न सचेतना न पूर्वतयारी

असारदेखि भदौसम्म बाढीको चपेटामा परेर घरबारविहीन भएकाहरू चिसो मौसम सुरु हुनासाथ शीतलहरको सिकार बनेका छन् 
कान्तिपुर टिम

काठमाडौँ — सप्तरीमा अत्यधिक चिसो र शीतलहरले पछिल्लो एकसातामा १५ जनाले ज्यान गुमाए । तर, मौसमको पूर्वानुमान गरी न सरकारी निकायले सचेतना फैलाए न त पूर्वतयारी नै गरियो । शीतलहरबाट बच्ने उपायका बारेमा सचेतना र पूर्वतयारी नहुँदा हरेक वर्ष यहाँ कठ्यांग्रिएर अकालमै ज्यान गुमाउनको संख्या बढेको छ ।

न सचेतना न पूर्वतयारी

जिल्लामा जनसंख्याको ५० प्रतिशतभन्दा बढी विपन्न समुदायको बसोबास छ । असारदेखि भदौ सम्म बाढीको चपेटामा परेर घरवारविहीन हुनेहरू चिसो मौसम सुरु हुनासाथ शीतलहरको सिकार बन्दै आएका छन् । स्थानीय तह निर्वाचनअघिसम्म गरिबी निवारण र ‘गरिबसँग विश्वेश्वर’ सहित कयांै कार्यक्रम सञ्चालित थिए । तर, कति प्रतिशत सर्वसाधारण गरिबीको रेखामुनि छन् भन्ने तथ्यांकसमेत ती कार्यालयसित छैन ।

सार्वजनिक स्थलमा सरकारी स्तरबाट आगो बाल्नका लागि दाउराको जोहो गरिएको छैन । पछिल्ला ८ दिनयता घाम लाग्न सकेको छैन । चिसो हावासँगै शीतलहर चलिरहेको छ । जिल्ला वन कार्यालयमा काठ स्टक छैन । वनका कर्मचारीले स्थानीय तहका जनप्रतिनिधिलाई जिल्लाको उत्तरी कञ्चनपुर क्षेत्रमा रहेका सुकेका रूख देखाइदिने गरेका छन् । त्यहाँ पुगेर आफैं रूख कटेर ल्याउनुपर्ने बाध्यता छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने विभिन्न स्थानमा आगो बाल्ने प्रबन्ध मिलाइदिएका छन् ।

अति विपन्न समुदाय न्यानो लुगा र ओढ्ने–ओछ्याउनेको अभावमा कष्टकर दैनिकी बिताउन बाध्य छन् । जिल्ला विपद् व्यवस्थापन समिति र रेडक्रस लगायतका संस्था पनि चिसो सुरु हुनेबित्तिकै योजनाबद्ध तरिकाले न्यानो कपडा वितरण गर्दैनन् । ज्यानै गुमाउने स्थिति आएपछि मात्र तदारुकता देखाउने गरेको स्थानीयको गुनासो छ ।

शीतलहर चलिरहेका बेला घरबाट बाहिर निस्कँदा न्यानो कपडा लगाउनुपर्छ । तर, सचेतना अभावमा त्यसो गरेको भेटिँदैन । सप्तरीमै चिसोका कारण ज्यान गुमाउनेमध्ये केही खेतमा पानी लगाइरहेका थिए । केहीको बिहान नहर वा नदी किनारमा शौच गर्न गएका बेला कठ्यांग्रिएर मृत्यु भएको पाइएको छ । मृत्युको सूची लम्बिँदै जाँदा पनि ग्रामीण क्षेत्रमा माइकिङ गरी चिसोबाट बच्ने उपायका बारेमा सचेतना दिइएको पाइँदैन । स्थानीय स्तरका संघसंस्थालाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक रहेको स्थानीयले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले शीतलहरबाट जोगिन जिल्लामा अहिलेसम्म ७ हजार थान कम्बल बाँडेको जानकारी दिए । उनले स्थानीय तहसित समन्वय गरेर सचेतना फैलाउने काम भइरहेको दाबी गरे ।

‘ज्यान जोगाइदेऊ सरकार’

सप्तरीका प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद साहले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएका छन् । उनले सर्वसाधारणको ‘जीउ–ज्यान जोगाइदिन’ अपिल गरेका हुन् ।

क्षेत्र २ को प्रदेशसभा ‘क’ बाट निर्वाचित साहले पछिल्लो एक सातायता बढेको चिसो र शीतलहरले जनजीवन अत्यन्त कष्टकर बनेको भन्दै न्यानो लुगा र दाउरालगायतको प्रबन्ध मिलाएर ज्यान रक्षा गरिदिन माग गरेका छन् । उनले कठयांग्रिएर मृत्यु हुने क्रम बढेको र मृत्यु भएका सबैजनाको परिवार अति नै विपन्न रहेकाले तत्काल राहत तथा

क्षतिपूर्ति र जाडो छल्ने उपाय अवलम्बन गर्न माग गरेको बताए ।

‘शीतलहरको यत्रो कहरका बाबजुद सप्तरीका प्रभावित बस्तीमा अझै पनि राज्यको उपस्थिति हुन सकेको छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘जनतालाई सुरक्षित पार्न सकिए मात्र राज्यको उपस्थितिलाई बलियो मान्न सकिन्छ ।’ यस्तै मौसमको प्रतिकूलतालाई ध्यानमा राखेर ग्रामीण क्षेत्रमा औषधिसहितको स्वास्थ्यकर्मी टोलीको व्यवस्था, सार्वजनिकस्थलमा काठ दाउराको व्यवस्थापनको आग्रहसमेत गरिएको छ ।

बिथोलियो दैनिकी

बझाङ– चिसोले स्थानीयको दैनिक जीवन निकै प्रभावित भएको छ । स्वास्थ्य संस्थाहरूमा बिरामीको भीड छ । ‘जिल्ला अस्पतालमा उपचारका लागि दैनिक सयभन्दा बढी बिरामी आइरहेका छन्,’ डा. अनुप रेग्मीले भने । उनले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि चिसोका कारण बिरामीको चाप बढेको बताए । जाडो बढेसँगै वृद्धवृद्धामा दम र बालबालिकामा निमोनियाको संक्रमण बढेको छ । रुघाखोकी लाग्ने, टाउको दुख्ने, जोर्नी दुख्ने र पखाला लाग्नेजस्ता समस्या लिएर अस्पताल आउने बढेका छन् ।

बेंसीमा शीत र हिमाली क्षेत्रमा तुसारो पर्न थालेपछि खेतीपाती तथा पशुपालक किसानलाई बढी कष्ट भएको छ । ‘जाडो असाध्यै बढेको छ । बिहान ८/९ नबज्दासम्म बाहिर निस्कन सकिने अवस्था छैन,’ मटेलाका लोकेन्द्र गिरीले भने, ‘मेलापात गर्न तथा खेतबारीमा काम गर्न निकै सकस छ ।’

वर्षकै बढी चिसो

ताप्लेजुङ– जिल्लामा आइतबार यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । पूर्वाञ्चल हावापानी फिल्ड कार्यालयका अनुसार आइतबार बिहानको न्यूनतम तापक्रम १ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । घाम लागेपछि दिउँसो भने केही न्यायो महसुस भएको थियो । शुक्रबार र शनिबारको तुलनामा १ डिग्री सेल्सियस तापक्रम घटेको हो ।

चिसोले बिरामी बढे

हेटौंडा– चिसो बढेपछि मनहरी गाउँपालिका–४ मुसेधापस्थित सुकुम्बासी बस्तीका स्थानीय बिरामी पर्न थालेका छन् । बाढीपहिरोले लखेटिएका उनीहरू त्रिपालमुनि हिउँद काट्नुपर्ने बाध्यतामा छन् ।

चिसोले गत शुक्रबार ७२ वर्षीय बागे चेपाङको मृत्यु भएको छ । गत बर्खामा पहिरोले घर पुरेपछि उनी त्रिपालमुनि आश्रित थिए ।

दमका रोगी बागेको चिसो थेग्न नसकेकै कारण मृत्यु भएको स्थानीय सोमराज थिङले बताए । बस्तीका ७८ वर्षीय वीरबहादुर चेपाङ, ७६ वर्षीय मानबहादुर मोक्तान पनि बिरामी छन् । चिसो बढेदेखि उनीहरू हिँडडुल गर्न सकेका छैनन् । बालबालिका पनि अधिकांश बिरामी नै छन् । ‘बच्चाहरूलाई रुघाखोकी र ज्वरोले सताएको छ,’ थिङले भने, ‘२–३ दिनदेखिको बढ्दो चिसोले बच्चा र वृद्धवृद्धालाई समस्या भएको छ ।’ त्रिपालमुनि मुढा बालेर दिन कटाइरहेका उनीहरू चिसोले रातभरि सुत्न सक्दैनन् ।

जाडो बढेपछि उक्त बस्तीका बालबालिका आइतबार पढ्न पनि गएनन् । उनीहरू कसैको आङमा न्यानो लुगा छैन । खानेकुराको समेत अभाव छ । त्रिपालमा माथिबाट शीत र वरिपरिबाट सिरेटो पसेर बस्न गाह्रो परेको स्थानीय बताउँछन् । सोही गाउँपालिका अन्तर्गत लामपाखा, चिसापानी, चुवारपानी र अजिङरेका १ सय ७६ घरधुरीको सकस पनि उस्तै छ । १५ दिने सुत्केरीदेखि गर्भवतीसम्म फाटेको त्रिपालमुनि रात कटाइरहेका छन् । जंगलको बीच र खोलाछेउ भएकाले सिरेटो अति चल्छ । त्रिपालको ओत मात्र छ, वरिपरि बारिएको छैन । त्रिपालमुनि ठाउँ नपुगेर केही बाढीपीडित परिवार पराल ओछ्याएर सुत्ने र बस्ने गरेका छन् ।

गत साउनमा पहिरोले उनीहरूको थातथलो मासिदियो । गाउँपालिकाका पदाधिकारी र सांसदहरूसँग सुरक्षित स्थानको माग गरे पनि सुनुवाइ हुन सकेको छैन । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले उनीहरूलाई सुरक्षित स्थानमा सार्न प्रयत्न गरिरहेको बताए । ९ सय ७६ जना पीडितमध्ये एक महिनादेखि १४ वर्षसम्मका ३ यस ७५ बालबालिका छन् । तीमध्ये थोरै मात्र स्कुल जान्छन् । अधिकांश चेपाङ र तामाङ समुदायका छन् । न्यानो कपडा नहुँदा कठ्यांग्रिनु बाध्यता बनेको छ । यस्तै केही दिनयता शीतलहरसँगै चिसो बढेपछि कञ्चनपुरका शिक्षण संस्था ३ दिनका लागि बन्द गरिएको छ ।

प्रकाशित : पुस २४, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?