कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खुल्न मान्दैनन् कुष्ठरोगी

रोग लुकाउने प्रवृत्तिले कुष्ठरोगमुक्त घोषित नेपालमा नयाँ रोगीको संख्या थपिँदै
फातिमा बानु

काठमाडौँ — ८ वर्षअघि नै नेपालबाट कुष्ठरोग उन्मूलन भएको घोषणा गरिए पनि हरेक वर्ष ३ हजारका दरले नयाँ रोगी फेला परिरहेका छन् । विश्व स्वास्थ्य संगठनले प्रति १० हजारमा १ भन्दा कम रोगी भेटिएका मुलुकलाई उन्मूलन भएको मान्यता दिन्छ ।

खुल्न मान्दैनन् कुष्ठरोगी

त्यसो त सरकारी तथ्यांकअनुसार नेपालमा यो दर ०.९२ मात्र छ । तर यो रोगलाई पूर्वजन्मको पापको परिणाम र देवीदेवताको श्राप मानेर लुकाउने चलनले रोगीको संख्या मापदण्डभन्दा माथि भेटिएको सरकारी अधिकारी नै बताउँछन् ।


तथ्यांकले देखाएभन्दा बढी बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयको कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक मोहम्मद साउद बताउँछन् । ‘लुकेर बसेका बिरामी धेरै छन्, यसलाई रोग नमानेर पापका रूपमा लिने रुढीवादी मान्यताका कारण परिवारले उनीहरूलाई उपचार गर्नसमेत सघाउँदैनन्, रोगबारे समाजले थाहा पाए बेइज्जत हुने डरले बिरामी स्वास्थ्य संस्थासम्म पुगेर औषधि खान हिच्किचाउने प्रवृत्ति उस्तै छ,’ साउदले भने । तथ्यांकले कुष्ठरोग निवारण भइसकेको जनाए पनि समाजमा यसको स्थिति भयावह रहेको उनले बताए ।


कुष्ठरोग ‘लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने रोग हो । यसले छाला र नसामा असर गर्छ । यसलाई सरुवा रोग भनेर चिनाइए पनि सर्ने सम्भावना निकै कम हुने विशेषज्ञहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयको कुष्ठरोग नियन्त्रण महाशाखाका छालारोग विशेषज्ञ डा. रवीन्द्र बास्कोटा भन्छन्, ‘रोगीको सम्पर्कमा लामो समयसम्म बस्दा मात्रै यो रोग सर्ने सम्भावना हुन्छ, औषधि खाइरहेका बिरामीसँग बस्दा सर्दैन ।’ दुर्गम जिल्लाहरूमा यस्ता बिरामीलाई पाप/श्राप लागेको भन्दै घरनिकाला गर्ने प्रवृत्ति अझै हट्न नसकेको उनले सुनाए ।


महाशाखाको अघिल्लो वर्षको तथ्यांकअनुसार देशभर ५ हजार ९ सय २२ कुष्ठरोगी छन् । जसमध्ये २ हजार २ सय २६ जना नियमित औषधिउपचार गराइरहेका छन् भने ३ हजार व्यक्ति यो रोगबाट मुक्त भइसकेका छन् । केही भने सम्पर्कमै छैनन् । चालु आवमा मात्रै ३ हजार २ सय १५ जना नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ । ६ सय विदेशीले नेपालमै यो रोगको उपचार गराइरहेको महाशाखाको तथ्यांक छ ।


नेपालमा हरेक वर्ष ३ हजारको संख्यामा कुष्ठरोगका नयाँ बिरामी थपिने गरेको महाशाखाका पूर्वनिर्देशक चूडामणि भण्डारीले बताए । ‘बर्सेनि यति धेरै नयाँ बिरामी थपिनु यसको अवस्था अझै पनि औलो, कालाजार र एचआईभीजत्तिकै भयावह छ भन्ने प्रमाण हो,’ उनले भने, ‘सामाजिक भेदभाव हट्न सके मात्र बिरामी उपचारको पहुँचमा पुग्छन्, यसबारे अझै व्यापक जनचेतना फैलाउन आवश्यक छ ।’


देशका १८ जिल्ला अझै कुष्ठरोगमुक्त हुन सकेका छैनन् । कुष्ठरोगकै कारण हालसम्म ३० हजार बिरामी अपांग भएको महाशाखाको तथ्यांक छ । महाशाखाका अनुसार यो रोगबाट हालसम्म एक लाख ८० हजारले उपचार पाइसकेका छन् । रोगीलाई घरपरिवारले नस्विकारेकै कारण उनीहरूका लागि सरकारले पुन:स्थापना केन्द्रमा संरक्षण दिइरहेको छ । ललितपुरको खोकनामा यस्तो केन्द्रको व्यवस्था छ ।


सन् २०२० भित्र कुष्ठरोगको प्रकोप निवारण गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य प्राप्त गर्न महाशाखाले घरघर पुगेर बिरामी खोज्ने अभियान चलाइरहेको छ । ‘तथ्यांकले प्रति १० हजारमा एक जनाभन्दा कम बिरामी छन् भन्छ, हामीले खोज्दा एक हजारमै २/३ जना बिरामी भेटिसक्यौं,’ अछाम, बाँके र तराई क्षेत्रका गाउँहरूमा लुकेका बिरामी भेटिएको बास्कोटाले सुनाए ।

प्रकाशित : पुस १८, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?