कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अवैध खानी सञ्चालन - ‘तस्करलाई छुट’

खानी तथा भूगर्भ विभागले  स्वीकृति नदिए पनि अवैध रूपमा सञ्चालित छन् 

भक्तपुर — चाँगुनारायण नगरपालिकाको विभिन्न स्थानमा अवैध रूपमा माटो खानी सञ्चालन भइरहेको छ । नगरपालिकाले खानी सञ्चालनको कार्यविधि नै नबनाई माटो तस्करीलाई उक्साउने किसिमले इँटाभट्टासँग कर लिएको नाममा उनीहरूलाई माटो ओसारपसारको अनुमति दिएको छ ।

अवैध खानी सञ्चालन - ‘तस्करलाई छुट’

नगरपालिकाभित्र सञ्चालित प्रतिइँटा उद्योग वार्षिक ३ लाख रुपैयाँ कर लिएको र उद्योग सञ्चालनका लागि इँटा बनाउने माटो ओसारपसारको अनुमति दिएको नगरपालिकाले जनाएको छ ।

‘इँटा उद्योग सञ्चालनका लागि नगरभित्रै माटो ओसारपसार गर्ने अनुमति दिएको हो,’ नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘एक नगरबाट अर्को नगर लाने अनुमति छैन, माटो ओसारपसार गर्ने ट्रकको नम्बरसहित उल्लेख गरेर अनुमति दिएको हो ।’ तर, खानी सञ्चालनको भने अनुमति नदिएको उनले बताए । ‘जिल्लाको अधिकांश खानीको फाइल अख्तियारले लगेको छ,’ उनले भने, ‘नगरपालिकासँग खानीको विवरण छैन, कुन खानी हो/होइन नगरपालिकालाई जानकारी छैन ।’ यदि खानी सञ्चालन भएको छ भने त्यो अवैधानिक भएको उनले बताए ।

जिल्लाका अधिकांश माटो, ढुंगा र बालुवा खानी करिब दुई वर्षदेखि बन्द रहेको अवस्थामा नगरपालिकाले इँटा उद्योगलाई माटो ओसारपसारको अनुमति दिँदा माटो तस्करीलाई भने थप शक्ति मिलेको छ । खानी तथा भूगर्भ विभागले खानी सञ्चालनको स्वीकृति नदिए पनि अवैध खानी सञ्चालन भइरहेका छन् । यस्तोमा नगरपालिकाले ओसारपोसारको अनुमति दिँदा अवैध तरिकाले चलेका खानीले बढावा पाउने स्थानीयको भनाइ छ । स्थानीय तहमा नेतृत्व लिएका जनप्रतिनिधि, प्रहरी, प्रशासन मूकदर्शक बनेको स्थानीय बताउँछन् ।

चाँगुनारायण १ दुवाकोट सरस्वतीखेलस्थित खुलमखुला अवैद्य रूपमा पाँगो माटो उत्खनन गरी बिक्री भइरहेको छ । ‘राजनीतिक पहुँचको भरमा दिनदहाडै स्काभेटरको प्रयोग गरी माटो निकालिरहेको छ,’ स्थानीय राजेश खड्काले भने, ‘सरस्वतीखेलस्थित एक पाँगो माटो खानीबाट मात्र दैनिक पाँच सयभन्दा बढी ट्रिपर माटो बाहिर जान्छ ।’

त्यस्तै, चाँगुनारायण ४ पोखरेल गाउँ, चाँगुनारायण ९ ताथलीलगायत स्थानहरूमा अवैद्य माटो खानी सञ्चालित छ । स्थानीयले भने इँटाभट्टा सञ्चालन सुरु भएसँगै अवैधानिक रूपमा माटो उत्खनन गरी माटो बिक्री गर्नेे कार्य भएको बताएका छन् । खानीबाट हेभी ट्रिपर ओसारपसार हुँदा नीलवाराही बोडे–सरस्वतीखेल सडक जीर्ण बनेको स्थानीयको गुनासो छ । ‘माटो खानी सञ्चालन भएदेखि नीलवाराही बोडे–सरस्वती खेल सडक हिँडिसक्नु छैन,’ स्थानीय राधिका थापाले भनिन्, ‘माटो बोकेका ट्रिपर नछोपी ओसारपसार गर्दा नगर क्षेत्र नै प्रदूषित बनेको छ ।’

नयाँ संरचनामा स्थानीय तह जानुभन्दा पहिले जिल्ला विकास समितिले अनुगमन गथ्र्यो । स्थानीय तह लागू भएपछि न अनुगमन भएको छ न त खानी सञ्चालनका लागि अध्ययन नै हुन सकेको छ । खानी बन्द भएको मौका छोपी व्यवसायीले नै अवैध व्यापार थालेको स्थानीय बासिन्दा बताउँछन् । यसरी खानी बन्द भएको अवस्थामा समेत खुला रूपमा अवैध व्यापार गर्नेलाई प्रहरी प्रशासनले सम्मान गरेको छ । चाँगुनारायण नगरपालिकाले भने अवैध सञ्चालित खानी निकासी रोक्न प्रहरी र प्रशासनलाई हारगुहार गर्दा पनि केही सुनुवाइ नभएको जनाएको छ । जिल्ला समन्वय समिति संयोजक नवराज गेलालले अवैध माटो खानी सञ्चालनको विषयमा जानकारी नभएको र खानी सञ्चालनका लागि समन्वय समितिसँग कुनै समन्वय नभएको बताए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने सम्पूर्ण अधिकार स्थानीय तहमा गइसकेको हुनाले खानी सञ्चालनको विषयमा स्थानीय तह चनाखो हुनुपर्ने बताए ।

प्रकाशित : पुस १९, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?