कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुन्तलाको माग बढ्यो

दमौली — किसानले बगैंचा व्यवस्थापन ध्यान दिनु र अनुकूल मौसमले तनहुँमा सुन्तला उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष भएको ४ हजार ३ सय मेट्रिकटन उत्पादनबाट जिल्लामा २६ करोड ५० लाख भित्रिएको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए । 

सुन्तलाको माग बढ्यो

जिल्लामा गत वर्ष ४ हजार १ सय मेट्रिक टन उत्पादन भएको थियो । ‘पोहोरको तुलनामा ६ प्रतिशतले उत्पादन बढेको छ,’ उनले भने, ‘धेरै फल्ने तनहुँसुर र आँबुखैरेनी एरियामा हो । योपल्ट किसानले बगैंचा व्यवस्थापन राम्रैसँग ध्यान दिएका हुन् ।’ मलजल, नीलोतुथो र समयमा भिटामिनको व्यवस्था गरेर बगैंचा व्यवस्थापन गरेका किसानलाई मौसमले पनि साथ दिएको उनले बताए ।

यसपटक सुन्तलाका दाना राम्रो र स्वाद पनि मिठो र रसिलो भएकाले किसानले बिक्रीका लागि खरिदेलाई कुर्नु पनि परेन । व्यापारीले बोटमा नै प्रतिकेजी ६० रुपैयाँका दरले खरिद गरेर लगे । तनहुँमा उत्पादिन सुन्तला धेरैजसो काठमाडांैमा खपत हुन्छ । सुन्तलाको व्यावसायिक खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न कृषि कार्यालयले अनुदानको व्यवस्था गरेको छ ।

बगैंचा व्यवस्थापन, भिटामिन, नीलोतुथो र कृषि औजारमा अनुदान दिने गरेको हो । बजारसम्म सुन्तला ओसार्न किसानलाई ढुवानी खर्चमा पनि अनुदानको व्यवस्था छ । यसपटक ढुवानीका लागि कृषि विकासले सुन्तला कृषकको समूहलाई १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । प्रति हेक्टर ८ टनभन्दा बढी फलाउनेलाई ७ लाख ५० हजार रुपैयाँ प्रोत्साहनस्वरूप अनुदान दिने तयारी भइरहेको अधिकृत अधिकारीले बताए । यहाँका तनहुँसुर, राइपुर, कोटा, बैदी, छिपछिपे, पतेनी र बेनीकोटलाई सुन्तलाको पकेट क्षेत्रको रूपमा लिइन्छ । निर्वाहमुखी खेती गर्दै आएका किसान सुन्तलाको व्यावसायिक खेतीमा लागेपछि जीवनशैली पनि फेरिएको छ । पकेट क्षेत्र मानिएका गाउँहरूमा सुन्तला नै धेरै किसानको आम्दानीको मुख्य स्रोत बनेको छ । तनहुँमा १६ हजार हेक्टर क्षेत्रफलमा सु्न्तला लगाइएको छ ।

प्रकाशित : पुस १९, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?