चुरे क्षेत्र जोखिममा

पहिलाका विनाशको असर अहिले देखिन थाल्यो
भवानी भट्ट

कञ्चनपुर — कतै पहिरो त कतै भूक्षय । कही आकर्षण त कुनै ठाउँ उजाड बन्दै गएको छ । यो जिल्लाको उत्तरी क्षेत्रस्थित चुरे फेदीमा पछिल्लो समय देखिएको दृश्य हो । चुरेका कुनै ठाउँमा भूक्षयले माटो खिइएर आकर्षक थुम्का बनेका छन् । यसलाई स्थानीयले ‘लिंगा’ को नाम दिएका छन् । उक्त लिंगा हेर्न जानेको भीड उत्तिकै बढेको छ । कुनै ठाउँ सुखा पहिरोले उजाड देखिन्छ ।

चुरे क्षेत्र जोखिममा

चुरे क्षेत्रमा भएको व्यापक वन फँडानी, काठ जथाभाबी ओसार्ने र चरिचरनका कारण केही वर्षयता यस्तो अवस्था देखिएको हो । वन संरक्षणमा लागेका तत्काल पहिरो तथा भूक्षय रोकथामको काम हुन नसके निकट भविष्यमा चुरे विनाशै हुन सक्ने खतरा बढेको बताउँछन् । ‘यस प्रकारको अवस्थाले चुरेको दुर्दशा दर्साउँछ,’ जिल्ला वन अधिकृत शिवप्रसाद शर्मा भन्छन्, ‘विगतको चुरे दोहनको परिणाम यसैलाई मान्नुपर्छ ।’

स्थानीय वेदकोट र भीमदत्त नगरपालिकाको उत्तरी घाडीघाँच क्षेत्रका २ ठाउँमा भूक्षयका कारण अकर्षक थुम्का बनेका छन् । यसैगरी ब्रह्मदेवदेखि वेदकोटको छेला क्षेत्रसम्म ६/७ ठाउँमा ठूलो पहिरो र दर्जनभन्दा बढी साना पहिरो झरेको ब्रह्मदेव रेन्जपोस्टका सहायक वन अधिकृत जीवछ यादवले बताए । सबैभन्दा बढी पहिरो र भूक्षय भएको क्षेत्र यही हो । ‘ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्म धेरै ठाउँमा ठूलठूला पहिरो गएको छ,’ उनले भने ।

भीमदत्त र वेदकोट नगरपालिका क्षेत्रमा पर्ने कामीकाँटे, गहताडी, खन्या र रौटेला खोलाको कटानले ठूलो क्षेत्रमा पहिरो गयो । चुरे फेंदीका बासिन्दाले दाउरा र स्याउलाका लागि खोला किनारका रूख काटदा पनि जोखिम बढी निम्त्याएको चुरे संरक्षण सञ्जाल जिल्ला अध्यक्ष रवीन्द्र कुँवर बताउँछन् । ‘विगतमा भएको वन पँmडानी र चरिचरन तथा अवैध ढुंगा–गिट्टी निकासीको असर अहिले देखिन थालेको छ,’ उनले भने, ‘तत्कालका लागि थुम्काहरू आकर्षक बने पनि दीर्घकालीन रोकथामको प्रयास हुन नसके यो विनाशको लक्षण हो ।’

चुरेको पहिरोले नजिकको बस्तीसमेत जोखिममा पारेको छ । विभिन्न खोलानालाको बाढी बस्तीमा पस्ने, ढुंगा तथा गेग्रान खेतमा थुप्रिने गरेको छ । ‘खोला किनारका कैयौं परिवारको जमिन बगर बनिसके,’ अध्यक्ष कँुवरले भने ।

वन कार्यालयले खोला किनार र सुक्खा पहिरो खस्ने केही ठाउँलाई जोखिमयुक्त क्षेत्रमा राखेर रोकथाम प्रयास गरिरहेको छ । जैविक बाँध निर्माणदेखि बाँस, अम्रिसो र झाडी हुने वनस्पति रोप्ने काम गरिएको छ । तर कतिपय ठाउँमा सुक्खा माटो भएका कारण बोटबिरुवा नउम्रिँदा पहिरो रोकथाममा समस्या देखिएको छ ।

‘खन्या खोलाको उत्तरी क्षेत्रमा सुखा माटो भएकाले कुनै बोटबिरुवा छैनन्,’ वन अधिकृत शर्माले भने, ‘उक्त क्षेत्रलाई हरियाली बनाउन सके मात्रै केही रोकथाम हुन सक्छ ।’ गत वर्ष वन कार्यालयले करिब २ हेक्टर क्षेत्रमा बाँसको जैविक बाँध बनाएर पहिरो रोक्ने प्रयास गरेको थियो । कामीकाँटे खोलाको उत्तरी क्षेत्रमा बाँस तथा अम्रिसो रोपिएको छ । केही ठाउँमा उक्त प्रयास सफल भयो । अहिले चुरेमा मानव चाप नभए पनि विगतका असरले समस्या देखिएको उनले बताए । कतिपय ठाउँमा नरम खालको पहाड भएर भूक्षय बढी हुन्छ ।

गत वर्षदेखि महाकाली सिँचाइ आयोजनाले कामीकाँटे, खन्या र रौटेला खोलाको दुवैतर्फ बाँध बाँधेर कटान नियन्त्रण सुरु गरेको छ । यसले बाढी बस्ती पस्ने खतरा कम हुने शर्मा बताउँछन् । अब माथिल्लो भेगमै संरक्षणका गतिविधि बढाइनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : पुस १९, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?