छोरीलाई कामकै प्राथमिकता

मेनुका ढुंगाना

अछाम — एकै खर्क दुई बौरानी जेठी छुइ जान्या हो ।
छोरी भइ जन्मनुभन्दा गर्भ तुइ जान्या हो ।।
धारा गाग्री बिसायाको भर पानी भर ।
छोरा भइ जनम थात खानु छोरी पराइ घर ।।

छोरीलाई कामकै प्राथमिकता

छोरी भएर जन्मेकै कारण दु:ख पाएकाले अझै पनि मेलापात, घाँस दाउरा, पानी पँधेरो, खेतबारी जाँदा यस्तै मार्मिक देउडा गाउँछन् । महिनावारी हुँदा टाढाको छाउपडी जानुपर्ने बाध्यता, छोरीले जन्मेदेखि नै पराई घर जाने भनेर हरेक कुरामा गरिने भेदभाव, शिक्षाबाट वञ्चित, छोरीलाई काम गर्ने मेसिन सम्झिने गरेकै कारण गाउँभरका जमघट भएर यस्तै मार्मिक देउडा गाउँदै दु:ख साटासाट गर्छन् । गोरुगोठालो जाँदा नै किन नहोस् वा महिनावारी भएर सबै छोरी एउटै गोठमा बसेर यस्तै देउडा दोहोरी गाउँदै रात बिताउँछन् ।

केही वर्षअघि छोरीलाई विद्यालय पठाउने, लेखपढ गर्न नदिने चलन थियो भने अहिले यस्तो मानसिकता प्राय: सबैमा हटेको छ । यही परिवेशमा हुर्केका छोरीलाई आफ्नो अधिकार के हो भन्ने थाहा छैन । चेतना फैलिएसँगै छोरीलाई विद्यालय पठाउने गरे पनि नियमितता नभएकाले साक्षरमात्र बन्ने गरेका छन् । छोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने अभिभावकले छोरालाई बोर्डिङ पढाउनुपर्छ भन्ने बुझ्यो । कारण, छोरालाई छोरीको भन्दा बढी महत्त्व दिनुपर्छ भन्ने सोचाइ हाबी हुँदा यस्तो हुन पुग्यो ।

यस्तै समाजमा हुर्किएकी साविकको जनालीबण्डालीकी ११ वर्षीया चन्द्रा भण्डारी बिहानै उठेर घाँसदाउरा ल्याएपछि मात्र स्कुल जान पाउँछिन् । सानै उमेरमा उनले पाएको पारिवारिक जिम्मेवारी हो यो । आफू छोरी भएकाले सबै काम गर्नुपर्ने मात्र उनले बुझेकी छन् । ‘दाइ काठमाडौँमा पढ्छन् । घरमा आमालाई सघाउनुपर्छ । बिहान घाँस, दाउरा ल्याएपछि मात्रै स्कुल जान पाउँछु,’ उनले भनिन्, ‘मजस्ता धेरै साथी बिहानभरि घरको काम सकेर स्कुल जान पाउँछौँ ।’

भर्खर ३ कक्षा पुगेकी चन्द्राको पढाइ सामान्य छ । उनी औसत विद्यार्थीका रूपमा छिन् । आफू पढ्ने स्कुलमा प्रथम, द्वितीय, तृतीय सबै केटामात्र हुने उनले बताइन् । सोही ठाउँकी १७ वर्षीया धिर्जा भण्डारी अहिले मालिका आधारभूत प्राविमा ५ कक्षामा पढछन् । कक्षामा सबैले उनलाई दिदी भन्छन् । उनको पढाइ पनि सामान्य छ । आफूभन्दा ३ वर्ष कान्छो भाइ सोही स्कुलको ७ कक्षामा पढ्छ । भाइ ७ मा पढ्ने, दिदी ५ मा भनेर साथीहरूले जिस्काउँदा उनलाई नमज्जा लाग्छ रे । तर पनि उनी चन्द्राजस्तै सबै काम गरेर सकेसम्म विद्यालय नियमित गरेकी छन् । ‘भाइलाई स्कुल पठाए । उतिखेर म पनि जान्छु भन्दा बुवाआमाले तिमी छोरी मान्छे स्कुल जानु पर्दैन भने,’ उनले सुनाइन्, ‘गाउँमा विद्यालय भर्ना अभियान सुरु भएपछि २ वर्षअघि मात्रै मलाई सीधै ३ कक्षामा भर्ना गरियो ।’ उनले तीन कक्षामै पुगेर क, ख सिकेकी हुन् । ‘छोरी भएकै कारण सानै उमेरमा स्कुल जान पाइएन ।’ उनले पीडा सुनाइन्, ‘घरको काम छोरीले गर्नै पर्छ । अझै पनि घरको सबै काम सकेरमात्र स्कुल आउँछु ।’

यस्तै रामारोशन गाउँपालिकाकी अस्मिता रोकाया पनि कामलाई पहिलो प्राथमिकता दिन्छिन् । उनी औपचारिकता निभाउन स्कुल जाने गर्छिन् । छोरी भएर जन्मेपछि काम त गर्नै पर्‍यो,’ उनले भनिन्, ‘आमा, भाउजू, बज्यैले सिकेको काम छोरीले पनि जान्नै पर्छ । समाजमा जे चलन छ त्यसलाई मान्नै पर्‍यो ।’

कुनै छोरीले बिहान घरको धेरै काम सकेर विद्यालय जान पाएका छन् भने कसैले त रातदिन काम गर्दा पनि अझै विद्यालय जान पाएका छैनन् । सदरमुकाम मंगलसैनमा पनि यस्ता छोरी धेरै भेटिन्छ । विशेषगरी दलित समुदायका छोरी अझै पनि विद्यालयको पहुँचबाट टाढै छन् । मंगलसैन नगरपालिका ५ की पवन विक सधैं घरको काम र खेतीबारीमा देखिन्छिन् । उनका बुवा, आमा, दाजु मुम्बईमा काम गर्छन् । घरमा पवन र उनकी दिदी सीतामात्र थिए । सीताले १७ वर्षकै उमेरमा बिहे गरिन् । अहिले घरको सबै काम पवनको काँधमा छ । ‘गाई, भैंसी, एक हल गोरु र सातवटा बाख्रा छन् । तिनैलाई घाँसपात, स्याउला सोतर गर्दै दिन बित्छ, घरमा म एक्लै छु,’ उनले भनिन्, ‘सकी नसकी काम गरिरहेकी छु । स्कुल जान्छु भन्दा घरबाट दिएनन् । अब यसैगरी जिन्दगी चलाउनुछ ।’

जिल्ला शिक्षा कार्यालयका अनुसार विद्यालय बाहिर रहेका ३.४ प्रतिशत विद्यार्थीलाई चालू शैक्षिक सत्रमा भर्ना गरिने लक्ष्य लिएको छ । विद्यालयमा छात्रभन्दा छात्राको संख्या धेरै कम छ । तर छात्रा पढाइमा कमजोर हुने र छात्र अधिकांश विद्यालयमा अग्रस्थानमा आउने जिल्ला शिक्षा अधिकारी झंकर विष्टले सुनाए ।

‘विद्यालय भर्ना गरे पनि छात्राले घरको काम गर्न र पढाइभन्दा कामलाई प्राथमिकता दिने गर्छन्,’ जिशिअ विष्ट भन्छन्, ‘उनीहरू विद्यालय नियमित जानै पाउँदैनन् । राज्यले छात्रालाई विशेष लगानी गरे पनि अभिभावकले हेर्ने दृष्टिकोणमा फरक आएको छैन ।’

प्रकाशित : पुस २४, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?