आँखा अप्रेसनमा लापरबाही

४/४ जना सीडीओसँग धेरै बिन्ती गरेँ, र पनि न्याय पाइएन – खिमे कामी
प्रकाश अधिकारी

सुर्खेत — मोतिबिन्दुले आँखाको ज्योति गुमेको ६ वर्ष बितिसकेको थियो । गाउँकै शिक्षकले सुनाइदिए, ‘मेहेल्कुनामा शिविर हुँदैछ । त्यहाँ जानुस् पैसा लाग्दैन ।’ अप्रेसनबाट गुमेको ज्योति फर्कने आशामा शिविरस्थल सूर्यज्योति मावि पति खिमे कामीसँगै पुगेकी थिइन्, भेरीगंगा नपा २ मैनतडाकी कुमारी रसाइली । यो ०७२ पुस १ गतेको कुरा हो । 

आँखा अप्रेसनमा लापरबाही

पाँच दिन चलेको शिविरमा उनीसहित ३ सयको शल्यक्रिया भयो । ‘अप्रेसनबाट आँखा फर्कने त कहाँ हो उल्टै फुटाइएछ,’ कुमारीले भनिन्, ‘आँखा फुट्यो । उपचार गर्न खोज्दा ऋणमा फसियो ।’ उनको बायाँ आँखाको नानी फुटेको छ । रसाइली परिवारले शल्यक्रिया बिग्रनुको दोष चिकित्सकलाई दिए । नेपाल नेत्रज्योति संघ बाँकेअन्तर्गत सञ्चालित फत्तेबाल आँखा अस्पताल फुलटेक्राका चिकित्सक डा. देवराज भारतीले उनको शल्यक्रिया गरेका थिए ।

सामुदायिक आँखा उपचार केन्द्र, मेहेल्कुनाको व्यवस्थापनमा फत्तेबाल अस्पतालले शिविर गरेको थियो । शल्यक्रिया लगत्तै कुमारीको आँखाबाट लगातार रगत बग्न थाल्यो । रगत बग्ने क्रम नरोकिएपछि उपचारका लागि नेपालगन्ज पुगेको उनको भनाइ छ । फत्तेबाल अस्पतालकै सल्लाहमा उपचारका लागि दिल्ली पुर्‍याइयो ।

आफूहरूको गल्तीबिनै आँखा गुमेपछि ०७२ माघ ४ गते कुमारीका पति खिमे क्षतिपूर्ति दाबी गर्दै बाँकेस्थित फत्तेबाल अस्पताल पुगे । अस्पतालले कुनै ‘रेस्पोन्स’ नगरेपछि रसाइली परिवारको ध्यान कानुनी उपचारतर्फ मोडियो । ‘आँखा नफर्के पनि खर्च भएको पैसा असुल भैदिए हुन्थ्यो भन्ने आस लाग्यो,’ कुमारीले वह पोखिन्, ‘ऋण सरसापट गरी लाखौं खर्च भइसकेछ । साहुहरू माग्न आइरहन्छन् । पैसा कसरी तिर्ने त्यही चिन्ताले राति निद्रै पर्दैन ।’ शल्यक्रिया गर्ने चिकित्सक र सीडीओप्रति आक्रोश पोख्दै भनिन्, ‘आँखा फुटाइदिने अनि क्षतिपूर्ति पनि नदिने ? पीडितको मर्का नबुझने यो कस्तो राज्य हो ?’

सुर्खेतका विभिन्न स्थानमा सञ्चालित मोतिबिन्दु शिविरमा २० भन्दा बढीको शल्यक्रिया बिफल भयो । शल्यक्रिया बिफल भएपछि बिरामी उपचारमै केन्द्रित भए । उपभोक्ता संरक्षण ऐनअनुसार ३५ दिने हदम्याद गुज्रियो । त्यसैले, मैनतडाकी कुमारी रसाइलीबाहेक सबै कानुनी उपचारबाट वञ्चित हुन पुगे । हदम्यादभित्रै जिल्ला प्रशासनमा उजुरी दिएको एक वर्ष नाघे पनि अदालत वा प्रजिअले कसले हेर्ने भन्नेमै उक्त मुद्दा अल्झेको छ । हदम्यादभित्रै उजुरी दिए पनि प्रमुख जिल्ला अधिकारीले मुद्दा हेर्न आलटाल गरेकामा रसाइली दम्पती आक्रोशित छन् । ‘४/४ जना सीडीओसँग धेरै बिन्ती गरें । न्याय पाइएन । निर्धालाई न्याय पाउन मुस्किल रहेछ,’ कुमारीका पति खिमे कामीले दुखेसो पोखे ।

आँखाको शल्यक्रिया ‘माइक्रो सर्जरी’ हुने भएकाले भवितव्य हुने सबै संक्रमणको आफूले चाहेअनुसारको व्यवस्थापन गर्न नसकिने फत्तेबाल अस्पतालको जिकिर छ । अस्पतालले कुनै पनि शल्यक्रियामा विविध कारणवश झिनो प्रतिशतमा शल्यक्रिया बिफल हुन सक्ने भन्दै चिकित्सकलाई लगाएको आरोपको खण्डन गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार बर्माले शल्यक्रिया बिफल भएपछि बचाउने हरसम्भव प्रयास गरिएको बताए । ‘बिरामीमा सुगर समस्या भए पनि स्वीकृत प्रोटोकलअनुसार शल्यक्रियाका लागि उपयुक्त भएकाले शल्यक्रिया गरिएको हो,’ अस्पतालले कान्तिपुरलाई लेखेको इमेलमा भनिएको छ, ‘यसमा अस्पताल वा चिकित्सक कसैको लापरबाही छैन ।’

चिकित्सकको लापरबाहीबाट आँखाको शक्तिहरण भएकाले दोषीलाई सजाय गरी क्षतिपूर्ति दिलाइपाउँ भनी कुमारीले ०७२ माघ २२ गते उपभोक्ता संरक्षण ऐनबमोजिम जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिइन् । उजुरीमा चिकित्सक डा. देवराज भारती, अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार बर्माले ऐनको दफा १० (ङ) विपरीत कार्य गरेको हुँदा निजहरूबाट दफा २४ बमोजिम क्षतिपूर्ति दिलाउन माग गरियो । ऐनमा शरीरको कुनै अंगको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा दस वर्षसम्म कैद वा ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । जिल्ला प्रशासनले आफंैले वर्ष दिनअघि दर्ता गरेको मुद्दा ‘हेर्न नमिल्ने’ बताएपछि पीडित परिवारले थप तनाव झेल्नुपरेको छ । तत्कालीन प्रजिअ राजकुमार श्रेष्ठले मुद्दा दर्ता गर्नुका साथै क्षतिपूर्ति समिति गठन गरेका थिए ।

प्रकाशित : पुस १९, २०७४ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?