कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याउ खेतीबाटै मनग्य आम्दानी

एकै सिजनमा ४ लाखभन्दा बढी कमाइ
मेनुका ढुंगाना

अछाम — जीवनको उर्वर समय १९ वर्ष भारतमा रोजगारी गरेर फर्किएका अछामका गुमानसिंह बटाला अहिले सदरमुकाममै व्यावसायिक रूपमा च्याउ खेती गरेर बसेका छन् । लामो समय भारतमा श्रम गरे पनि आर्थिक रूपमा सोचेजस्तो उपलब्धि नभएपछि आफ्नै गाउँमा केही गरुँ भन्ने उद्देश्यले ३ वर्षअघि स्वदेश फर्किए । घर फर्किएसँगै बटालाले विभिन्न तालिम लिएर च्याउ खेती थालेका हुन् ।

च्याउ खेतीबाटै मनग्य आम्दानी

मंगलसेनमा एउटा कोठा भाडामा लिएर व्यवसाय गरिरहेका उनले च्याउबाटै एक सिजन (२ महिना) मा ४ लाखभन्दा बढी आम्दानी हुने गरेको जनाए । जिल्ला कृषि विकासको सहयोगमा ०७१ सालमा तालिम लिएका बटाला जिल्लामै च्याउ उत्पादन गर्ने एकमात्र व्यवसायी हुन् । च्याउ व्यवसायीको ७ नम्बर प्रदेश संयोजकसमेत रहेका उनले अहिले छ युवालाई रोजगारीसमेत दिएका छन् ।

एक घरको एउटै कोठामा ३ सय ५ गोलामा च्याउ खेती गरिएको छ । उक्त गोलाका लागि दुई ट्रली परालमा ३ सय किलो बिउ राखिएको छ । कोठाभित्र एक माथि अर्को गरेर गोला झुन्डयाएका छन् । प्लास्टिकले बेरिएका गोला कोठाभित्र टाँग्न बाँसलगायत काठका खम्बाको प्रयोग गरिएको छ । करिब १५ वर्ग फिटमात्रको उक्त कोठामा च्याउ खेती गरिएको हो ।

बटालाका अनुसार पराल, बिउ, कर्मचारी, घर भाडा, बजारीकरणलगायत एक सिजनमा अढाईदेखि ३ लाख रुपैयाँसम्म लगानी हुन्छ । यसबाट करिब २४/२५ क्विन्टल च्याउ उत्पादन हुने र प्रतिकिलो ३ सयका दरले बिक्री हुने उनी बताउँछन् । यसबाट ८ लाख आम्दानी हुन्छ । एक सिजनमा काम गर्ने छ कर्मचारीलाई १६ हजार प्रतिव्यक्तिका दरले ९६ हजार, दुई ट्रली परालको ढुवानीसहित २० हजार, बिउ ८० हजार, घर तथा जग्गा भाडा १८ हजार र बजारीकरण लगायतमा लगानी हुने गर्छ ।

बटालाले बताएअनुसार अन्य जातको च्याउ बिउ राखेको २१ दिनमा ढुसी निस्किन्छ । बिउ राखेको ३२ दिनमा बजार लग्न मिल्ने च्याउ तयार हुन्छ । सामान्यतया च्याउका लागि ४५ दिनको एक सिजन मानिन्छ । अछाममा च्याउको माग सोचेभन्दा बढी आउने गरेको बटालाले बताए । ‘स्वदेशमै केही गरी स्वरोजगार बन्न युवा पुस्तालाई म आग्रह गर्छु,’ उनले भने, ‘च्याउ खेती गर्न इच्छुक युवालाई सहयोग गर्न सधैं तयार छु ।’

सदरमुकाम मंगलसेन, व्यापारिक केन्द्र विनायक, कमल बजार, साफेबगर, जयगढ, मुजाबगर, तुर्माखादलगायत ग्रामीण बजारमा गरी दैनिक च्याउको माग बढदो रहेको उनले बताए । जिल्लाभर दैनिक ६० किलोदेखि १ क्विन्टलसम्म च्याउ खपत हुने उनी बताउँछन् । उनका अनुसार मंगलसेनमै दिनै ४० किलोसम्म च्याउ बिक्री हुन्छ ।

अहिले जिल्लाको एकै ठाउँमा मात्र उत्पादन गरे पनि मुख्यमुख्य व्यापारिक केन्द्रमा च्याउ खेती बिस्तार गरी सफल व्यवसायीका रूपमा पहिचान बनाउने उनको लक्ष्य छ ।

प्रकाशित : पुस १८, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?