कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जोडिँदै किमाथांका

विकास–निर्माण
‘अब ४९ किमि मात्र ट्रयाक खोल्न बाँकी छ, अवरोध नआए दुई वर्षभित्र काम सकिन्छ’

विराटनगर/संखुवासभा — लामो समयदेखि चर्चामा रहेको विराटनगर–खाँदबारी–किमाथांका मोटरबाटो जोडिन अब ४९ किलोमिटर मात्र बाँकी छ । कुनै अवरोध नभए अबको २ वर्षभित्र यो सडकले पूर्णता पाउनेछ । 

जोडिँदै किमाथांका

प्रदेश नम्बर १ मा पर्ने यो सडक निर्माणलाई अब बन्ने प्रदेश सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने उद्योगी व्यवसायी र सर्वसाधारणको माग छ । ‘केन्द्रीय सत्ता मात्र हुँदा कहिल्यै सरकारले हाम्रो आवाज सुनेन,’ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले भने, ‘अब सिंहदरबार जनताका आँगनमा आएको छ, यहीँ सरकार बन्दै छ, त्यसको पहिलो प्राथमिकतामा यो सडक पर्नुपर्छ ।’


चीन सरकारसँग पारवहन सन्धि भए पनि सडक नहुँदा त्यसको कार्यान्वयन हुन सकेको छैन । सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायीले यो सडक प्रदेश सरकारको प्रमुख एजेन्डा बन्नुपर्नेमा जोड दिएका छन् । सडक बने चीनसँगको व्यापार नेपालका लागि धेरै सहज हुने उद्योगीको भनाइ छ ।


अहिले उत्तर–दक्षिण कोसी सडक आयोजनाले किमाथांका–हटिया र खाँदबारी–हटिया गरी दुईतर्फबाट निर्माण गरिरहेको छ । यो खण्डको दूरी १४ किमि छ । यसका लागि सिन्धुपाल्चोकबाट तिब्बत हुँदै डोजर र इन्धन ल्याइएको छ । भीरको बाटो भएकाले १४ किमि सडकको डोब खन्न ठेकेदारलाई झन्डै ३ वर्ष लाग्यो । खाँदबारीबाट खनिएको सडक पनि हटियाको गोलासम्म पुगेको छ । त्यहाँसम्म ७८ किमि सडक निर्माण भएको हो । आयोजनाले हटियाबाट हाङदाकखोलासम्म २१ किलोमिटरको काम पनि गरिरहेको छ । यो रुटमा १० किमि निर्माण भइसकेको आयोजनाले जनाएको छ ।


स्थानीयले भने निर्माणकार्य अपेक्षाअनुरूप अघि बढ्न नसकेको गुनासो गरेका छन् । केही स्थानमा आयोजनाका कर्मचारी र स्थानीयबीचको विवादका कारण गति सुस्त छ । विराटनगरबाट किमाथांकासम्मको दूरी ३ सय ६२ किमि छ ।


खाँदबारी–किमाथांका १ सय ६२ किमि ट्रयाक निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी पाएको उत्तर–दक्षिण कोसी सडक आयोजनाका डिभिजन प्रमुख पशुपति ज्ञवालीले खाँदबारी हुँदै हटियाको स्याक्सिलासम्म ७८ किमि कच्ची सडक निर्माण भइसकेको बताए । हटियाको वरुण दोभानसम्म कच्ची सडक पुगिसकेको छ ।


किमाथांकाबाट छुमसुरतर्फ पनि ढुंगे गोप्तासम्म १४ किमि कच्ची सडक निर्माण भइसकेको छ । अब ४९ किमि खन्न बाँकी छ । यो खण्ड पूरा भएपछि किमाथांका–विराटनगर सडक जोडिन्छ । द्रुत गतिमा काम भए दुई वर्षभित्र किमाथांका जोडिने ज्ञवालीको भनाइ छ । ‘कसैले विरोध र अवरोध नगरे तीव्र गतिमा काम अघि बढाउने थियौं,’ उनले भने, ‘सडक खन्दै जाँदा हरेक किलोमिटरमा विवाद आउँछ, १० दिनसम्म काम रोकिने गर्छ ।


स्थानीयले अवरोध गरेपछि ठेकेदारले काम गर्न छाड्छन् ।’ विशेष गरी सडकको स्वीकृत डिजाइन र रेखांकनलाई लिएर विवाद हुने गरेको छ । किमाथांकामा यही विवाद देखिएपछि त्यहाँबाट खनिएको सडकको काम १४ किमिमा पर्ने ढुंगे गोप्तामा रोकिएको छ । सदरमुकाम र हटियाबाट खनिएको सडकखण्डमा भने नियमित काम भइरहेको ज्ञवालीले बताए ।


‘सडक निर्माण भइसकेका स्थानमा हिउँदका बेला वरुण दोभानसम्म साना सवारीसाधन र ट्रयाक्टर चलिरहेको छ,’ उनले भने, ‘गाउँवासीलाई यसले सहयोग पुगेको छ । पहिले तीन दिन लगाएर खाँदबारी पुग्ने उनीहरू अहिले गाडीमा १२ घण्टामै पुग्छन् ।’

प्रकाशित : पुस १७, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?