१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

टहरामै तेस्रो हिउँद

भूकम्पपीडित

गोरखा/पाल्पा — चिसोले दम बढेपछि सहिद लखन गाउँपालिका–९ नाम्जुङकी ६५ वर्षीया सानुमाया परियारको निधन भयो । भूकम्पले घर भत्काएपछि टहराकै बास थियो । चिसो बढेपछि दमले च्याप्दै लग्यो । आर्थिक अवस्था कमजोर थियो । त्यसैमा समयमै स्वास्थ्य संस्थामा लग्न नसक्दा उनले अकालमै ज्यान गुमाइन् ।

टहरामै तेस्रो हिउँद

‘टहरामा धेरै चिसो छ, बूढाबूढी र बालबच्चा जोगाउने गाह्रो भयो,’ स्थानीय मीनबहादुर परियारले भने, ‘घाम नलागेसम्म बाहिर निस्कन सकिँदैन ।’ चिसोले टहरामा बसिरहेका भूकम्पपीडितको जनजीवन निकै कष्टकर बनेको छ । २०७२ वैशाख १२ को भूकम्पले ६० हजारभन्दा बढी घरमा क्षति पुगेको थियो । तीमध्ये हालसम्म १० हजार घर मात्रै पुनर्निर्माण भएका छन् । हजारौं भूकम्पपीडित अस्थायी टहरामै बसिरहेका छन् । ‘टहरोभित्र भुइँको चिसो र जस्तापाताबाट चुहिने शीतले ओछ्यान नै तात्दैन,’ परियारले भने, ‘अहिलेसम्म सहन सकेर धन्न बाँचेका छौं ।’

बिरामी, वृद्धवृद्धा र बालबालिकालाई चिसोले निकै सताएको छ । ‘यसरी टहरामा बसेको ३ वर्ष भयो, जाडो लागेपछि जहिल्यै टोलका केटाकेटीलाई निमोनिया हुन्छ,’ उनले भने, ‘घर बनाउने पैसा त उपचार खर्चमै सकिन लागिसक्यो ।’ अस्थायी टहरोमा बस्दा चिसोले रोग बढेको माया परियारले बताइन् । ‘रातभरि काठिएपछि बिहान उठदा टाउको दुख्छ, ज्यान करकर लुछेर हैरान परियो,’ उनले भनिन्, ‘हिउँदको ठन्डीले आयु नै घटिसक्यो ।’

चिसो बढेपछि लत्ताकपडा अपुग भएर टहरोभित्रै आगो फुक्ने गरेको उनले सुनाइन् । ‘दिउँसो त घाम लाग्छ, सजिलै हुन्छ,’ उनले भनिन्, ‘ठन्डीले रात काट्नै गाह्रो पर्छ ।’ जस्तापाताको होचो अस्थायी टहरोमा शीत चुहिएर भूकम्पपीडित हैरानीमा छन् । गर्मीमा टिनले पोल्छ । हिउँदमा शीत छिरेर चिसो बढ्छ । ‘घरमा बस्नु र टहरोमा बस्नु आकाश–पातालको फरक हुँदोरहेछ । अझै घर ठड्याउन सकिएन,’ उनले भनिन् ।

सरकारले एकमुष्ठ अनुदान नदिँदा घर बनाउन ढिलाइ भएको अर्का भूकम्पपीडित प्रकाश खडकाले बताए । ‘पैसा छैन, घर बनाउन काठपातको पनि अभाव छ,’ उनले भने । चिसोमा आगो तापेर बस्न पर्याप्त दाउरासमेत नभएको उनीहरूको भनाइ छ । ‘काठ काट्न निवेदन दिएको छौं,’ खडकाले भने, ‘सामुदायिक वनले दाउरा काट्नसमेत रोक लगाएको छ । घर बनाउन काठ पाउने त कहिले हो कहिले ?’ निर्माण सामग्री भनेको बेला पाए चाँडो घर बन्ने भूकम्पपीडितले बताए । यतिबेला निजी घर पुनर्निर्माणले तीव्रता पाएका कारण बजारमा निर्माण सामग्रीकै अभाव छ । भूकम्पले अति प्रभावित बारपाक, लाप्राक, गुम्दा, केरौंजा, स्वाँरा, सौरपानीका अधिकांश स्थानीय अझै टहरामा छन् । चिसो बढेका कारण उनीहरूको दैनिकी पनि प्रभावित बनेको छ ।

पुनर्निर्माणका लागि अन्य जिल्लाबाट आएका कामदारसमेत त्रिपालमै बसेका छन् । ‘पहाडमा भन्दा त तराईमा बढी चिसो हो,’ गोरखामा भेटिएका वीरगन्जका मजदुर राधेश्याम पटेलले भने, ‘बिहान–बेलुका यहाँ पनि कठ्याङग्रँदो चिसो हुँदोरैछ ।’ अस्थायी टहरोभित्र स्लिपिङ ब्यागमा कम्बल खापेर सुत्दा पनि ज्यान नताप्ने उनले बताए ।

पीडितको बेहाल

३० महिनादेखि पाल्पाको माथागढी, १ खुमडाँडाका घनश्याम गिरी टिनको टहरामा बसिरहेका छन् । हिउँद, वर्षा, धूलो र धूवाँ सबै सहेर कष्टका साथ बसिरहेको उनले बताए । श्रीमती र बिरामी छोरासँगै बसिरहेका उनले अहिलेसम्म पहिलो किस्ताबापतको ५० हजारमा सम्झौता गर्नसमेत पाएका छैनन् ।

तीनतले घर भूकम्पले भत्कायो । अहिले उनी चिसो भुइँमै सुतेका छन् । ‘आफ्नै

नाममा लालपुर्जा नभएकाले समस्या भएको छ,’ उनले भने, ‘बैंकले लालपुर्जा खोज्दो

रहेछ ।’ छिमेकीले पहिलो किस्ताबापतको ५० हजार अनुदान पाएको सुन्दा उनको आँखाबाट आँसु खस्छ । बिरामी छोराको स्याहारसुसार गर्नुपर्छ । गत वर्ष धेरै दिन झरी लागेर बुटवलमा डेरा लिएर बसेको सम्भिँmदै उनले भने, ‘दाजुभाइमा अंशबन्डा भए पनि आआफ्नो नाममा लालपुर्जा नभएर समस्या खेप्नुपरेको छ ।’

चिदिपानी खुमडाँडाकै रामचन्द्र गिरीको अवस्था पनि उस्तै छ । तीनतले घर र गोठ भूकम्पले भत्काएपछि एउटा टिनको टहरामा तीन वर्षदेखि बस्दै आएका छन् । ‘आफ्नै नाममा लालपुर्जा चाहिन्छ भन्छन्,’ उनले भने, ‘अंशबन्डा भए पनि दाजुभाइसँगै भेट नहुँदा समस्या आएको छ ।’

गिरीद्वयको लाभग्राही सूचीमा नाम छ । तर, जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएर अनुदान सम्झौता गर्न नसकेका हुन् । ‘भूकम्पपछि टिनको छाप्रोमा बस्दै आए पनि घर बनाउन जग्गा प्रमाणपुर्जाकै कारण अनुदान पाउन सकिएन,’ रामचन्द्रले गुनासो गरे । अहिले पुसको चिसोमा सुत्न नसकेको गुनासो गरे । ‘निद्रा लाग्दैन, आगो तापेर भए पनि निद्रा पुर्‍याउनुपर्छ,’ उनले भने, ‘हामीजस्ताको आवाज कसले सुन्देला र खै ?’

केन्द्रीय तथ्यांक विभागले १० हजार ४ सय ६५ घर सर्वेक्षण गरेको थियो । ४ हजार ६ सय ५२ जनाको सूची पठाइसकेको छ । ४ हजारले पहिलो किस्ताबापतको ५० हजार लिएर सम्झौता गरिसकेका छन् । बाँकीको भने धनी पुर्जालगायत विभिन्न समस्याले अहिलेसम्म सम्झौता हुन सकेको छैन । ‘हजुरबुबाको नाममा भएको जग्गा अहिलेसम्म हाम्रो नाममा आएको छैन, हामी बसेको घर भूकम्पले भत्काएपछि टिनको छाप्रोमा बस्दै आएका छौं,’ रामचन्द्रले भने ।

माथागढी १ का प्रकाश नेपालीको अवस्था पनि उस्तै छ । ‘श्रीमती बिरामी छ । छोरा साना छन् । चिसोले बेहाल भयो,’ उनले भने । उनले आफ्नो नाममा जग्गा नभएको र दाजुभाइले पनि मञ्जुरीनामा नदिएको गुनासो गरे । सरकारले जग्गा प्रमाणपुर्जा अनिवार्य गर्दा धेरै भूकम्पपीडित अनुदान पाउनबाट वञ्चित छन् ।

जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत तथा भूकम्पपीडित फोकल पर्सन दुर्गा थापाले अनिवार्य लालपुर्जाले समस्या भएको बारेमा गुनासो नआएको बताए । ‘हामीलाई यससम्बन्धी कुनै गुनासो आएको छैन,’ उनले भने, ‘यस्तो गुनासो आए तत्कालै लेखेर माथि पठाउनेछौं ।’

प्रकाशित : पुस २४, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?