१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

रानीपोखरी उत्खनन सुरु

‘ढुंगा–माटो हाल्यो भने अर्काे लेयर बन्छ । उत्खनन गरेर यही हेर्ने हो’ 
प्राचीन इन्जिनियरिङमा पानी रिचार्ज गर्ने सिस्टम थियो
दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौं महानगरले पुनर्निर्माण गर्न बनाएको विज्ञ समिति मंगलबार रानीपोखरीमा केन्द्रित भए । पोखरीको पानीको आउने स्रोत भनिएको उत्तरपूर्वी क्षेत्र अवलोकन गरे, जहाँ महानगरले पोखरी मिच्ने गरी संरचना बनाउन खनेको भाग थियो । खनेको ठाउँमा पानी देखियो । 

रानीपोखरी उत्खनन सुरु

‘पानी आएछ,’ विज्ञ समिति सदस्य पुरातत्त्वविद् सुदर्शनराज तिवारीले भने । विज्ञ टोली पोखरीको पश्चिमतिर गयो । त्यहाँ छेउमा पानी रसाइराखेको थियो । ‘तीन(चार लेयर छन् यहाँ’ पोखरीको उत्तर पश्चिम कुनातिर देखाउँदै तिवारीले भने, ‘यति पानीले पनि पोखरी भरिन सक्छ । यो प्राकृतिक मुहान हो ।’ प्रताप मल्लले बनाउँदा काठमाडौंमा पानीको स्रोत इखापोखरी मात्रै थियो । यहाँ पानी इखापोखरीबाट ल्याइएको हो । त्यो पोइन्ट कतातिर छ भन्ने थाह नभएको तिवारीले बताए । पश्चिम कुनामा जमेको पानी अवलोकन गरेर टोली यमलेश्वर मन्दिरतिर लाग्यो । ‘पोखरीमा यस्तो गर्नुको रहस्यचाहिं के रहेछ ?’ विज्ञ समितिका संयोजक पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णु काकीले तिवारीसँग सोधे । ‘के हुनु ?’ तिवारीले जवाफ दिए, ‘बकाइदा स्विमिङ पुल बनाउने । दिनमै ५ हजार जनालाई रानीपोखरी घुमाउने । दिनमै १ लाख रुपैयाँ कमाइ गर्ने ।’


पुरातत्त्व विभागले पनि कसैले हस्ताक्षर नगरेको नक्सा दिएको छ । ‘यो के गरेको विभागले ?’ कार्कीले भने, ‘यस्तो सम्पदा मास्न पनि दिनु हुन्थ्यो ? यो ठूलो गल्ती भयो ।’ ‘पहिलाकै नक्सामा एन्टिथिएटर बनाउने योजना बनाएको,’ तिवारीले जवाफ दिए, ‘पहिला बनाएको डिटेल नक्सामा र अहिलेको नक्सामा फरक छ । यसबारे त्रिचन्द्र क्याम्पस प्राध्यापक संघले अनुसन्धान गरेको रहेछ । अनुसन्धानमा पोखरीको लम्बाइ १ सय ४० मिटर र चौडाइ १ सय ८० मिटर देखाइएको छ । यो साइजबाट घटाउने योजना बनाएका हुन् । रानीपोखरीको छेउबाट यमलेश्वर मन्दिरसम्म जाने पुलतलको ‘अन्डर वे’ बाट टोलीभित्र छिर्‍यो । केही बेर मन्दिरको जग पनि हेर्‍यो । पुलको दक्षिणतिरको कुनामा उत्खनन सुरु भएको थियो । पुरातत्त्व विभागका प्राविधिक उत्खननमा सहभागी थिए । ‘लेयर हेर्नुभयो ?’ नाँपजाँच गरिरहेका पुरातत्त्वका कर्मचारीलाई कार्कीले सोधे । कर्मचारी लम्बाइ नाप्न थाले । लेयर गन्न थाले । ‘पाँच लेयर रहेछ,’ खाल्डोमा पस्दै कार्कीले भने ।


पोखरीको यो कुनामा १ सय १० सेन्टिमिटर खनेर यसको लेयर, बालुवाको अवस्था र माटोको तह हेरिएको छ । ‘समयअनुसार लेयर बन्दै जान्छ,’ पुरातत्त्व विभागमा लामो समय काम गरेर अवकाश पाएका सम्पदाकर्मी विराट थापाले सञ्चारकर्मीलाई बुझाए, ‘ढुंगा(माटो हाल्यो भने अर्काे लेयर बन्छ । लेयर बन्ने प्रक्रिया समयअनुसार बढ्दै जान्छ । उत्खनन गरेर यही हेर्ने हो ।’ रानीपाखरी करिब ३ सय ५० वर्ष पुरानो हो । यसको निर्माण प्रताप मल्लले विसं १७२७ मा गरेका हुन् । मन्दिरको छेउमा ९ वटा इँटा जम्मा गर्न लगाए कार्कीले । थापाले इँटा जम्मा गरे । ‘यसलाई धुनुस्,’ कार्कीले कर्मचारीलाई अह्राए, ‘यसलाई धोएर फोटो खिच्नुस् । अनि इँटा त्यहीं राखिदिनुस् ।’

विज्ञ टोली पोखरीको वरिपरि थप अध्ययन गर्न थाल्यो । पोखरीको छेउमा पानी अड्याउन लगाइएको पर्खाल अध्ययन गर्न थाल्यो । ‘यो इँटालाई क्रस बनाएर लगाइएको गाह्रो रहेछ,’ तिवारीले भने, ‘यसमा माटो मिसाइएको छैन । इँटा एकअर्कामा अड्याएर बनाइएको हो । यो पर्खालभन्दा उता माटोको सतह छ । माटोचाहिँ पानी अड्याउन बनाइएको हो ।’ पोखरीको दक्षिणतिरको छेउमा रहेको हात्तीको सालिक भएको ठाउँमा पनि उत्खनन भइरहेको थियो ।


‘बन्न त पहिला पनि बन्ने भएको थियो,’ कार्कीले शाक्यलाई जवाफ दिए, ‘अबचाहिं पुरातात्त्विक दृष्टिकोणले बन्ने भयो । प्राचीन शैलीको बन्ने भयो । ‘हाम्रो त बासै यहीं छ,’ तिवारीले पनि थपे, ‘ठूलो चउरमा बास छ । बरु यहाँ फुटबल खेल्नुपर्‍यो । एउटा टिम तयार पार्नुस् ।


टोली फेरि मन्दिरतिर गयो । फेंदको इँटा हेर्‍यो । ‘यो त राणाकालीन होइन,’ कार्कीले भने, ‘राणाकालीन इँटामा नाम लेखिएको हुन्छ । त्योभन्दा पहिलाको सादा हुन्छ ।’ खोज्दै जाँदा राणाकालीन इँटा पनि भेटियो । इँटामा लेखिएको थियो( श्री ३ भीमशमशेर । भीमशमशेर लेखिएको इँटा बोकेर सम्पदाविद्ले फोटो पनि खिचाए । मन्दिरको छेउमै इँटा राखेर टोली अर्काे ठाउँ गयो । भत्काएको पर्खालको इँटा अवलोकन गर्‍यो । ‘यस्तो महत्त्वपूर्ण सम्पदा किन यस्तो गरेको होला ?’ कार्कीले फेरि प्रश्न गरे ।


‘यहाँ निर्माण गैरकानुनी हो भनेर हामीले भन्दाभन्दै काम झन् तीव्र बनाए । एउटा डोजरले खनिराखेका थिए । रातारात तीनवटा डोजर छिराए,’ तिवारीले भने, ‘कंक्रिट पर्खाल लगाए । कंक्रिट पर्खाल लगाएको काम गरें भनेर देखाउन हो । काम सकिएपछि बिल बनाउन पाइयो । भुक्तानी लिन पाइयो ।’


‘यहाँ इनार थियो त ?’ सम्पदाप्रेमी सञ्जय अधिकारीले सोधे । पोखरी निर्माण गर्ने प्राचीन इन्जिनियरिङमा इनारले पानी रिचार्ज गर्ने सिस्टम भएको तिवारीले सुनाए । सातवटा इनार भएको तर कहाँनेर भएको भनेर खोज्नुपर्ने बताए । ‘भक्तपुरको सिद्धपोखरी पुनर्निर्माण गर्दा पानी सुक्यो,’ तिवारीले जवाफ दिए, ‘पानी ल्याउने इनार र फाल्ने इनार हुन्छन् । सिद्धपोखरी सफा गर्दा पानी ल्याउनेलाई छाड्नुपथ्र्याे । पानी फाल्नेलाई चाहिं पुर्नुपथ्र्याे । पानी फाल्ने पनि नपुरेकाले त्यहाँबाट पानी गयो ।’ त्यसलाई फेरि जीर्णाेद्धार गरेर पानी जमाइएको थियो । ‘इनलेट र आउटलेट बुझ्नुपर्छ । पोखरीमा वास्तुशास्त्र हुन्छ, उनले थपे, ‘वास्तुशास्त्रअनुसार पोखरीको उत्तरको डिल र पश्चिमको डिल होचो भयो भने मिल्दैन । सहर बसाउँदा पनि वास्तुशास्त्रको यो नियम पूरा गर्नुपर्छ । रानीपाखरीमा पनि यो वास्तु पूरा गरिएको छ ।’ हेर्दाहेर्दै पोखरीमा भीड लाग्यो । ‘आज भ्याइएलाजस्तो छैन,’ कार्कीले भने, ‘भोलि पनि आउनुपर्ने भो ।’


सुझाव पठाउन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माण सम्बन्धमा सुझाव दिन आह्वान गरेको छ । मंगलबारदेखि ५ दिनसम्मका लागि सुझाव संकलन खुला राखिएको महानगरले जनाएको छ । राष्ट्रिय सभागृहस्थित विज्ञ समूहको कार्यकक्ष, इमेल, इन्टरनेट, टेलिफोनलगायतबाट समेत सुझाव दिन सकिने महानगरले जनाएको छ ।


पुरातात्त्विक मापदण्डविपरीत पुनर्निर्माण थालेको महानगरले यसको चौतफी विरोध भएपछि काम रोकेको थियो । पुनर्निर्माण सम्बन्धमा १५ दिनभित्र राय दिने गरी ११ सदस्यीय विज्ञ समितिसमेत बनाएको थियो । समितिले काम थालिसकेको छ । रानीपोखरी प्रताप मल्लकै शैलीमा बनाउने निर्णय महानगरले गरिसकेको छ ।

प्रकाशित : पुस १९, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?