कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वृद्धाश्रम सार्न ढिलासुस्ती

शिल्पा कर्ण

काठमाडौँ — कृष्णकुमारी मिश्रको उमेर ८० काटिसक्यो । पशुपतिस्थित केन्द्रीय वृद्धाश्रममा बसेको दुई वर्ष बित्न लाग्यो । सुरुमा खासै कठिनाइ थिएन । अहिले शौचालयसम्म जान पनि उनलाई डर लाग्छ । कहाँ लडिने हो पत्तो हुन्न । शौचालय नजिकै दिनभरि बस्नु पनि सम्भव हुन्न । आफू बस्ने ठाउँबाट सिँढी ओर्लिने र चढ्ने गर्दै शौचालय जान निकै टाढा लाग्छ उनलाई । 

वृद्धाश्रम सार्न ढिलासुस्ती

उनी भन्छिन्, ‘राति आँखा देख्न गाह्रो हुन्छ, वर्षाका बेला चिप्लिएर लडिएला भन्ने डर हुन्छ ।’ वृद्धावस्थामा अंगभंग भए उपचार र त्यो पीडाले मिश्रलाई मात्र नभई त्यहाँ आश्रय लिइरहेका हरेक वृद्धवृद्धालाई हिँडडुल गर्ने बेला झस्काउँछ ।

दुईतले सत्तलमा माथि तुलनात्मक रूपले बलिया र हिँडडुल गर्न सक्नेलाई राखिएको छ भने तल अशक्त र कमजोर ज्येष्ठ नागरिक बसिरहेका छन् । पूर्ण रूपले अशक्तलाई छुट्टै बस्ने व्यवस्था छ । शौचालय जानुपर्ने होस् वा खाना खान वृद्धवृद्धाले, माथिको अँध्यारो कोठाबाट तल झर्नुपर्छ । तर नसक्नेलाई खानेकुरा माथि नै पुर्‍याइदिने गरेको वृद्धाश्रमका कर्मचारी बताउँछन् । अँध्यारा, चिसा कोठा त्यहाँका विशेषता हुन् । तलको एउटा कोठामा ४ जनासम्म एउटै कोठामा बस्छन् । माथि भने हलजस्तो प्यासेजको दुईतिर खाट हालिएको छ ।

वृद्धाश्रममा कार्यरत पब्लिक हेल्थ नर्स विमला सुवेदी वर्षामा यस्ता घटना बढ्ने बताउँछिन् । उनले भनिन्, ‘भर्‍याङबाट उक्लिने ओर्लिनेभन्दा बढी वर्षातमा चिप्लिएर लड्ने गरेका छन् । संरचनाको कारणसँगै उमेरले गर्दा पनि त्यस्ता घटना दोहोरिन्छन् ।’ वृद्धाश्रममा ६० वर्ष काटिएकालाई मात्र राखिने नियम छ तर त्यहाँ ९० वर्षभन्दा माथिका पनि छन् । उनीहरूलाई ओहोरदोहोर गर्न पनि समस्या हुने गरेको छ ।

भूकम्पले पनि पञ्चदेवलको सत्तल जीर्ण भइसकेको छ । सत्तलको उत्तरमा कोहीलाई राखिएको छैन । ‘मान्छे राख्न सक्ने स्थिति नभएकाले राखेका छैनौं,’ लेखापाल श्रीविन्द खनालले भने, ‘क्षमता कम भएकाले भूकम्पपछि मान्छे थपेका छैनौं ।’ झन्डै ४ वर्षदेखि पशुपतिस्थित वृद्धाश्रम सार्ने योजना बने पनि यसतर्फ ठोस प्रगति हुन सकेको छैन । विसं १९३८ मा सुरेन्द्रविक्रम शाहका पालादेखि सञ्चालित वृद्धाश्रमका संरचना ज्येष्ठ नागरिकमैत्री छैनन् । सय वर्ष नाघेको यो सत्तललाई मर्मत गरिँदै आएको छ । पशुपति क्षेत्रमा रहेको यो संरचना वृद्धाश्रमको रूपमा निर्माण नभएकाले ज्येष्ठ नागरिकमैत्री छैन । विश्व सम्पदा सूचीमा परेकाले उक्त क्षेत्रमा नयाँ संरचना निर्माण गर्न सहज छैन । यद्यपि केही नयाँ शौचालय निर्माण तथा मर्मतका कार्य भएका छन् ।

यसअघि राममन्दिर नजिकै भवन बनाउने भनि योजना बने पनि पुरातत्त्व विभागले स्वीकृति नदिएपछि काम रोकिएको थियो । पुरानो भवनमा बस्नु जोखिम हुने भन्दै शंखमूलमा सार्ने भने पनि त्यहाँ आश्रितले यसको विरोध गरेका थिए । वृद्धाश्रमका कार्यालय प्रमुख मनोज बस्नेतले अहिले गोठाटारमा नयाँ वृद्धाश्रमको नक्सांकन कार्य भइरहेको बताए । ‘पशुपति विकास कोषले १० रोपनी जग्गा उपलब्ध गराएको छ,’ बस्नेतले थपे, ‘५ करोड निकासा भइसकेको छ । भवन विभागलाई कस्तो किसिमको बनाउने हो त्यो आवश्यकता पनि जानकारी गराइदिएका छौं ।’

वृद्धाश्रमलाई पटक–पटक सार्ने योजना बने पनि त्यसले पूर्णता पाउन सकेको छैन । तर यस वर्ष फागुनसम्ममा टेन्डर आहान हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयका एक अधिकारीले भने, ‘पहिले जग्गा थिएन, पछि पैसा थिएन । यस्तै–यस्तै कारणले ढिला भएको हो ।’ यस विषयलाई गम्भीरतापूर्वक मन्त्रालयले नलिएको मन्त्रालयकै अधिकारीको भनाइ छ ।

अहिले त्यहाँ १ सय ८६ जना ज्येष्ठ नागरिकले आश्रय पाएका छन् । वृद्धाश्रमको क्षमता २ सय ३० जनासम्म राख्ने भए पनि भूकम्पपछि नयाँ मान्छे नथपिएको वृद्धाश्रमका लेखापाल श्रीविन्द खनालले बताए ।

प्रकाशित : पुस २६, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?