कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

युनेस्कोविरुद्ध सम्पदाप्रेमी

दामोदर न्यौपाने

काठमाडौँ — हनुमानढोका दरबार क्षेत्रमा मापदण्डविपरीत बनेको घरलाई पहिला विश्व सम्पदाको मूल्य मान्यता नमिच भनेको र पछि घर विश्व सम्पदा क्षेत्रमा पर्दैन भनेर युनेस्कोले पठाएको पत्रप्रति सम्पदाप्रेमीले आपत्ति जनाएका छन् । नेपालको कानुन र विभिन्न अध्ययनले समेत मापदण्डविपरीत भनिरहेका बेला यस्तो पत्र पठाएको भन्दै युनेस्कोका नेपाल प्रमुख क्रिस्चियन म्यानहर्टको पुत्लासमेत दहन गरिएको छ ।

युनेस्कोविरुद्ध सम्पदाप्रेमी

विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबारलाई असर पर्ने गरी संरचना नबनाउन संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले दुई साताअघि आग्रह गरेको थियो । दरबार क्षेत्रमा बनाइएको एक निजी घर गैरकानुनी रूपमा बनेको भन्दै त्यसलाई रोक्न पत्र पठाएको दुई सातामै फेरि अर्काे पत्र पठाएर घर विश्व सम्पदाको क्षेत्रभित्र नपर्ने भनेको हो । ‘सम्पदा जोगाउनुपर्ने निकायले नै पैसामा वा शक्तिको प्रभावमा परेको छ भन्ने हाम्रो ठहर छ,’ सम्पदा बचाऊ अभियानका संयोजक गणपतिलाल श्रेष्ठले भने, ‘नत्र दुईथरी पत्र किन पठाउनुपथ्र्याे ? मापदण्ड मिचेको सबै प्रमाण हामीले युनेस्कोलाई बुझाएका छौं । उसले पहिला किन सम्पदाको मूल्य मान्यताविपरीत नजान भन्यो ? र फेरि किन मूल्य मान्यताअनुसारै छ भन्यो ? युनेस्कोजस्तो निकायले यस्तो हचुवामा निर्णय गर्न मिल्छ ?’

हनुमानढोका दरबारको संरक्षित क्षेत्रको ‘पोपर्टी जोन’ जोनमा महर्जन बिजनेस एसोसिएसन प्रालिको नाममा रहेको घर निर्माणका क्रममा पुरातात्त्विक मापदण्डविपरीत गएपछि युनेस्कोले पत्र पठाएर नेपालको सम्पदा संरक्षण ऐनलाई समेत सम्झाएको थियो । तर, युनेस्कोको नेपालस्थित कार्यलय प्रमुख म्यानहर्टले दोस्रो पत्रमा लेखेका छन्, ‘युनेस्कोले सूचना पुष्टि गर्‍यो । पहिलो कुरा उक्त घर विश्व सम्पदा सूचीको क्षेत्रमा पर्दैन । यो कम्प्लेक्स विश्व सम्पदा सूचीको बाहिरपट्टि छ । दोस्रो कुरा यसले आफ्नो उचाइ विश्व सम्पदाको मान्यताअनुसार कायम गरेको छ । यो हनुमानढोका दरबारको गद्दी बैठकजस्तै न्यु क्लासिकल शैलीमा बनाएको पाइयो । जमिनमुनिको संरचना पनि घरलाई बलियो बनाउन खनेको पाइयो । हामीले भवन निर्माणको नकारात्मक असर पर्ने देखेनौं । यो सम्पदाको विश्वव्यापी मूल्य मान्यताविपरीत छैन ।’

उनैले डिसेम्बर ८ मा लेखेको पहिलो पत्रमा चाहिँ ‘हनुमानढोका दरबारको बफर जोनमा बनेको भूमिगत संरचनाले सम्पदाको विश्वव्यापी मान्यताविपरीत गएको छ । यो भवन नेपालको प्राचीन स्मारक ऐन २०१३ अनुसार भवनको उचाइ ३५ फिटमाथि जान पाइँदैन र भूमिगत संरचना पनि बनाउन पाइँदैन । यो ऐनको समेत सम्मान गर्न आग्रह गर्छाैं ।’ युनेस्कोले पुरातात्त्विक मापदण्ड कायम गराउने आग्रह गर्दै पुरातत्त्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डा, काठमाडौं महानगरपालिका, सम्पदा बचाऊ अभियान र पेरिसस्थित युनेस्कोको विश्व सम्पदा केन्द्रलाई पत्र पठाएको थियो । दोस्रो पत्र भने सम्पदा बचाऊ अभियानका संयोजक श्रेष्ठलाई पठाएको छ । अरू निकायलाई बोधार्थ मात्रै पठाएको छ । ‘आधिकारिक चिठी पठाउने निकाय हो त म ?’ श्रेष्ठले आश्चर्य मान्दै भने, ‘जे गरे पनि हुने हो युनेस्कोले ?’

भवन मापदण्डविपरीत हो भनेर सरकारी निकायले प्रतिवेदन दिइसकेका छन् । पुरातत्त्व विभाग, महानगरपालिका, उपत्यका नगर विकास प्राधिकरणलगायत निकायले अनुसन्धान गरी प्रतिवेदन दिइसकेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५ निकायको संयुक्त बैठकले अध्ययन गरी मापदण्डमा ल्याउन अध्ययनका लागि प्राविधिक टोली खटाएको थियो । प्रजिअ केदारनाथ शर्मा, पुरातत्त्व विभागका महानिर्देशक भेषनारयण दाहाल, उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी, महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्मा पौडेल र महानगरीय प्रहरी परिसरका प्रमुख सहभागी बैठकले ५ दिनभित्र स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्ने र त्यसैका आधारमा कारबाही अघि बढाउने निर्णय गरेको थियो ।

अध्ययनका लागि पुरातत्त्व विभाग, महानगरपालिका, प्राधिकरणका प्राविधिक खटिएका थिए । टोलीले प्रजिअलाई मापदण्ड मिचेको ठहर गर्दै प्रतिवेदन बुझाएको छ । महानगरपालिकाका इन्जिनियर हिक्मतसिंह कठायत, प्राधिकरणका इन्जिनियर रवि शर्मा र विभागका इन्जिनियर शोभा महर्जनले बुझाएको प्रतिवेदनमा स्वीकृत नक्सामा उल्लेख भएभन्दा विपरीत बेसमेन्ट तयार गरेको उल्लेख छ । विभिन्न निकायले निर्माण रोक्न पटक–पटक पत्राचार गरे पनि महानगरकै कर्मचारीको मिलेमतोमा काम अघि बढाउँदै आएको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रकाशित : पुस २४, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?