कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँमा बढ्न थाल्यो चहलपहल

मेनुका ढुंगाना

अछाम — स्थानीय तह गठन र जनप्रतिनिधि निर्वाचनसँगै जनताका धेरै काम गाउँमै हुने भएपछि चहलपहल बढ्न थालेको छ । सदरमुकाम भने सुनसान हुन थालेका छन् । सरकारी कार्यालयहरूका काम लिएर गाउँगाउँबाट सदरमुकाम धाउनेको चाप घटेको छ ।

गाउँमा बढ्न थाल्यो चहलपहल

‘पहिले बसपार्कमा आउने यात्रुको मात्र भीडभाड हुन्थ्यो । अहिले किनमेल गर्ने पनि बढ्न थालेपछि व्यापार राम्रो छ,’ जयगढका होटेल व्यवसायी रामबहादुर साउदले भने, ‘ग्रामीण बस्तीतिरबाट गाउँपालिकामा विभिन्न काम गर्न आउनेको संख्या बढेपछि व्यापार व्यवसाय पनि राम्रो भएको हो ।’ स्थानीय तहमै अधिकांश सरकारी काम हुन थालेपछि नयाँ होटेल पनि खुल्न थालेका छन् । सकारी सेवा गाउँमा पाइँदा सामान किन्नमात्र सदरमुकाम जानुपर्ने बाध्यता हटाउने तयारीमा लागेका जयगढकै व्यवसायी सुरत खडका बताउँछन् । ‘पहिले र अहिलेलाई तुलना गर्ने हो भने धेरै फरक छ,’ उनले भने, ‘जनताको मागअनुसार व्यापार विस्तार गर्ने कि भन्ने सोचेका छौं ।

कमलबजार नगरपालिकामा पनि नयाँ पसल खोल्ने क्रम जारी छ । हार्डवेयर, किराना, खाद्यान्न, पेय पदार्थ, फोटो व्यवसायीलयायतका व्यापार बढ्न थालेका छन् । स्थानीय तहमा नयाँ संरचना र भवन निर्माण हुन थालेपछि सदरमुकामबाट कमलबजार व्यापार सारेको माया बुढाले बताइन् । ‘अहिले दैनिक २५/३० हजारको हार्डवेयर सामग्री बेचिन्छ,’ उनले भनिन्, ‘सदरमुकाममा पसल कुरेर केही फाइदा होलाजस्तो लागेन । त्यसैले यता सारेँ ।’

यता सदरमुकाम मंगलसैनका व्यापारी भने बजार सुनसान भएसँगै कसरी व्यवसाय अघि बढाउने भन्नेमै चिन्तित छन् । प्रदेश र प्रतिनिधिसभाको अन्तिम नतिजा आएपछि यहाँको बजार सुनसान देखिन थालेको हो । आइतबार र मंगलबार चामल, नुन किन्न केही स्थानीय आउने गरे पनि पहिलेको भन्दा निकै सुनसान देखिन थालेको छ । सरकारी सेवा ग्रामीण क्षेत्रमा पुग्ने क्रम सुरु भएसँगै सदरमुकामको बजार आउनेको संख्या हात्तै घटेको मंगलसैनका फोटो व्यवसायी अमृता ढुंगाना बताउँछिन् । ‘भाडामा बसेर व्यापार सुरु गरियो । अब त भाडा तिर्ने पैसा नै उठदैन,’ उनले भनिन्, ‘स्थानीय तहमा व्यापार लैजाउँ भने पनि बिजुलीको सुविधा छैन । यस्तै हो भने त व्यापार नै छोड्नु पर्ला जस्तो छ ।’ चाडपर्वलगायत अघिपछिको समय पनि सदरमुकामको बजारमा निकै चहलपहल हुन्थ्यो । त्यस्तो भीड क्रमिक रूपमा घटेको छ । यति बेला सदरमुकामका सबै व्यवसायीले घाटा व्यहोर्नु परिरहेको किराना व्यवसायी तुलाराम भाटले बताए । ‘सदरमुकाममा व्यापार घटेको छ,’ उनले भने, ‘अब नयाँ ढंगबाट व्यापारलाई स्थानीय तहमा कसरी लैजान सकिन्छ सोच्नुपर्ने बेला आयो ।’

प्रकाशित : पुस १७, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?