कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८ जनाले बुझाए चुनावी खर्च

चुनावी खर्चमा सबैभन्दा धेरै गोष्ठी, अन्तक्र्रिया, सवारी साधन र प्रचारप्रसारमा खर्चको विवरण
प्रताप विष्ट

हेटौंडा — प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८ जनाले मात्रै चुनावी खर्च बुझाएका छन् । बुधबारसम्म ६४ उम्मेदवारमध्ये ८ जनाले मात्रै चुनावी खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

८ जनाले बुझाए चुनावी खर्च

निर्वाचन आयोगका अनुसार चुनावको अन्तिम नतिजा आएको ३५ दिनभित्रमा सबै चुनावी खर्च बुझाउनुपर्ने प्रवधान छ । मकवानपुरमा चुुनावको अन्तिम नतिजा मंसिर २७ गते आएको थियो ।

मकवानपुरमा प्रतिनिधितर्फका ४ उम्मेदवार र प्रदेशतर्फका ४ उम्मेदवारले चुनावी खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले बताए । प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ का विजयी सांसद कृष्ण दाहाल र विरोध खतिवडाले चुनावी खर्च बुुझाए । दाहालले चुनावमा ७ लाख १० हजार र खतिवडाले ९ लाख ४४ हजार चुनावी खर्च भएको विवरण निर्वाचन कार्यालय मकवानपुरमा बुझाएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ का विवेकशिल साझा पार्टीका उम्मेदवार सरोज कोइरालाले १ लाख ७८ हजार ४ सय रुपैयाँ खर्च भएको विवरण बुझाए । संघीय समाजवादी फोरमको मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णकुमार घलानले विवररण बुझाइसकेका छन् । प्रदेशका उम्मेदवारतर्फ मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा २ का विजयी उम्मेदवार इन्द्रबहादुर बानियाँले ७ लाख २ सय चुनावी खर्च गरेको कागजपत्र बुझाएका छन् ।

एमालेका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा २ मा उम्मेदवारी दिएका राजाराम स्याङतानले चुनावी खर्चको विवरण बुझाएका छन् । संघीय समाजवादी फोरमको त प्यारसिं योञ्जन र नवराज मुक्तानले निर्वाचन कार्यालयमा चुनावी खर्च विवरण बुझाएका छन् ।

उम्मेदवारहरूले बुझाएका चुनावी खर्चमा सबैभन्दा धेरै गोष्ठी, अन्तक्र्रिया, सवारी साधन र प्रचारप्रसारमा खर्चको विवरण प्रस्तुत गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दिनेश श्रेष्ठले बताए ।

निर्वाचन आयोगको अनुसूची ९१ दफा १ सय ८० को उपदफा १ बमोजिम प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाखसम्म र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ । मकवानपुर जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि दुवै क्षेत्रमा गरेर २७ र प्रदेशसभा सदस्यको ४ वटै क्षेत्रमा गरेर ४१ जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित : पुस २१, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?