१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अब सजिलै मुक्तिनाथ

विनोद त्रिपाठी

मुस्ताङ — कागबेनी उकालो लागेपछि धेरै तीर्थालुलाई लाग्थ्यो– अब यो भीर कसरी चढ्ने होला ? यो केही वर्षअघिको कुरा हो । अब भीर देख्नेबित्तिकै आत्तिने दिन गए । सडक सुविधाले यात्रुलाई यो बाटामा सधैं डुलिरहन पाए हुन्थ्योझैं लाग्छ ।

अब सजिलै मुक्तिनाथ

प्राकृतिक रूपमा मनमोहक त छ नै । सफा, शान्त र स्निग्ध पनि छ । त्यसैमा कालोपत्रे सडक मुस्ताङको ‘सुनमाथि सुगन्ध’ जस्तै बनेको छ । विकसित मुलुकको झल्को दिने गरी फनफनी घुमेको छ, मुक्तिनाथ मन्दिर जाने सडक । ३८ ठाउँका ठूला घुम्ती पार गर्दा मन्दिर पुग्ने जोकोहीलाई लाग्छ, कुनै अर्को ग्रहमा पुगिरहेको छु ।


सडकबाट सजिलै उत्तर र दक्षिणतर्फका हिमालय शृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । दक्षिणतर्फको धौलागिरि हिमाल र उत्तरतर्फका नीलगिरि र थोराङ्लापास शृंखलाले पर्यटकलाई निकै लोभ्याउँछन् । १० वर्ष अघिसम्म सामान बोकेका खच्चडको लर्को देखिन्थ्यो । यात्रु घोडामा ओहोरदोहोर गरेका भेटिन्थे । बेनीदेखि मुक्तिनाथसम्म कच्ची सडक बन्यो । जिप चल्न थाले । अहिले खच्चड देख्नै मुस्किल पर्छ । घुमफिरका लागि आउने पर्यटकले रहरले मात्र घोडा चढ्छन् । जब सडक फराकिलो बन्यो अनि साना सवारी होइन, ठूला बसको यात्राबाटै सजिलै मुक्तिनाथ मन्दिर पुग्ने सुविधा मिलेको छ । यही असोजदेखि सञ्चालनमा आएको कागबेनी–मुक्तिनाथ कालोपत्रे सडकले ठूला सवारी चलाउन झनै सहज बनाइदिएको छ ।


सडक कालोपत्रे भएपछि मन्दिर पुग्ने दर्शनार्थीले सुविधा पाएका छन् । १२ किमि लामो यो खण्ड कुल २१ करोड लागतमा निर्माण भएको हो । दुई खण्डमा विभाजित गरेर काम सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । पहिलो खण्डमा एपेक्स जोशी जेभी कम्पनीले ७ किमि सडक निर्माण गरेको हो भने बाँकी ५ किमि एपेक्स अमिक कम्पनीले निर्माण गरेको हो । ०७२ असार २७ देखि काम सुरु भएको सडक निर्माण सम्पन्न गर्न ०७४ को असार २६ गतेसम्म म्याद दिइएको थियो । मन्दिर जाने सडकमध्ये यो खण्ड सबैभन्दा जोखिम मानिन्छ । गत वैशाखमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु र ३५ जना घाइते भएका थिए ।


जोमसोमदेखि कागबेनीसम्म कालीगण्डकी करिडोरकै मूल सडकबाट सवारी पुग्नेछन् । त्यसपछि सवारी पूर्वतर्फ मोडिएर मुक्तिनाथ जाने ठाडो उकालो सडकतर्फ जानुपर्नेछ । पर्यटक र मन्दिर आउने दर्शनार्थीलाई मध्यनजर गरेर सडक कालोपत्रे गर्ने योजना अघि सारिएको थियो । निकै जोखिम र डरलाग्दो भीर पार गर्नुपर्ने भएकाले कतिपय दर्शनार्थी कागबेनीदेखि हिंडेरै मुक्तिनाथ पुग्छन् ।


‘यो सडकमा निकै जोखिम मोल्नुपथ्र्यो । अहिले ढुक्कले गाडी चलेका छन्,’ बस तथा जिप व्यवसायी समिति अध्यक्ष मीनप्रसाद थकालीले भने । सडक कालोपत्रे भएपछि मुक्तिनाथ पुग्ने दर्शनार्थीको संख्या बढेको उनले सुनाए । कालोपत्रे ३ दशमलव ५ मिटर र सडक ६ दशमलव ५ मिटर फराकिलो छ । ढल, पर्खाल निर्माण गरिएका छन्, सबै सवारीलाई अनुमति दिइएको छ । यो सडक मन्दिरभन्दा अलि वर बसपार्कसम्म पुगेको छ । वातावरण नब्रिगियोस् भनेर मन्दिरको गेटसम्म सवारी लान निषेध गरिएको छ ।


हाल जिप पार्कदेखि मन्दिरसम्म घोडाको प्रयोग हुँदै आएको छ । हिंड्न नसक्नेले घोडा प्रयोग गरे पनि अधिकांश दर्शनार्थी जिप पार्कदेखि १० मिनेट हिँडेरै मन्दिर पुग्ने गर्छन् । कोरलादेखि बेनीसम्मको कालीगण्डकी करिडोर सडकभन्दा अगावै कागबेनीदेखि मुक्तिनाथ पुग्ने बाटो कालोपत्रे गरिएको हो । कागबेनी–मुक्तिनाथ सडक मुस्ताङकै पहिलो कालोपत्रे सडक हो ।

‘तोकिएकै मितिमा सडक निर्माण सक्यौंं, प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर रवीन्द्र तिवारीले भने, ‘यो सडक नै मुस्ताङको पहिलो कालोपत्रे सडक हो ।’ सडक छिटो सम्पन्न गर्न दुई खण्डमा विभाजित गरेर दुईवटा ठेकेदार कम्पनीलाई निर्माणको जिम्मा दिइएकाले समयमै सकिएको उनले बताए । यो सडकमा वर्षभरि नै सवारी चलाउन सकिने उनले जानकारी दिए ।

प्रकाशित : पुस १७, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?