घरखर्च चलाउन खसीबोका

महिला स्वरोजगार
वीरेन्द्र केसी

मौवाबारी (अर्घाखाँची) — घर खर्चका लागि धेरै संख्यामा बाख्रा चाहिँदैनन् । पालनपोषण, आहारा, नश्लसुधार र स्याहार सुधारले थोरै बाख्राले खर्चको गर्जाे धान्छ । शीतगंगा नगर ११ को दुर्गम बस्ती सिद्धारा मौवाबारीका महिलाले खसी र बोका बिक्रीबाट छोराछोरीको पढाइदेखि घरखर्च जुटाएका छन् ।

घरखर्च चलाउन खसीबोका

मौवाबारी स्वावलम्बी महिला समूह गठन गरी उनीहरू व्यावसायिक बाख्रापालनमा सक्रिय छन् । मौवाबारीकी शिला घर्तीले एउटा ब्याउने बाख्रो ५ हजार रुपैयाँमा किनेर ल्याइन् । जुम्ल्याहा पाठा जन्मिए । खसी बेचेर ऋण तिरिन् । बचेको पैसाले दुई पाठी थपिन् । तीन वर्षमा १७ बाख्रा पुगे । केही ब्याउने छन् । प्राय: सबैका घरमा बाख्रा हुन्छन् । त्यो नौलो होइन । तर, वर्षदिनसम्म एउटा बोका पाल्दा १५ केजीको तौलभन्दा बढी भएन । ‘अहिले एउटा खसी र बोका ६ महिना पाल्दा २० केजीसम्मको तौल भएको छ,’ समूहकी उपाध्यक्ष उनले भनिन्, ‘बाख्रा उनै हुन् ।’

स्थानीय जातको बाख्रालाई बोयर जातको वीर्यबाट जुम्ल्याहा पाठापाठी जन्मिने र तौल दोब्बर हुने गर्छ । जन्मिँदै तौल ५ केजीसम्मको हुन्छ । समूहमा यस्ता ५ बोका छन् । घाँस खुवाउने र रातिमा बस्ने छुट्टाछुट्टै खोर निर्माण छन् । नोक्सान नहोस् भनेर घाँस बाख्राको उचाइभन्दा माथि झुन्डयाइन्छ । अन्न, पानी, जुकाको औषधि बेला–बेलामा खुवाइन्छ । परम्परागत बाख्रापालन शैली र खोर थियो । हेफर इन्टरनेसनलको सहयोगमा प्रकाश सचेतन समूह (प्राग) को बाख्रा विकास परियोजना कार्यक्रमले आधुनिक खोर, खसीबोकाको तौल बढाउन आहार, औषधिउपचार र स्याहारसुसारबारे प्रशिक्षण र तरिका सिकाएपछि शिलालाई थप ऊर्जा थपियो ।

‘पहिला दिसापिसाबले बाख्राको शरीर भिज्थ्यो,’ उनले भनिन्, ‘आधुनिक खोरमा सधंै सफा छन् । रोग लाग्ने सम्भावना कम छ ।’ सिद्धाराको मौवाबारी विकट बस्ती हो । जंगलमा जडीबुटी खाएको खसीबोका भनेर व्यापारी कपिलवस्तु र बुटवलबाट गाउँमै खरिद गर्न आउने समूहकी अध्यक्ष तारा भट्टराईले बताइन् । ‘मेरा श्रीमान् अपांग हुनुहुन्छ, दुई छोरामध्ये एक भारत र एक यहीं पढ्छ,’ उनले भनिन्, ‘पहिला चामल किन्न साहुकोमा ऋण खोज्न जान्थें । २ वर्ष भयो खसी, बोका बेचेर घरखर्च चलाएकी छु ।’ पहिला एउटा बाख्रा थियो । अहिले ५ वटा छन् । पाठी, बोका र खसी बिक्रीबाट वर्षमा ५०/६० हजार आम्दानी हुने उनले सुनाइन् । ‘आफ्नै परिश्रमले पैसा कमाउँदा संसार उज्यालो भएजस्तो भो,’ उनले भनिन्, ‘काम गर्न उत्साह भएको छ । ऋणको भारीले रातमा निद्रा लाग्दैनथ्यो, अहिले खल्तीमा दुई/चार हजार टुट्दैन ।’ समूहको बैठकमा खसीबोका कसले कति तौलको बनायो भन्ने छलफल हुन्छ । ‘हाम्रो पूरै ध्यान धेरै तौलको बनाएर धेरै पैसा पार्नेमै छ,’ उनले भनिन् । पशु प्राविधिक गाउँमै पुगेर बाख्रा, खसीबोकाको स्वास्थ्य उपचार गरिदिएपछि महिला पनि हौसिएका छन् । समूहमा २१ महिला आबद्ध छन् । सबै स्वरोजगारउन्मुख छन् । अहिले घर खर्चका लागि ऋण खोज्न साहुकोमा कोही नजाने बताउँछन् । समूहमा सबैले बचत गरेका छन् । एक जनाले महिनामा सय रुपैयाँ बचत गर्छ ।

अहिलेसम्म कोषमा १ लाख, ४ हजार २ सय ८० रुपैयाँ जम्मा भएको छ । परिवार बिरामी परे र बाख्रा किन्न परे ब्याजमा ऋण दिने उनले बताइन् । ‘खानपिन र स्याहरसुसार गरी २/४ खसी पाले सबै खर्च त्यसैले धान्छ,’ समूह सचिव विमला राउतले भनिन्, ‘आम्दानीको प्रमुख स्रोत नै बाख्रापालन हो ।’ समूहबीच बाख्रा उपहार कार्यक्रम पनि सकिएको छ । पाठा जन्मिए आफंै पालेर बेचेर आम्दानी गर्ने हो । पाठी पाए समूहका दिदीबहिनीलाई उपहार दिने उनले बताइन् । बाख्रापाल्न थालेपछि चुरा, टीका किन्ने पैसा पतिसँग माग्न छाडेका छन् । प्रागका संयोजक प्रेमनारायण गैरेले महिला समूहका महिला बाख्रापालनबाट स्वरोजगार बनेको बताए । ‘महिला आफंै उद्यमशील भएर आम्दानी गर्न सक्छन् भन्ने उदाहरण बन्यो,’ उनले भने ।

महिलाले बाख्रा पालेर आम्दानी गरेपछि पुरुषले पनि सहयोग गरेका छन् । ‘हाम्रो पालामा घरभरि बाख्रा हुन्थे, मलका लागि पाल्थ्यौं,’ मौवाबारीकै ९९ वर्षीय रुकुमबहादुर पल्लीले भने, ‘अहिले थोरै बाख्राबाट धेरै आम्दानी गरे । हाम्रो पालमा यस्तो थिएन ।’ खसीबोका बेचेर बुहारीले लुगा किनिदिएको उनले सुनाए । ‘श्रीमतीले बाख्रापालनबाट आम्दानी गरेपछि ठूलो राहत भएको छ,’ स्थानीय झविन्द्र खनालले भने ।

प्रकाशित : पुस १७, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?