कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विपन्न बस्तीमा थपिँदै बिरामी

 -नि:शुल्क औषधि अभाव  -विद्यालय बन्द  -सडक यातायात प्रभावित  -हवाई सेवा ठप्प  -त्रिपालमुनि बालबालिका जोगाउन मुस्किल 
कान्तिपुर टिम

काठमाडौँ — जस्ताको छानो र त्रिपालको बेराले घेरिएको टहराअघि काखमा बच्चा च्यापेकी एक महिला थरथरी काँप्दै थिइन् । छोराछोरीको पनि उस्तै हालत छ । ती कसैका आङमा न्यानो लुगा छैन । मोरङको विराटनगर–१२ जमुवास्थित सुकुम्बासी बस्तीकी बासिन्दा हुन् काजल ऋषिदेव । पाँच महिनाअघि बाढीले विस्थापित उनको दैनिकी चिसो बढेपछि झन् कष्टकर भएको छ । 

विपन्न बस्तीमा थपिँदै बिरामी

न्यानो कपडा नभएकाले दुई छोरी, एक छोरासँगै आफू पनि रुघाखोकी र ज्वरोले ग्रस्त भएको काजलले बताइन् । ‘श्रीमान् बिहान/बेलुकाको छाक टार्न दैनिक ज्यालामजदुरीमा जानुहुन्छ, मैले छोराछारीको रेखदेख गर्दै आएकी छु,’ उनले भनिन्, ‘छाक टार्नै समस्या भएकाले न्यानो लुगा किन्न र बाढीले बगाएको घर बनाउन सकिएको छैन ।’ अर्की स्थानीय भुटिया ऋषिदेवले दुई नातिलाई ज्वरोसँगै झाडाबान्ताले सताएको बताइन् । स्वास्थ्यसंस्था जाँदा स्वास्थ्यकर्मीले केही ट्याब्लेट दिँदै थप औषधि किनेर खुवाउन भनेका छन् । तर, पैसा नहुँदा उनले औषधि किन्न सकेकी छैनन् ।

जिल्लाका अधिकांश बाढीपीडितको त्रिपालमुनि बास छ । शीतलहरसँगै चिसो हावाले त्रिपाल पनि च्यातिन थालेको उनीहरूको गुनासो छ । विराटनगर–१२ का कुलेश्वर ऋषिदेवले यस्तो संकटमा आफूहरूलाई कसैले साथ नदिएको दुखेसो पोखे । ‘बालबालिका, वृद्धवृद्धा, सुत्केरीहरू धमाधम बिरामी पर्न थालेका छन् तर स्थानीय स्वास्थ्य संस्थामा नि:शुल्क औषधिसमेत छैन । ऋण लिएर उपचार गराउन बाध्य छौं,’ उनले भने । कोसी अञ्चल अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीणकुमार झाले चिसो बढेसँगै बालबालिका बिरामी हुन थालेको बताए । ‘अहिले अस्पतालका ४० शय्या बिरामी बालबालिकाले भरिएका छन्, थप १५ जनालाई अन्यत्र राखेर उपचार गरिँदै छ,’ उनले भने, ‘बिरामीको संख्या दिनदिनै बढिरहेको छ ।’


घुरकै सहारा

सप्तरीको तिलाठी कोइलाडी–८ तोपाकी महाबती सदा बुधबार बिहान परालको घुरमा ज्यान तताउँदै थिइन् । एकसरो लुगाका भरमा हिउँद कटाउनुपर्ने बाध्यता रहेकी उनले गुनासो गरिन्, ‘बाढीले लखेटिएका हामीलाई जाडोमा पनि उस्तै सकस छ, जीवन संकटमै बित्ने भो ।’ चार दिनयता चिसो हावासँगै चलेको शीतलहरका कारण मुसहरलगायत विपन्न परिवार महावतीकै जस्तो पीडामा छन् । ‘बाँसको टाटीले बारेको घरमा चिसो पसेर निदाउन सकिँदैन,’ महावतीले भनिन्, ‘दैनिक श्रम गरेर खानुपर्ने हामीलाई जाडो अभिशाप नै भयो ।’ १० वर्षअघि पति बितेपछि ६ जनाको परिवारकी एक्ली सहारा उनले जाडो छल्न आगोको घुर एक मात्र सहारा भएको बताइन् । तोपाको मध्यबस्ती र कोसी नहरको डिलमा बसोबास गरिरहेका ६० घर मुसहर समुदायको पीडा यस्तै छ । ‘पराल ओछ्याई रात काट्ने गरेका छौं,’ स्थानीय बौका सदाले भने, ‘दिउँसो घुर बालेर ताप्छौं ।’ चिसोकै कारण उक्त टोलमा सात जना बिरामी परेका छन् ।

मंसिर १५ देखि यहाँ निरन्तर शीतलहर छ । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग र अन्य सडकमा यातायात सञ्चालनमा कठिनाइ छ । ‘नहरको डिल अनि चारैतिरबाट हावा पस्ने फुसको घर । सिरकसमेत छैन,’ तोपास्थित नहरछेउको मुसहरबस्तीका खटर सदाले भने, ‘यस्तै चिसो बढिरहे बाँच्न कठिन छ ।’ विषहनिया–९ स्थित मुसहरबस्तीका स्थानीय पनि कष्टपूर्वक दिन कटाइरहेका छन् ।


पढाइ ठप्प

चिसो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएका छन् । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेका अनुसार विद्यार्थीलाई विद्यालय पुग्नै कठिनाइ भएकाले बिहीबारदेखि तीन दिनका लागि जिल्लाका ४ सय १२ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भएको छ । ‘मौसम सुधार भए आइतबारबाट पढाइ सञ्चालन गरिन्छ,’ उनले भने ।

जिल्लाका स्वास्थ्यसंस्थामा चिसोका बिरामीको चाप बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोल्ड डाइरिया, रुघाखोकी, ज्वरो, निमोनियाँ, दमजस्ता समस्या देखिएका छन् । बढीजसो वृद्धवृद्धा र बालबालिका बिरामी परेका छन् । चिसो बढेपछि सदरमुकाम राजविराजसहित जिल्लाका प्रमुख बजार र सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ ।


रात कटाउनै मुस्किल

सर्लाहीको चक्रघट्टा गाउँपालिकास्गित पटेर्वा बस्तीका केवल माझी मुहसरको परिवारका ६ सदस्य एउटा पातलो ओढ्नेको भरमा शीतलहर झेलिरहेका छन् । चारैतिरबाट हावा पस्ने मचानमा उनीहरूलाई रात कटाउनै मुस्किल छ । उक्त बस्तीमा ४० घर मुसहर छन् । अधिकांशले हावा नछिरोस् भनेर ढोकामा गुन्द्री टाँगेका छन् । चरम आर्थिक अभाव रहेका उनीहरू पराल ओछ्याएर सुत्छन् । परालै ओढ्छन् । दिउँसो पनि पराल बालेर गुजारा गरिरहेका छन् । ‘मजदुरी गरेर कमाएको पैसा खानमै ठिक्क हुन्छ,’ केवल माझीले भने, ‘चार छोराछोरी छन्, उनीहरूलाई न्यानो लुगा किनिदिन र तागतिलो खाना खुवाउन सकेको छैन ।’


दैनिकी कष्टकर

शीतलहर तथा हुस्सुका कारण जनकपुरलगायत धनुषाको जनजीवन कष्टकर बनेको छ । सरकारी तथा निजी क्लिनिकमा बिरामीको संख्या बढेको छ । बाजार सुनसान छ । हवाई सेवासमेत प्रभावित छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड अफिसका अनुसार बुधबार यस वर्षकै सर्वाधिक जाडो दिनका रूपमा रेकर्ड गरिएको छ ।

कार्यालयप्रमुख राजीव झाका अनुसार बुधबार जनकपुरको न्यूनतम तापक्रम ८ दशमलव ८ डिग्री थियो । ‘बुधबार यस वर्षको सर्वाधिक जाडो दिन रेकर्ड गरिएको छ । न्यूनतम तथा अधिकतम तामक्रमबीचको अन्तर अति न्यून भएकाले अधिक जाडो महसुस गरिएको हो,’ उनले भने ।

झाका अनुसार हुस्सुका कारण बुधबार हवाई सेवा समेत सञ्चालन हुन सकेन । चिसोले वृद्धवृद्धामा रुघाखोकी, दम, कोल्ड डाइरिया तथा बालबालिकामा निमोनिया देखिएको छ । जनकपुर अञ्चल अस्पतालसँगै निजी स्वास्थ्यसंस्थामा बिरामीको संख्या निरन्तर बढ्दो छ । अञ्चल अस्तालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामपरीक्षण यादवका अनुसार ओपीडीमा दैनिक २ सयदेखि २ सय ५० जनासम्म बिरामी आउन थालेका छन् । ‘जाडो बढेयता दैनिक झन्डै १ सय बिरामी थपिएका छन्,’ उनले भने । जाडोले नगरक्षेत्रमा पटके पसलेसँगै रिक्सा चालक, ठेला चालक तथा दैनिक मजदुरी गर्नेहरू अत्यधिक प्रभावित भएका छन् । दलित तथा गरिब बस्तीको जनजीवन अस्तव्यस्त छ । स्थानीय बासिन्दाले नगरक्षेत्रका चोकचोकमा घुर बाल्न माग गर्दै आएका छन् ।

चिसो बढेपछि जिल्लाका विद्यालय माघ १ गतेसम्मका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा कार्यालयले विद्यार्थी आउन छाडेपछि पुस १९ देखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।


थामिएन शीतलहर

महोत्तरीमा पनि शीतलहर नथामिएपछि सामुदायिक विद्यालय बिदा दिइएको छ । जिशिअ ठूलोबाबु दाहालका अनुसार तापक्रम निरन्तर घटेकाले एक साताका लागि विद्यालय बन्द गरिएको हो । जिल्लामा ३ सय १५ सामुदायिक विद्यालय छन् ।

जिशिकाले ९१ संस्थागत विद्यालयलाई पनि बिदा गर्न निर्देशन दिएको छ । दाहालले विद्यार्थीको स्वास्थ्यमा नकारात्मक प्रभाव देखिन थालेपछि स्थानीय तहको सहमतिमै बिदा दिइएको जनाए ।

बाक्लो कुहिरोले सडकमा चहलपहल घटेको छ । बुधबार जलेश्वरको न्यूनतम तापक्रम ७ डिग्रीमा झरेको छ । ‘न्यूनतम तापक्रम १० डिग्रीभन्दा तल झरेको अवस्थालाई ‘सिभियर कोल्ड डे भनिन्छ’ जिल्ला स्वास्थ्य प्रमुख डा. राजीव झाले भने, ‘हेलचेक्य्राइँ गरे यसको सिधा असर स्वास्थ्यमा पर्छ ।’

चिसोले बालबालिका तथा वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या बढेको झाले जनाए । यसबीच अस्पताल तथा स्वास्थ्य केन्द्रमा निमोनियाँ, दम, कोल्ड डाइरियाका बिरामीको चाप बढेको छ । स्वास्थ्यकर्मीका अनुसार जलेश्वर अस्पतालमा दैनिक ३०/४० यस्ता बिरामी आउने गरेका छन् । चिसोको असर चौपाया र हिउँदे बालीमा समेत परेको छ ।

(देवनारायण साह/मोरङ, अवधेशकुमार झा/सप्तरी, अमन कोइराला/सर्लाही, श्यामसुन्दर शशि/जनकपुर, सन्तोष सिंह/धनुषा र रवीन्द्र उप्रेती/महोत्तरी)

प्रकाशित : पुस २०, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?