१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डिपोको अनुमति लिएर अलकत्रा प्लान्ट ?

डिजेलबाट सञ्चालित प्लान्टले प्रदूषण बढाएकाले अहिले भैंसेपाटी, नखिपोट, सुनाकोठीवासी मर्कामा छन् ।
प्रशान्त माली

ललितपुर — नख्खु खोला किनारामा निर्माण सामग्रीको डिपो राख्ने अनुमति पाएको एक ठेकेदार कम्पनीले अवैध रूपमा असफाल्ट (अलकत्रा तयार गर्ने मेसिन) प्लान्ट सञ्चालन गरेको छ । ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा सैलुङ कन्स्ट्रक्सनले कानुन मिचेर प्लान्ट सञ्चालन गरेको हो ।

डिपोको अनुमति लिएर अलकत्रा प्लान्ट ?

सुनौलो खिम्ती कन्स्ट्रक्सन कम्पनीले पनि ललितपुर महानगरपालिकासँग समन्वय नै नगरी प्लान्ट सञ्चालन गरेको छ । दुवै कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन पनि गरेका छैनन् ।

माओवादी केन्द्रका नेता शारदाप्रसाद अधिकारीको लगानी रहेको सैलुङ र अन्य केही ठेकेदार मिलेर सञ्चालन गरिरहेको सुनौलो कम्पनी दुवै अवैध हुन् । उद्योग स्थापना गर्न वातावरण संरक्षण ऐन २०५३ को दफा ३ बमोजिम वातावरणीय परीक्षण तथा वातावरण प्रभाव मूल्यांकन अनिवार्य गर्नुपर्छ ।

ऐनको दफा ४ बमोजिम उद्योग स्थापनाको प्रस्ताव स्वीकृति नगराई सञ्चालनमा ल्याउन नमिल्ने कानुनी व्यवस्था छ । सुनौलो र सैलुङले राजनीतिक पहुँचको आडमा ऐन मिचेर सञ्चालन गरिरहेको आरोप छ । २७ वडाका वडाध्यक्ष बाबुराजा महर्जनले प्लान्टबारे स्थानीयको पटक–पटक गुनासो आउने गरेको बताए । ‘दुईपटक निरीक्षण गरिसकेको छु,’ उनले भने, ‘प्लान्टबाट निस्केएको धूवाँ–धूलोले जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको छ ।’ उनले सञ्चालकलाई उक्त स्थानमा प्लान्ट सञ्चालन गर्न मिल्ने आधारसहितको प्रमाण पेस गर्न पत्र काट्ने तयारीमा गरिरहेको बताए । ‘प्लान्टको बारेमा ललितपुर महानगरपालिकाको बोर्ड बैठकमा कुरा उठाउनेछु,’ उनले भने ।

सैलुङले प्लान्ट राखेको जग्गा स्थानीय कृष्णहरि महर्जन र उनका दाजुभाइको हो । सुरुमा प्लान्ट ठेचोमा स्थापना गर्ने योजना थियो । ठेचोवासीले विरोध जनाएपछि सुनाकोठीमा स्थापना गरिएको थियो । स्रोतका अनुसार जग्गाधनी महर्जनको ग्रान्ड डिजाइनमा सुनाकोठीमा उक्त प्लान्ट स्थापना गरिएको थियो । त्यतिबेला १८ औं सार्क शिखर सम्मेलनमा सडक कालोपत्रे गर्ने चटारोले गर्दा छोटो समयका लागि भनी स्थापना गरिएको थियो । तर, सार्क बैठक सकिएको तीन वर्ष बितिसक्दा पनि प्लान्ट जस्ताको तस्तै छ । सञ्चालकले कम्पनीको बारेमा विरोध जनाउनेलाई मिलाउन सुनाकोठीका चार जना टोले गुन्डालाई मासिक तलब दिएर राखेको स्रोतको भनाइ छ ।

उद्योग टिकाउनमा भने माओवादी केन्द्रका नेता एवं पूर्वसांसद राजकाजी महर्जनको भूमिका रहेको स्रोतले बताएका छन् । तर, महर्जनले भने प्लान्ट सुनाकोठीमा स्थापना भएको समेत आफूलाई थाहा नभएको दाबी गरे । प्लान्ट उनको घरबाट ५ सय मिटरको दूरीमा छ । उनले यसबारेमा बुझेर खबर गर्ने बताए । लान्टबाट निस्केको धूवाँ–धूलोले असर गरेको भन्दै एक वर्षअघि नखिपोटका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दर्ता गरे । प्रशासनले प्लान्टले पारेको असरबारे छानबिन गरी कारबाही गर्न साविकको सुनाकोठी गाविसमा पत्र पाठएको थियो ।

डिजेलबाट सञ्चालित प्लान्टले प्रदूषण बढाएकोले अहिले भैंसेपाटी, नखिपोट, सुनाकोठीवासी मर्कामा छन् । दुर्गन्ध बढ्ने, धूलो उड्नलगायत कारणले वृद्धवृद्धालाई बढी समस्या भएको सुनाकोठीका राम महर्जनले बताए । ‘प्लान्टले खोला र वरिपरिका बालीनालीलाई समेत असर गरेको छ,’ उनले भने । ललितपुर महानगरपालिकाका वातावरणीय इन्जिनियर प्रदीप अमात्यले अस्फाल्ट मिक्सिङ प्लान्टबाट अस्फाल्ट तयार गर्दा निस्कने कालो धूवाँले वातावरणलाई प्रदूषण गर्ने बताए । ‘प्लान्ट वरपर कालो धूवाँको निसाना देखिने र धूवाँले सीधै जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ,’ उनले भने, ‘बस्तीबाट २ किमि टाढा दूरीमा मात्र प्लान्ट स्थापना गर्नुपर्छ ।’

उनले प्लान्ट निर्माण गर्दा वरिपरि पर्खालले घेरी ६ मिटरभन्दा अग्लो भित्ता हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताए । सैलुङ र सुनौलोले क्रमश: करिब २० र १० रोपनीमा प्लान्ट सञ्चालन गरिरहेका छन् । यस्तै, प्लान्ट नेपाल आदर्श निर्माण कम्पनीले बागडोलमा सञ्चालनमा ल्याएको थियो । बागडोलवासीले संघर्ष समिति नै खडा गरी संविधानले प्रदान गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारबाट वञ्चित भएको भन्दै विरोध गरेपछि अहिले प्लान्ट बन्द छ ।

प्रकाशित : पुस २५, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?