कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेवास्ताले उपत्यका धुलाम्मे

‘सर्वसाधारण तथा सवारी साधनको आवागमनमा असर पर्ने भएकाले राति काम गर्ने व्यवस्था मिलाइएको छ’
प्रशान्त माली

ललितपुर — जावलाखेल–पुल्चोक–कुपन्डोल सडक धुलाम्मे भएको दुई साता बढी बितिसक्यो । पुल्चोकका सुन पसले रूपकुमार शाक्य धूवाँधूलोले हैरान छन् । वातावरण संरक्षण ऐन र एसियाली विकास बैंकको सुरक्षा उपाय नीतिअनुसार सडक खन्दा धूवाँधूलोको प्रभाव कम गर्न मेलम्ची खानेपानी आयोजना र ठेकेदार कम्पनीले निर्माण सकिनासाथ जतिसक्दो चाँडो कालोपत्रे गर्नुपर्ने प्रावधान छ ।

बेवास्ताले उपत्यका धुलाम्मे

सर्वसाधारणलाई पर्ने कठिनाइ कम गर्न एकपटकमा १०० मिटर सडक, पाइप बिछ्याएको ८ घण्टाभित्रै सडक सुुचारु र काम सकिएको क्षेत्रमा राम्रोसँग सरसफाइ गर्नुपर्छ ।

तर जावलाखेल सडकमा ठेकेदारले पाइप बिछ्याएको १८ दिन बितिसक्यो । तर पनि ठेकेदार कम्पनीले कालोपत्रे गर्न चासो नदिएको शाक्यको गुनासो छ । धूवाँधूलोले गर्दा बस्नै नसक्ने भएपछि उनले सामाजिक सञ्जालमार्फत विरोध नै जनाए । ‘जावलाखेलमा कालोपत्रे नगरेको एक महिना बितिसक्यो,’ उनले भने, ‘धूलोको कणले घाँटीको उपचार गराउनुपर्दा अनावश्यक खर्च भयो ।’ पुल्चोक क्षेत्रमा चेङजिङ रमन कन्स्ट्रक्सनले ठेक्का पाएका हुन् ।

पुल्चोकका झोला पसले शोभा बस्नेतको समस्या पनि उस्तै छ । उनको दैनिकी पनि धूवाँधूलोमै बित्ने गरेको छ । पसलमा आइतबार भेटा झोला सफा गर्नमा व्यस्त देखिन्थे ।

‘धूवाँधूलोले ग्राहक आउनसमेत कम भएको छ,’ उनले भनिन्, ‘दिनभर माक्स लगाएर बस्न बाध्य छु ।’ पुल्चोकका फार्मेसी सञ्चालक राम महर्जन भन्छन्, ‘धूवाँधूलोले गर्दा बालबालिका र ज्येष्ठ नागरिक बढी मर्कामा परेका छन् ।’

यी तीन जना प्रतिनिघि पात्र मात्र हुन् । ठेकेदार कम्पनीले समयमा काम सम्पन्न नगर्दा हरिहरभवन, थापाथली, माइतीघर मण्डलालगायत उपत्यकाका विभिन्न क्षेत्रमा धूवाँधूलोको समस्या उस्तै छ । सबैभन्दा बढी समस्या चक्रपथ छ । चक्रपथमा ढिलाइ हँुदा मेलम्ची आयोजनाअन्तर्गत पहिलो चरणमा मंसिर मसान्तमा चक्रपथभित्रका १३ लाख बासिन्दाले ८५ हजार धारामार्फत पानी उपभोग गर्ने भनिए तापनि गर्न सकेका छैनन् ।

धूवाँधूलोले स्वास्थ्यमा मात्र नभई दुर्घटना पनि वृद्धि भएका छन् । ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार धूलोले मोटरसाइकल साइड लाग्दा र वैकल्पिक बाटो अपनाउँदा दुर्घटना हुने गरेका छन् । ‘गाडी विस्तारै हाक्नु पर्दा ट्राफिक जाम पनि हुने गरेको छ.,’ उनले भने । धूवाँ उड्न नदिन सडकमा पानी हाल्ने गरेको छ । पानी हाल्दा हिलो चक्कामा टाँसेर आउँदा सफा सडक समेत धुलाम्मे हुने गरेको हाछेथुको भनाइ छ । धूवाँधूलोले बढी पैदल यात्रु मर्कामा छन् ।

सडक खन्ने क्रममा निस्कने माटो हावामा फैलन नपाओस् भनेर निर्माणस्थलमा हरियो नेटले घेराबन्दी गर्नुपर्छ । माटो नेटभित्र मात्र थुपार्नुुपर्छ ।

यति व्यवस्था गर्दा पनि हावामा धूलो आउने क्रम नरोकिएमा तत्काल न्यूनीकरण गर्न दैनिक कम्तीमा दुुईपटक पानी छर्कनुपर्ने व्यवस्था छ । तर चक्रपथ सडकमा त्यसो गरिएको देखिँदैन ।

सडक खन्ने क्रममा धूवाँधूलोले वातावरण र जनस्वास्थ्यमा पर्ने असरबारेमा निर्देशनालय सचेत रहेको आयोजनाको भनाइ छ । ठेकेदार कम्पनीले सम्झौता गरेअनुसार काम गरे/नगरेको बारेमा आयोजना कार्यान्वयन निर्देशनालयले नियमित अनुुगमन गरिरहेको दाबी छ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले उपत्यकामा पाइप लाइनको विस्तारका क्रममा सडक खन्नुुपर्ने बाध्यता रहेको बताए । ‘धूलोले वातावरणीय समस्या सिर्जना गर्नेप्रति सचेत छौं,’ उनले भने, ‘काम सम्पन्न भएको सडकमा तत्काल कालो पत्रे गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिन्छांै ।’ उनले सर्वसाधारण तथा सवारी

साधनको आवागमनमा असर पर्ने भएकाले राति काम गर्ने व्यवस्था मिलाइएको बताए । ‘निर्माण कार्य गर्दा सडक अवरुद्ध नगर्ने नीतिअनुसार भोलिपल्ट बिहान सबेरै सडक पुनस्र्थापना गरिएको छ,’ उनले भने, ‘निर्देशनालय मातहतको डिजाइन सुुपरभिजन कन्सल्ट्यान्टमार्फत अनुमगन भइरहेको छ ।’

उपत्यकामा पाँच करोड लिटर पानी भण्डारण क्षमताका विभिन्न ६ वटा पोखरी हुनेछन् । आयोजनाले तीन महिनाअघि पुसको मध्यसम्ममा उपभोक्ताले दैनिक चार घण्टा पानी उपभोग गर्न पाउने गर कार्य अगाडि बढिरहेको दाबी गरे ।

प्रकाशित : पुस १६, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?