कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीठ निर्माण आधुनिक शैलीमा

रातो मत्स्येन्द्रनाथ
प्रशान्त माली

ललितपुर — रातो मत्स्येन्द्रनाथको पीठ (जोगाम्बर मन्दिर) को निर्माण आधुनिक शैलीमा सुरु गरिएको छ । गोदावरी नगरपालिका–७ देवीचौरस्थित कटुवाल दहमा मन्दिर निर्माण गर्न पिलर 
ठड्याइएको छ ।

पीठ निर्माण आधुनिक शैलीमा

ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्रमा आधुनिक शैलीमा मन्दिर निर्माण अरू कसैले नभई स्थानीय व्यक्तिहरू सम्मिलित करुणामय पीठ मन्दिर निर्माण कमिटीले नै गर्न सुरु गरेको हो । यसको विरोध डुकुछापका दनुवार बस्तीका स्थानीयवासीले गर्दै आइरहेका छन् ।

दनुवार जाति मत्स्येन्द्रनाथसँगै भारतको कामरू कामाक्ष पर्वतबाट आएका हुन् भन्ने जनविश्वास छ । स्थानीय शिक्षक विष्णुहरि दनुवारले पुरातत्त्व विभागको बजेटमा मन्दिरको निर्माण आधुनिक शैलीमा गर्न नमिल्ने बताए । ‘ऐतिहासिक पुरातात्त्विक महत्त्वको स्थलमा कुनै पनि संरचना निर्माण गर्दा मौलिक पुरानो शैलीमा गर्दा शोभा बढ्छ,’ उनले भने, ‘यसले पर्यटकलाई आकर्षण गर्न थप मद्दत पनि पुग्छ ।’ उनले कटुवाल दहमा विरोध जनाउँदाजनाउँदै पनि आधुनिक शैलीमा मन्दिर निर्माण थालिएको बताए ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले विभागबाट छुट्याएको बजेटमा आधुनिक शैलीमा मन्दिर निर्माण सुरु गरिएको भए भत्काउन लगाइने बताए । ‘तत्काल अनुगमन गर्छौं,’ उनले भने । करुणामय पीठ मन्दिर निर्माण कमिटीका कोषाध्यक्ष कपिल बज्राचार्यले मौलिक शैलीमा मन्दिर निर्माण गर्दा महँगो पर्ने भएकाले आधुनिक शैलीमा निर्माण गर्न सुरु गरिएको दाबी गरे । ‘भित्री भागको सिमेन्ट र पिलर निर्माण सम्पन्नपछि देखिँदैन,’ उनले भने, ‘बाहिरी भाग पुरानो शैलीमा नै निर्माण गरिनेछ ।’ उनले विभागकै स्वीकृतिमा आधुनिक शैलीमा निर्माण गर्न लागेको दाबी गरे ।

कटुवाल दह ललितपुर महानगर– पालिकाबाट १५ किमि दक्षिण–पश्चिम दुर्गम पहाडी भेगमा पर्छ । उक्त क्षेत्र उपत्यकाका सम्पूर्ण तीर्थहरूको जल निकास हुने स्थल पनि हो । यस क्षेत्रमा पुग्ने कुनै यातायातको सुविधा छैन । उपत्यकावासी मेला भर्न पैदल हिँड्ने गर्छन् । पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकेमा गोदावरी नगरपालिकाको मुख्य आम्दानीको स्रोत बनाउन सकिने बुङमतीविद् रत्नमान तुलाधर बताउँछन् । ‘महातीर्थको रूपमा रहेको यो क्षेत्र देव र दानव दुवैको थलो हो,’ उनले भने ।

श्रवण कुमारले आफ्ना दृष्टिविहीन आमाबुवालाई तीर्थ घुमाउन ल्याउँदा पुगेको स्थल पनि कटुवाल दह नै हो । हाल मन्दिर निर्माण गर्न लागेको स्थलसँगै जोडिएको पाटीमा श्रवणकुमारले आमाबुवालाई आराम गराएका थिए । आमाबुवाको प्यास मेटाउन श्रवणकुमार पानी खोज्न जाने क्रममा राजा दशरथले छाडेको वाण लागेर मृत्यु भएको स्थान पनि कटुवाल दह नै भएको पौराणिक कथा रहेको उल्लेख गर्दै बुङमतीविद् तुलाधर भन्छन्, ‘यस्तो ऐतिहासिक महत्त्वको स्थलमा ‘आरसीसी ढलान’ भन्दा पुरानै शैलीमा मन्दिर निर्माण गर्नुपर्छ ।’ उनले इतिहासको पानामा सीमित जोगाम्बर मन्दिर निर्माण हुन लागेकोमा खुसी व्यक्त गरे पनि आधुनिक शैलीमा बनाउन लाग्दा सबै चिन्तित भएको बताए । दह वाग्मती नदीबाट उचाइमा भिरालो पहाडको फेदमा छ । ढुंगाको चेपमा हातको चित्र कुँदिएको एउटा ढुंगा छ । रातो मत्स्येन्द्रनाथ भारतको कामरुकामाक्ष पर्वतबाट नेपाल आगमन गराउने क्रममा कटुवाल दहबाट अगाडि बढाउन नसकेको बेलामा तान्त्रिक बन्धुदत्त आचाजुले आफ्नो बाहुले तान्त्रिक विधिले आरधना गरी कलश स्थापना गरिँदाखेरिको हात रहेको तुलाधारको भनाइ छ ।

मातृऔंसी पारुको दिनमा रातो मत्स्येन्द्रनाथको रथारोहण गर्न कटुवाल दहमा देवता लिन जाने प्रचलन छ । भाद्रमा पनि दिलाद्योको नाममा रातो मत्स्येन्द्रनाथ दहमा लिन जार्ने परम्परा यथावत् छ । ३२ पानेजु संघका अध्यक्ष यज्ञ शाक्यले मन्दिर निर्माणमा आफूहरूलाई जानकारी नभएको बताए । ‘बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट बर्सेनि अध्ययन अनुसन्धान गर्न आउन सक्ने तीर्थस्थलमा कंक्रिटभन्दा पनि पौराणिक मौलिक शैलीमा निर्माण गर्दा उपयुक्त हुन्छ,’ उनले भने ।

पुरातत्त्व विभाग दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालय ललितपुुरका अनुसार कटुवाल दह संरक्षित स्मारक क्षेत्र होइन ।

प्रकाशित : पुस २१, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?