कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुसारोले बस्ती नै सेताम्मे

ताप्लेजुङ — झट्ट हेर्दा मौसम सफा देखिन्छ । अघिल्ला वर्षहरूमा यतिबेला सेताम्य भइसक्ने डाँडामा हिउँ परेको छैन । हुस्सु, कुहिरो कतै देखिँदैन । दिनभर नीलो आकासमा टन्टलापुर घाम लागिरहेको छ । तर पनि चिसोले जनजीवनमा निकै प्रभाव पारेको छ ।

तुसारोले बस्ती नै सेताम्मे

बूढापाकाका अनुसार यो वर्ष विगतभन्दा चिसोको रुप केही फरक छ । रातभरि पर्ने तुसारोले दिनभरसम्म पिरोल्न थालेको छ । पहिला हिउँले सेताम्मे हुने क्षेत्र अहिले तुसारोले भरिएको छ । राति घरबाहिर हेर्दा तुसारोको सेताम्मे देखिने फुङलिङ नगरपालिका ४ भिन्तुनाकी कमला राजभण्डारी बताउँछिन् ।

तुसारोकै कारण अधिक चिसो महसुस भएको राजभण्डारीले सुनाइन् । ‘पहिला हिउँ पथ्र्यो, चिसो सिरेटो चल्दा हिउँको चिसो आयो भन्ने गरेका थियौं,’ उनले थपिन, ‘अहिले तुसारोको चिसोले पिरोल्यो ।’ चन्द्रमा टन्टलापुर लागेको रातमा तुसारोले पुरै सेतो बनाउने गरेको स्थानीय बताउँछन् ।

तुसारोको चिसोले आलु, मकै, गहुँजस्ता बालीमा असर पुग्ने किसानको बुझाई छ । फुङलिङ नगरपालिका ८ का कर्णवहादुर सुनुवारले भने, ‘तुसारो परेपछि बाली कक्रक्क पर्छ र बिग्रन्छ ।’ रोगकीरा पनि यहीबेला सुरु हुने उनले बताए । त्यसैले किसान पहिल्यैदेखि हिउँ परे रमाउने, तुसारोपरे निराश हुने गरेको उनले सुनाए ।

पूर्वाञ्चल हावापानी फिल्ड कार्यालयको तथ्यांकअनुसार सदरमुकाम क्षेत्रको तापक्रम दैनिक ३ डिग्री हाराहारीमा छ । तापक्रम घटदा किसानले पशुचौपाया गोठभित्र बाँध्ने, बिहानबेलुका खोलेलगायत तातो खानेकुरा दिने गरेका छन् ।

प्रकाशित : पुस २०, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?