गरिबलाई घुरकै सहारा

भूषण यादव

वीरगन्ज — पर्साको बहुदरमाई नगरपालिका–३ नगरदाहाकी रमुनी देवीको दैनिकी अहिले फेरिएको छ । बिहान उठ्नासाथ ‘घुर’ मा आगो सल्काइहाल्छिन् । ज्यानलाई न्यानो पारेपछि उनको गृहस्थी कर्म सुरु हुन्छ । 

गरिबलाई घुरकै सहारा

चापाकलबाट पानी ल्याउँदा होस् वा चौपायाको गोठ सफापछि फेरि ज्यानलाई तताउन उनी त्यही घुरकै सहारा लिन्छिन् । गोठको घुरमा पनि आगो बालिदिन्छिन् । खाना पकाउन चुलो बालेपछि उनका ३ बच्चा उठ्छन् । आँखा मिच्दै बच्चाहरू पनि घुरकै वरिपरि बस्छन् । ‘कहिलेकाहीं राति जाडोले कठ्यांग्रिएपछि ३ वर्षीय कान्छो छोरो रुन थाल्छ,’ उनले भनिन्, ‘त्यतिबेलै घरभित्रको घुरमा आगो सल्काएर बच्चाको शरीर सेक्नुपर्छ अनि मात्र निदाउँछ । जाडोमा हामी गरिबको सहारा भनेकै घुरको न्यानो हो ।’

केही दिनदेखि तापक्रम घटेसँगै चलेको शीतलहरले भित्री मधेसको जनजीवन प्रभावित बनेको छ । सर्वसाधारणको दैनिकी रमुनीको जस्तै घुरकै वरिपरि बित्न थालेको छ । राति सुत्नुअघि पनि ज्यान न्यानो गराउन सर्वसाधारण घुरकै सहारा लिन्छन् । आगो ताप्नेको संख्याअनुसार माटो खनेर घुर बनाइन्छ । लामो समयसम्म आगो राखिराख्न घुरको तल्लो भागमा गुइँठा, काठका गोलिया राखिन्छ । माथि पराल, खर बालेर आगो तापिन्छ ।

खेतमा काम गर्ने किसान पनि खुला ठाउँमा पराल, खर बालेर तापिरहेको देख्न सकिन्छ । पश्चिमी हावाले तराई चिसिएको छ । अत्यावश्यक कामबाहेक मानिस घरबाहिर निस्कन छाडेका छन् । गाई, भैंसी, बाख्राका गोठमा पनि आगोको व्यवस्था गरिएको छ । मानिसले लगाउने ज्याकेटजस्तै बोरा र चकटी सिलाएर चौपायाको शरीर ओढाइएको छ ।

गाउँका अधिकांश घर खपडा र खरले छाएका हुन्छन् । गर्मीका बेला यस्ता घरले शीतल प्रदान गरे पनि जाडोमा धेरै चिसो हुन्छ । ‘गरिब र असहायले चिसोबाट जोगिन पराल भरिएको सिरक ओढ्छन्,’ पदमौलका प्रभु यादव भन्छन्, ‘त्यसले पनि चिसो हावा नरोकिँदा परालकै चटाई ओढ्छन् ।’ यसको तयारी उनीहरू कात्तिकदेखि नै सुरु गर्छन् । गाउँघरमा लाग्ने हाटबजारमा समेत अहिले ठाउँ/ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइन्छ । प्रभुका अनुसार धनीका घरमा काठका गोलिया बालिएको हुन्छ । त्यसको आगो ताप्न राति अबेरसम्म सर्वसाधारण झुम्मिन्छन् ।

प्रकाशित : पुस २३, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?