कोसीको पानी फर्काउन नयाँ संरचना

३० हजार हेक्टरभन्दा बढीको गहुँ खेतीलाई फाइदा
विनोद भण्डारी

विराटनगर — कोसीको धार पश्चिम मोडिएपछि सुनसरी–मोरङ सिँचाइ योजनाले हरेक वर्ष हिउँदमा करोडौं रुपैयाँ खर्चेर ‘स्पर’ निर्माण गरी मुहानमा पानी फर्काइ सिँचाइ गर्दै आएको छ । 

कोसीको पानी फर्काउन नयाँ संरचना

योजनाको मुहाननजिक चतरामा तीन वर्षअघि निर्माण भएको कोसी पुलका कारण सिँचाइका लागि पानी पर्याप्त नआउने भएकाले बर्सेनि संरचना बनाउनु परेको हो । पुल निर्माणलगत्तै योजनाले हरेक वर्ष हिउँदे सिँचाइका लागि पश्चिम फर्किएको कोसीको पानी स्पर निर्माण गरेर पूर्वतर्फ रहेको योजनाको मुहानमा फर्काउँदा तीन वर्षमा झन्डै ९ करोडभन्दा बढी रकम खर्च भइसकेको छ ।

योजनाको इन्टेकभन्दा करिब ८ सय मिटर उत्तर कोसी पुलको पूर्वतर्फको ‘कफर बाँध’ भत्काएकाले पानी पश्चिम सोझिएर नहर सुख्खा भएपछि यस्तो समस्या आएको योजना प्रमुख कुञ्जनभक्त श्रेष्ठले बताए । ‘स्पर निर्माण नगर्दा हिउँदमा मुहानमा एक थोपा पानी हुँदैन,’ श्रेष्ठले भने, ‘यसपालि पनि मुहानको छेउमा करिब ४ करोड ४४ लाख रुपैयाँ लागतमा स्पर बनाई मुहानमा पानी फर्काएर हिउँदे सिँचाइ गरिएको छ ।’

कोसी पुल बनेयता हिउँदमा मुहानमा पानी फर्काउन हरेक वर्ष स्पर निर्माण गर्दा अहिलेसम्म ९ करोडभन्दा बढी रकम खर्च भइसकेको उनले बताए । ‘योजनाका लागि चतरामा स्थायी ब्यारेज नबनाएसम्म हरेक वर्ष हिउँदमा यही समस्या आइरहन्छ,’ श्रेष्ठले भने ।

विकल्पका रूपमा मुहानलाई कोसी पुलदेखि उत्तर करिब एक किलोमिटर तान्नुको विकल्प नभएको उनले बताए । योजनाले हिउँदे सिँचाइका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति अपनाएको उल्लेख गर्दै श्रेष्ठले अन्तत: योजनाका लागि चतरामा ब्यारेज निर्माण गर्नुको विकल्प नरहेको बताए ।

योजनाले बर्खायाममा मोरङ र सुनसरीको ६८ हजार हेक्टरमा सिँचाइ पुर्‍याउँदै आएको छ । हिउँदमा यी दुई जिल्लामा करिब ३० हजार हेक्टरमा गहुँखेती हुन्छ । उक्त जमिनको सिँचाइका लागि योजनाले करिब २५ क्युमेक्स पानी नहरमा छाड्नुपर्ने हुन्छ । स्पर निर्माण नगर्दा योजनाको मुहानमा ५ क्युमेक्स पनि पानी हुँदैन ।’ यसपालि पनि स्पर निर्माण गरेर मुहानमा ३० क्युमेक्स प्रवाह गरिएको हो,’ श्रेष्ठले भने ।

कोसी पुल निर्माण भएको साल हिउँदमा मुहान सुख्खा भएपछि पुलदेखि उत्तर ४ करोड ७० लाख लागतमा तीनवटा स्पर बनाई पानी मुहानमा फर्काए दुई हिउँदमा सिँचाइ गरिएको थियो । ती स्परले काम नगरेपछि यसपालि नयाँ स्पर निर्माण गरेर सिँचाइ गरिएको योजनाका इन्जिनियर रामचरित्र यादवले बताए ।

सन् १९५४ मा कोसी सम्झौतापछि भारतले सन् १९६४ मा नहर निर्माण सुरु गरेर सन् १९७० मा सम्पन्न गरेको थियो । पाँच वर्ष परीक्षण सञ्चालन गरेर भारतले सन् १९७५ मा नहर नेपाललाई हस्तान्तरण गरेको योजनाको मूल नहरको लम्बाइ ५३ किलोमिटर र २१ शाखा नहर छन् ।

प्रकाशित : पुस २५, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?