भनिएको छ । तर, भौतिक प्रगति खासै छैन । गत आवमा तत्कालीन सरकारले आफैंले बनाउने भन्दै १० अर्ब रकम छुटयाएको थियो । पूर्वपश्चिम महेन्द्र राजमार्गको निजगढदेखि मकवानपुर हुँदै ललितपुरको खोकनामा जोडिएको फास्टट्रयाकमा साना–ठूला ७६ वटा पुल बनाउनुपर्नेछ । यसबीचमा मकवानपुरमा १ दशमलव ३ किमिको सुरुङ मार्ग पर्छ ।
कोलकता बन्दरगाहबाट काठमाडौं जोड्न यो मार्ग छोटो पर्छ । वार्षिक सवारी मर्मत १५ अर्ब बचत हुने फास्टट्रयाक एयरपोर्ट निर्माण मूल समितिले जनायो । सर्वसाधारणको निजी जग्गाको मुआब्जा र ट्रयाक खोल्ने काम चार वर्षअघि नै सकिए पनि खोकनामा थोरै बाँकी रहेको आयोजनाले जनायो । मुआब्जा र ट्रयाक खोल्न सरकारले त्यसबेला २ अर्बभन्दा बढी खर्चेको थियो । तत्कालीन संसदको प्राकृतिक प्रकोप व्यवस्थापन समितिको आदेशमा वन विभागले ट्रयाकको रेखांकनमा परेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रका रूख कटान आदेश फुकुवा गरेपछि ट्रयाक खोलिएको थियो ।

प्रकाशित : पुस ११, २०७४ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT