कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुराना उपकरणको भरमा अस्पताल

वीर, प्रसूति र टिचिङ जस्ता ठूला अस्पतालमा पुराना उपकरणले समस्या
फातिमा बानु

काठमाडौँ — कहिलेकाहीं अचानक अस्पताल परिसर धूवाँमय हुन्छ । वरपरका स्थानीय बासिन्दा प्रदूषण भयो भन्दै विरोधमा उत्रिन्छन् । महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा अस्पतालको फोहोर जलाउने पुरानो उपकरणले समय–समयमा यस्तै दु:ख दिइरहन्छ ।

पुराना उपकरणको भरमा अस्पताल

३५ वर्ष पुरानो उपकरण फेर्न नसकेर स्थानीयको विरोध सहिरनुपरेको अस्पताल प्रशासन प्रमुख गोविन्द प्रधान बताउँछन् । ‘नयाँ मेसिन किन्न बजेट अभाव छ, पार्टपुर्जा मात्रै फेरुँ, नेपालमा पाइँदैन, सामान्य मर्मत सम्भारकै भरमा चलेको छ,’ उनले भने ।


राजधानीमा वीर, प्रसूति र टिचिङ जस्ता ठूला अस्पतालमा पुराना उपकरणका कारण यस्ता समस्या उब्जिरहन्छ । यसकै कारण बिरामी सहज र गुणस्तरीय सेवाबाट समेत वञ्चित छन् । टिचिङमा स्थापनाकालदेखिका उपकरण प्रयोगमा छन्, ३५ वर्ष पुराना । अस्पतालको नेफ्रोलोजी (मृगौला उपचार विभाग) मा मृगौलाको डायलासिस गर्न तीन सय बिरामी पालोमा छन् । विभागकी प्रमुख दिव्या सिंह भन्छिन्, ‘जम्मा ११ वटा हेमोडायलासिस उपकरण छन्, आधा आराममा राख्नुपर्छ, आधाले बिरामीको चाप थेग्न हम्मेहम्मे पर्छ ।’ पुराना उपकरणले काम ढिलो गर्ने उनले बताइन् ।


अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट पनि छ । प्लान्टले दैनिक एक हजार युनिट अक्सिजन उत्पादन गर्छ । प्रमुख प्रधान भन्छन्, ‘चाहिनेभन्दा बढी नै अक्सिजन उत्पादन हुन्छ, उब्रिएको अक्सिजन भण्डार गर्ने उपकरण छैन, उडेर खेर गइरहेको छ ।’


अस्पतालको रेडियोलोजी विभागको अवस्था पनि उस्तै नाजुक छ । रेडियोलोजीबाट विशिष्ट खालका उपचार सेवा लिन बिरामीलाई १५ देखि एक महिनासम्म कुर्नुपर्छ । दुर्गमबाट आएकाले निजी अस्पतालबाट रेडियोलोजी सेवा लिने गरेको अस्पताल परिसरमा भेटिएका बिरामीहरू सुनाउँछन् । रेडियोलोजी विभागकी प्रमुख डा. बेनु लोहनी भन्छिन्, ‘१० वर्ष पुराना मेसिन छन्, यस्ता सामानले ढिलो काम गर्छ, यसबाट हुने उपचार पनि खासै गुणस्तरीय हुँदैन ।’


अस्पतालको आईसीयू कक्षमा जम्मा ११ वटा बेड छन् । बिरामीअनुसार बेड नपुग्दा अस्पतालले अन्य अस्पतालमा बिरामी रेफर गरिरहन्छ । प्रमुख प्रधान भन्छन्, ‘आईसीयूमा बेड थप्न ठाउँ छैन, जनशक्ति पनि पुग्दैन । निजीको आईसीयू खर्च व्यहोर्न नसकेर रोइरहेका विपन्न बिरामी पक्ष अस्पताल परिसरमा दिनहुँ भेटिरहन्छन् । अस्पतालको अर्थोपेडिक विभागमा चलाइरहेको मोडलरवटी उपकरण पनि अस्पतालको स्थापनाकालदेखिकै हो । विभागका प्रमुख अर्जुन लामिछाने भन्छन्, ‘बढी बिरामी आउने यही विभागमा हो, यही विभागमा मेसिन कम र पुराना छन्, अन्यत्र रेफर गर्दा विपन्न बिरामीले धान्न सक्नेभन्दा निकै महँगो हुन्छ यो उपचार ।’


क्यान्सरका बिरामी आनन्द कुँवरलाई धादिङ जिल्ला अस्पतालले भक्तपुर क्यान्सर अस्पताल रिफर गर्‍यो । अस्पतालले रेडियसन थेरापीका लागि तीन महिनापछिको मिति लेखिदिएपछि उनी निजी अस्पतालबाट उपचार लिइरहेका छन् । ‘उपचार ढिलो भए ज्यान जोखिममा हुन्छ भन्छन्, तीन महिनापछि आउनु पनि भन्छन्,’ उनले भने, ‘ऋण लिएर उपचार खर्च जुटाएको छु ।’ भक्तपुर क्यान्सर अस्पतालको रेडियसन थेरापी मेसिन २२ वर्ष पुरानो भइसक्यो, त्यो पनि एउटा मात्रै छ । अस्पतालका पूर्वनिर्देशक डा. राजेन्द्र बराल भन्छन्, ‘बिरामीको चाप दिनहुँ बढ्दो छ, एकपटक रेडियसन थेरापी गर्न बिरामीलाई कम्तीमा दुई महिना कुर्नुपर्ने अवस्था छ ।’


थापाथलीको प्रसूतिगृह पनि उस्तै समस्यामा छ । भूकम्पले मुख्य भवन भत्किएर साँघुरिएको छ । अस्पतालको दैनिक प्रयोगमा आउने मुख्य उपकरण अल्ट्रासाउन्ड हो । साँघुरो ठाउँका कारण विभागका अगाडि बिरामी खचाखच हुन्छन्, बिरामीले उभिने ठाउँ पाउन पनि मुस्किल छ । १५ वर्ष पुराना उपकरण प्रयोगमा छन् । प्रसूतिगृहकी बायोमेडिकल इन्जिनियर प्रज्ञा प्रधानाङ्ग भन्छिन्, ‘सामान्यतया: यस्ता उपकरणहरूको आयु कम्तीमा १० वर्ष हुन्छ, उपकरण जति पुरानो हुँदै जान्छ यसको गुणस्तर घट्दै जान्छ, यस्तो मेसिनले काम पनि ढिलो गर्छ ।’ बजेट अभावका कारण उपकरणका लागि आधुनिक सफ्टवेयर पनि खरिद गर्न नसकिएको अस्पतालका लेखा प्रमुख चन्द्रबहादुर गुरुङले बताए ।


अस्पतालमा मासिक सयजना शिशु ९ महिना नपुग्नै जन्मिन्छन् । यस्ता शिशुलाई आईसीयू (सघन उपचार कक्ष) र एनआईसीयू (शिशु संघन उपचार कक्ष) का साथै भेन्टिलेटर पनि चाहिन्छ । हाल यहाँ तीनवटा भेन्टिलेटर छन् । अपर्याप्त भेन्टिलेटरका कारण अस्पतालले महाराजगन्जको कान्ति बाल अस्पतालमा शिशु रेफर गर्ने गरेको अस्पताल प्रमुख रानु थापाले बताइन् । प्रसूतिको कृत्रिम गर्भाधारण गर्न प्रयोग हुने उपकरण पनि बिग्रिएर थन्किएको छ । अस्पतालको नि:सन्तान केन्द्रकी प्रमुख डा. उषा श्रेष्ठ भन्छिन्, ‘सेवा ठप्पै भएको छ ।’ सेवाग्राही महँगो शुल्क तिरेर निजी अस्पतालबाट उपचार लिन बाध्य छन् । गृहबाट कृत्रिम गर्भाधारण (आईभीएफ) उपचार लिन डेढ लाख लाग्छ । निजीमा सात लाखसम्म तिर्ने गरेको सेवाग्राहीहरू सुनाउँछन् ।


गरिब विपन्नको अस्पताल भनेर चिनिने देशकै पुरानो र ठूलो अस्पताल वीरको पनि अवस्था उस्तै छ । पुराना उपकरण र अपुग जनशक्तिका कारण व्यवस्थित बन्न सकेको छैन । पछिल्लो समय सरकारले मृगौलाको डायलासिस र प्रत्यारोपण नि:शुल्क गरेपछि बिरामीको भीड झनै बढ्न थालेको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत बताउँछन् । विभागमा २० वर्ष पुराना हेमोडायलासिस उपकरण छन् ।


अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुख डा.रजनी हाडा भन्छिन्, ‘दैनिक ४० बिरामीको नियमित मृगौला डायलासिस गर्नुपर्छ, पाँचजना त नयाँ बिरामी नै थपिन्छन् । न बेड पुग्छ न चाप थेग्न सक्नेगरी मेसिन छन् ।’ मृगौलाका अल्पकालीन बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपरेको उनले बताइन् । हाल वीरको नेफ्रोलोजी विभागमा १२ वटा हेमोडायलासिस मेसिन छन् । वीरमा रेडियोलोजीको हालत पनि उस्तै छ । रिपोर्ट लिनका लागि बिरामीले एक सातादेखि एक महिनासम्म पालो कुर्नुपर्छ । विभागका प्रमुख सरोज शर्मा भन्छन्, ‘सबै उपकरण एक–एकवटा मात्रै छन्, ती उपकरण बिग्रिए भने मर्मत नहुन्जेल सेवा ठप्प गर्नुपर्ने हुन्छ ।’


वीरका रेडियोलोजी उपकरण पनि कम्तीमा १० वर्ष थोत्रा छन् । दुई वर्षअघिको भूकम्पका कारण वीर अस्पतालको पनि एउटा भवन क्षतिग्रस्त भयो । क्षतिग्रस्त भवन जापान सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ । गृहका पूर्वनिर्देशक डा. अमीरबाबु श्रेष्ठ भन्छन्, ‘भवन बनेसँगै सेवाहरू थपिनेछन्, सहयोगी संस्थाले आवश्यक उपकरणसहित हामीलाई भवन हस्तान्तरण गर्दै छ ।’

प्रकाशित : पुस २२, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?