कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

राजधानी माग्दै मसाल जुलुस

धनकुटा — प्रादेशिक राजधानी माग राख्दै आमहडतालमा उत्रिएका धनकुटावासीले बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् । साँझ ६ बजे स्थानीय भीमनारायण चोकबाट सुरु मसाल जुलुसले बजार परिक्रमा गरेको थियो ।

राजधानी माग्दै मसाल जुलुस

मदनचोकमा आयोजित कोणसभालाई प्रादेशिक राजधानी बनाऔं अभियानका संयोजक तथा धनकुटा प्रदेश नं. १ का सदस्य निरन राई तथा आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले सम्बोधन गरेका थिए । बिहीबार हुने जिल्ला बन्द सफल पार्न आहवान गर्दै जुलुस प्रदर्शन गरिएको आयोजकले बताए ।

यसैगरी आन्दोलनकारीले बुधबार मध्याह्न कोसी राजमार्गको धरान–धनकुटा खण्डमा एक घण्टा यातायात ठप्प पारेका छन् । बिहीबार भने जिल्ला बन्द गरिएको जानकारी दिए । लगातार ६ दिनसम्म आमहडतालमा उत्रिएका जिल्लावासीले आन्दोलनको स्वरूप परिवर्तन गर्दै चरणबद्ध कार्यक्रमलाई निरन्तरता दिएका छन् । पर्याप्त भौतिक पूर्वाधार र राणाकालदेखि हालसम्मको प्रशासनिक थलो धनकुटामा प्रदेश नं. १ को राजधानी घोषणा गरिनुपर्ने भन्दै जिल्लामा महिना दिनदेखि आन्दोलन जारी छ ।

नर्सहरू पनि आन्दोलित

नर्सिङ सेवामा कार्यरत स्वास्थ्यकर्मी विभिन्न ११ बुँदे माग राख्दै बुधबारबाट आन्दोलनमा उत्रिएका छन् । मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासित नर्सिङ कर्मचारीलाई पुनर्बहाली गर्न, अधिकारसहित नर्सिङ सेवा महाशाखा पुन:स्थापना गरिनुपर्नेलगायत माग राख्दै उनीहरूले कालोपट्टी बाँधेर स्वास्थ्य संस्थामा काम गरिरहेका छन् । नेपाल नर्सिङ संघ धनकुटा शाखामा आबद्ध स्वास्थ्यकर्मीको अगुवाइमा आन्दोलन गरिएको हो । नर्सिङ संघको केन्द्रीय कार्यालयले अघि सारेको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै हातमा कालोपट्टी बाँधेर काम गरेको नर्सिङ संघ शाखा अध्यक्ष सोनी सुवेदीले जनाइन् ।

प्रकाशित : पुस २७, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?