३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

६ लेन सडक निर्माण सुस्त

देवनारायण साह

मोरङ — व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भएपछि सर्वसाधारण सास्ती व्यहोर्नुपरेको छ ।

६ लेन सडक निर्माण सुस्त

निर्माणाधीन सडक र यसको दुवैपट्टि खनेको नालाले सर्वसाधारण समस्या परेका हुन् । अति व्यस्त सडकमा सवारीका साधनले उडाएको धूलोले विराटनगरवासी मर्कामा परेका छन् । विराटनगरदेखि इटहरीसम्म दुवैपट्टि ढल निर्माणले पनि सडक धुलाम्य बनेको हो । निर्माण ठेक्का पाएका ठेकेदारले वातावरणीय सुरक्षाका लागि धूलो नउड्न सडकमा पर्याप्त पानी नहाल्ने र समयमा काम नगर्दा यस्तो अवस्था आएको स्थानीयले बताए ।

६ लाइन सडक योजना प्रमुख विनोद मौवारले सडक निर्माणले तीव्रता नपाएको स्विकारे । सरकारले आवश्यक बजेट, मापदण्डअनुसार जग्गा उपलब्ध नगराउनु, सडकमा परेको विद्युत् पोल, खानेपानी संरचना र रूख हटाउन समय लाग्ने र सम्बन्धित कार्यालयसँग समन्वय अभावले रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक बनाउन ढिला भएको उनी बताउँछन् ।

परियोजनाअन्तर्गत पहिलो चरणमा रानीदेखि इटहरीसम्म २९ किलोमिटर ६ सय मिटर, नाला र फुटपाथ निर्माणका लागि ११ प्याकेजमा ५ अर्ब ४ करोड ६१ हजारमा ठेक्का लागेर काम भइरहेको र यस वर्ष थप ४ किलोमिटर ठेक्का लागेको उनले बताए । ‘विराटनगरको बरगाछी चौकदेखि आयल निगमसम्म ३ किलोमिटर निर्माण अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘बरगाछीभन्दा दक्षिण २२ सय मिटर विराटनगर बजार क्षेत्रमा अबको ५ महिनाभित्र सडकको बीच भाग ८ मिटर कालोपत्रे गरेर धूलो नियन्त्रण गर्ने काम अघि बढाएका छौं ।’ सडकमा धूलो उडेर सर्वसाधारणको स्वास्थ्यमा असर पर्न नदिन बजार क्षेत्रमा पानी हाल्न कम्पनीलाई निर्देशन दिएको उनले जनाए ।

विराटनगरस्थित रोडशेष चोकभन्दा दक्षिण ६ लेन सडकअन्तर्गत दुवैपट्टि निर्माण भइरहेको नालामा मापदण्डविपरीत गुणस्तरहीन इँटा प्रयोग भएको छ ।

उक्त खण्ड निर्माण ठेक्का कान्छाराम कन्स्ट्रक्सन काठमाडौंले पाएको हो । प्रमुख मौवारले निर्माण कम्पनीले गुणस्तरहीन इँटा प्रयोग गरिरहेको सूचना आफूलाई पनि आएकाले अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।

उक्त सडक १० अर्ब ९८ करोड लागतमा अहिले केन्द्रबाट १५ मिटर दायाँ र १५ मिटर बायाँ गरी ३० मिटरमा ६ लेन सडक सुस्त गतिमा निर्माण भइरहेको छ । सुनसरीको दुहबी बजार खण्डमा मापदण्डअनुसारको जग्गा सरकारले उपलब्ध नगराइदिँदा निर्माणका लागि टेन्डरसमेत आहान हुन सकेको छैन ।

सरकारले चालू वर्षमा उपलब्ध गराएको ६० करोडमध्ये ४५ करोड खर्च भइसकेको उनले बताए । थप बजेटका लागि पहल गरिरहेको उनले जानकारी दिए । ब्रिटिस इष्ट इन्डिया कम्पनीले सडक बीचबाट १५ मिटर दायाँ–बायाँ गरी ३० मिटर कायम गरी सडक निर्माण गरेको थियो । उक्त सडकलाई सरकारले व्यापारिक मार्ग बिस्तार आयोजनाअन्तर्गत ६ लेन बनाउन लागेको हो ।

सरकारले ०३४ असार २० गते राजपत्रमा सडकको बीचबाट २५ मिटर दायाँबायाँ मापदण्ड कायम गरेको थियो तर ०५४ मा पुन: राजपत्रमा उक्त सडकको दुहबी बजार खण्डमा सडकको बीचबाट सबा आठ मिटर मापदण्ड कायम गरेकाले समस्या भएको ६ लेन सडक निर्माण योजना प्रमुख मौवारले बताए । उनले ०६० सालमा सडक डिभिजन विराटनगरले उक्त सडकको बीचबाट २५/२५ मिटर दायाँबायाँ कायम गर्ने प्रक्रिया अगाडि बढाउँदा स्थानीयले अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले दुहबी खण्डमा सडकको बीचबाट सबा आठ मिटर/सबा आठ मिटर मापदण्डअनुसार सडक निर्माण गराउन आदेश गरेको उनले बताए ।

‘६ लेन सडक विस्तारका लागि सुरुमा सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ मिटरको डिजाइन गरेर काम सुरु भएको थियो,’ उनले भने, ‘सर्वोच्चको आदेशलाई मध्यनजर गरी १५/१५ मिटर दायाँबायाँ कायम गरेर पहिलो चरणमा रानीदेखि इटहरीसम्म २९ किमि ६ सय मिटरमध्ये ११ वटा प्याकेजमा मात्रै काम सुरु भएको छ ।’

उनले दुहबी खण्डको ६ सय ३० मिटर सडकका लागि मापदण्डअनुसार जग्गा अधिग्रहणका लागि फायल मन्त्रालयमा बुझाए पनि हालसम्म कुनै निर्णय नआएकाले काममा ढिलाइ भएको बताए । दुहबी बजार खण्डमा १ सय ७७ घर भत्काएर २ बिघा जग्गा अधिग्रहण गरेपछि मात्रै सडक बीचबाट १५/१५ मिटर कायम हुने उनी भन्छन् ।

प्रकाशित : पुस १९, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?