२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कहाँ गए रानीपोखरीको बहुमूल्य इँटा ?

दामोदर न्यौपाने

काठमाडौँ — पुनर्निर्माण गर्न बनाइएको विज्ञ समितिका पदाधिकारीले रानीपोखरी छिर्दा यहाँको बहुमूल्य इँटाबारे प्रश्न उठाए । विज्ञ समितिका संयोजक विष्णु कार्की, सदस्य सुदर्शनराज तिवारीलगायतले यस्ता बहुमूल्य इँटा जोगाउन नसकेकोमा चिन्ता व्यक्त गरे । ‘समाचारमा रानीपाखरीका लाखौंको बालुवा चोरी भनेर आएका थिए,’ तिवारीले भने, ‘बालुवा त यतै होला तर इँटाचाहिँ चोरी भएको हुनुपर्छ ।’

कहाँ गए रानीपोखरीको बहुमूल्य इँटा ?

पोखरीमा ४ वटा स्टेप थिए । ती स्टेपमा यसअघि नै महानगरले कंक्रिट प्रयोग गरेर पर्खाल लगाइसकेको छ । ती पर्खाल लगाउँदा आधुनिक निर्माण सामग्री प्रयोग गरिएको छ । ‘यहाँका इँटा यहाँ प्रयोग गरिएको देखिंदैन,’ सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘लाखौं मूल्य पर्ने इँटा कता गायब छन् । हामी यसको पनि खोजी गरिराखेका छौं । जिम्मेवार निकायले कहाँ छ भनेर सूचना दिएको छैन ।’

‘ब्युटिफिकेसन गर्नै भनेर धमाधम भत्काइयो । डोजर लगाइयो,’ सम्पदाप्रेमी सञ्जय अधिकारी भन्छन्, ‘यहाँभित्र त बहुमूल्य वस्तु छन् । ती सबै गायब बनाए ।’ इँटा कहाँ छ भनेर महानगरलाई समेत पत्तो छैन । ‘त्यहीं कतै होला । पुरानो इँटा कहाँ गयो होला र ?’ महानगर प्रवक्ता ज्ञानेन्द्र कार्की भन्छन्, ‘भुइँचालोले क्षति पुर्‍याएका पुराना इँटा त लिन आउनु भन्दा कोही आएनन् । धेरै समय टुँडिखेलमा रह्यो । कसैले लिन नआएपछि त्यहीं डम्पिङ गरियो ।’


पोखरी प्राचीन निर्माण विधिबाट बनाइएको हो । यो विधिबाट निर्माण गर्दा पानी थुन्न विशेष तरिकाले इँटा प्रयोग गरिएको हुन्थ्यो । पोखरीको डिलमा कालोमाटोले पानी थुनिन्छ ।

कालोमाटो पनि अड्याउन छेउछेउमा इँटाका पर्खाल लगाइन्छ । छेउमा पनि पर्खाल, बीचमा पनि पर्खाल लगाएर बीचमा कालोमाटो पारिन्छ । इँटाको पर्खाललाई विशेष तरिकाबाट उठाइन्छ । ‘पर्खाल उठाउने इँटा नै बेग्लै खालको हुन्छ,’ इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, ‘इँटाको बीचमा माटोलगायत कुनै पनि जोडान हालिँदैन । इँटाले इँटालाई क्रस पारेर पर्खाल लगाइन्छ । रानीपोखरीलगायत प्राचीन प्रविधिबाट बनाइने पोखरीमा यही विधि प्रयोग गरिएको हुन्छ ।’

ठेकेदार कम्पनीले महानगरलाई बुझाएको दररेटमा पुरानो इँटा प्रयोग गर्ने उल्लेख छैन । महानगरलाई २०७३ वैशाख १४ मा बुझाएको दररेटको ८ नम्बर बुँदामा ‘ड्राई ब्रिक, सोलिङ ब्रिक’ प्रयोग गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित : पुस २६, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?