१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

छात्रावासका मुक्त कमलरीको पीडा

‘५ सयले केही गर्नै पुगेन’
दुर्गालाल केसी

नर्ती (दाङ) — छात्रावास बसेर अध्ययन गरिरहेका अभिभावकविहीन मुक्त कमलरीको अवस्था दयनीय भइरहेको छ । न्यानो कपडा छैन, बिरामी हुँदा उपचार खर्च छैन, कतै निस्कन गाडी भाडा छैन । आर्थिक अभावले उनीहरूलाई काम पर्दा पनि छात्रावासबाट निस्कन सक्ने अवस्था छैन ।

छात्रावासका मुक्त कमलरीको पीडा

‘जुत्ता–चप्पल छैन । झोला छैन । जाडोमा न्यानो कपडा छैन,’ लमहीको नर्तीस्थित लावाजुनी छात्रावासमा बसिरहेकी ११ कक्षा अध्ययनरत तुलसीपुर १६ की सीता चौधरीले भनिन्, ‘बिरामी हुँदा औषधि किन्ने पैसा हुँदैन । कतै निस्कने हो भने गाडी भाडा हुँदैन ।’ सरकारले मासिक ५ सय रुपैयाँ पकेट खर्च दिने गरेको र त्यसबाट खर्च धान्न कठिन भएको उनले बताइन् । समयमै उपचार नपाउँदा यसअघि छात्रावासमा बसेका तीन मुक्त कमलरीको मृत्यु भयो ।

नर्तीस्थित छात्रावासमा पढिरहेका धनगढीकी हेमा चौधरी, रोल्पाकी मीना पुन र बर्दियाको होस्टेलमा रहेकी बर्दियाकै सविता चौधरीको उपचार हुन नसकेर मृत्यु भएको थियो । ‘हामी पनि उपचार नपाएरै मर्छौं कि भन्ने डर छ,’ १२ कक्षा अध्ययनरत लमही २ वनकट्टाकी महिमा चौधरीले भनिन्, ‘जाडो छेक्ने कपडा छैन । रातभर जाडो सहेर बस्नुपर्छ ।’

नर्तीस्थित छात्रावासमा दाङ, बर्दिया, कैलाली, प्यूठान र सल्यानका ८३ मुक्त कमलरी बसिरहेका छन् । जसमा ६ कक्षादेखि स्नातकसम्म अध्ययनरत मुक्त कमलरी छन् । लमहीकै वनगाउँस्थित छात्रावासमा बर्दियाका २४ मुक्त कमलरी छन् । वनगाउँमा बस्ने ७ देखि १२ कक्षासम्म पढिरहेका छन् । थारू समुदायको महान् चाड माघी आउँदै छ, वनगाउँ छात्रावासकी बर्दिया राजापुरकी कोपिला थारूलाई घर कसरी जाने भन्ने चिन्ता छ । ‘माघी आउन थाल्यो । घर जान रहर लागेको छ तर भाडा छैन,’ उनले भनिन्, ‘५ सय रुपैयाँले कपडा किन्नु कि, उपचार गर्नु, कापी किन्नु कि, साबुन वा ब्रस ? के के गर्नु ?’

छात्रावास बस्नेमध्ये कतिका आमाबुवा छैनन् त कतिको घरबास नै छैन । आफ्नो कोही नभएकाले आवश्यक खर्च माग्ने ठाउँ नभएको नर्तीकै ८ कक्षामा पढ्ने रेशु चौधरीले बताइन् । ‘हाम्रा अभिभावक छैनन् । हामी खर्च माग्न कहाँ जाने ? सरकारले पुग्ने खर्च दिँदैन,’ उनले भनिन्, ‘हामीलाई बाँच्नै गाह्रो भो ।’

सरकारले दस महिनाको मात्र खाने बस्ने खर्च दिने गरेको छ । प्रतिव्यक्ति मासिक ४ हजारका दरले छात्रावास रेखदेख गरिरहेको विद्यालयले रकम पाउँछ । उक्त रकममध्ये ५ सय रुपैयाँ प्रत्येक मुक्त कमलरीलाई पकेट खर्चबापत दिने र ३ हजार ५ सय खाने, बस्ने काममा खर्च गर्ने नर्तीस्थित सूर्यविनायक माविका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले बताए । १० महिनाको खर्चले १२ महिना धान्नुपर्ने भएकाले समस्या भएको हो । छात्रावासको कोचिङबापत ९० हजार, अतिरिक्त क्रियाकलापबापत १५ हजार, पानी, बिजुली र उपचारमा ४८ हजार, सन्दर्भ सामग्री, पुस्तकालयका लागि ४५ हजार, सीपमूलक तालिमका लागि ३० हजार, विद्यालय व्यवस्थापन समितिको बैठक खर्च १० हजार र छात्रावास सञ्चालन खर्च १ लाख ३९ हजार आउने गरेको उनले जनाए । एक वार्डेन, दुई भान्से र एक पालेका लागि पनि तलब आउँछ ।

छात्रावासमा अध्ययनरत मुक्त कमलरीका लागि आउने रकम पारदर्शी रूपमा खर्च नभएको गुनासा पनि आउन थालेका छन् । ‘हाम्रा लागि आएको रकम सही तरिकाले खर्च भए/नभएको हामीलाई थाहा छैन । विद्यालयले हामीलाई कुनै पनि छलफलमा सहभागी गराउँदैन,’ उनले भनिन्, ‘कुनै सीपमूलक तालिम पनि सञ्चालन भएको छैन । व्यवस्थापन समिति पनि कहिल्यै छात्रावासको अवस्था हेर्न आएको छैन ।’

कम स्रोतसाधनमा धेरै काम गर्नुपर्ने भएकाले मुक्त कमलरीका सबै आवश्यकता पूरा गर्न कठिन भएको व्यवस्थापन समिति अध्यक्ष पुरणबहादुर चौधरीले बताए । ‘१० महिनाको खर्च आउँछ । त्यही रकमले हामीले १२ महिना धान्नुपर्छ,’ उनले भने, ‘मुक्त कमलरीका समस्या सम्बोधन गर्न हामी गम्भीर छौं तर तोकिएकै शीर्षकको खर्चले पुग्दैन ।’

प्रकाशित : पुस २७, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?