कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय संरचनामा धिमाल जातिको प्रतिनिधित्वको माग

अर्जुन राजवंशी

दमक — संघीय संरचनाअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभामा दलहरुले आफ्नो समुदायको सहभागिता नगराएको भन्दै धिमाल समुदायले आपत्ति जनाएको छ ।

संघीय संरचनामा धिमाल जातिको प्रतिनिधित्वको माग

धिमाल जातीय विकास केन्द्रले आइतबार झापाको दमकमा पत्रकार सम्मेलन गरेर पूर्वी तराईमा बसोबास गर्ने धिमाल जातिप्रति दलहरुले नियतबस बेवास्ता गरेको आरोप लगाएको छ । संघीय संरचनाको दुवै संसदमा एकजना धिमाल पनि सांसद् हुन नसक्नु दुखद् भएको भन्दै केन्द्रले प्रत्यक्ष एवं समानुपातिकमार्फत सांसद चयन गर्न असफल भए पनि राष्ट्रियसभा निर्वाचनमार्फत भए पनि धिमाल जातिको प्रतिनिधित्व सुनिश्चित गरिदिन आग्रह गरेको छ ।

केन्द्रका अध्यक्ष तेजबहादुर धिमालले संघीयता कार्यान्वयन एवं संघीय संरचनामा धिमाल जातिको उपस्थिति नहुनु सुहाउदिलो नभएको बताउँदै दलहरुले धिमाल समुदायलाई 'भोट बैंक'का रुपमा मात्र सीमित बनाउन नहुने बताए । दमक नगरपालिकाका पूर्वउपमेयर लोकबहादुर धिमालले एमालेले आफूलाई प्रदेशसभा समानुपातिकतर्फको बन्दसूचीमा राखे पनि सांसद बनाउन नसक्नु दुखद् भएको बताए ।


केन्द्रका महासचिव केदार धिमालका अनुसार मंसिर २१ को प्रतिनिधि तथा प्रदेशसभा चुनावमा विभिन्न पार्टीबाट झापा र मोरङमा गरी ७ जना उम्मेदवार चुनावी मैदानमा थिए । तर, उनीहरुमध्ये कोही पनि सांसदमा चुनिन सफल भएनन् । धिमाल जातिको मुख्य बसोबास मोरङका साविक १३ र झापाका १२ गाविसमा रहेको छ । ०६८ को जनगणनाअनुसार यो जातिको जनसंख्या मुलुकभर ३० हजारको हाराहारीमा रहेको उल्लेख छ ।

प्रकाशित : पुस २३, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?