जिल्लाको उच्चस्तरीय टोली चेपाङबस्तीमा

खानेपानीको योजना दिनु भन्दा बस्तीनै सार्नु उपयुक्त
हरिहरसिंह राठौर

ब्रुसबाङ(धादिङ) — वर्षौंदेखि बस्तीसार्न आग्रह गरिरहेका महाभारत लेकको ब्रुसबाङस्थित चेपाङबस्तीमा जिल्लाको उच्चस्तरीय टोली पुगेको छ । चितवन र धादिङको सिमानास्थित १८ सय ४५ मिटर उचाईको विकट टाकुरामा रहेको ३ दर्जन चेपाङ परिवारले वर्षौंदेखि खानेपानीको योजना वा उपयुक्त जग्गा दिएर बस्तीनै सार्न बारम्बार लिखित निवेदन दिएका थिए । यसैको अवस्था बुझ्न टोली पुगेको हो । 

जिल्लाको उच्चस्तरीय टोली चेपाङबस्तीमा

बस्तीमा रहेका २५ घर चेपाङ भुकम्पपछि ३६ घरधुरीमा परिणत भएका थिए । विद्यालय, स्वास्थ्य, सडक सन्जाल, खानेपानी र विजुली जस्ता आधारभूत सेवाबाट पनि बञ्चित चेपाङको प्रमुख समस्या खानेपानी नै हो । खानेपानीको मुहान चेपाङको बस्तीबाट ३ घण्टा तल पैदल हिँडेर पुग्नुपर्छ । यसैले पनि खानेपानीको योजना लैजान पनि सहज थिएन ।


खानेपानी र खाद्यान्न अभावमा संघर्ष गरिरहेका ब्रुसबाङ चेपाङ समुदायसँग जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरी छलफल गरेको छ । स्थानीयवासीहरुसँग बस्ती नै उपयुक्त स्थानमा स्थान्तरण गर्ने वा करोडौं खर्चेर ३६ घरधुरीलाई खानेपानी योजना ल्याउने भन्ने विषयमा स्थलगत अध्ययन गर्न जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारी, सेना र प्रहरी प्रमुखहरु लगायतका टोली पुगेको थियो ।


छलफलमा स्थानीय खाद्य अधिकार समूहकी फुलमाया चेपाङले आफु सुत्केरी हुँदा पोषणयुक्त खाना त परै जावस तिर्खा लाग्दा पानी समेत खान नपाएको भन्दै सुत्केरी अवस्थामा पानी पैचो खानु परेको बताइन् । फुलमायाले भनिन्, ‘सुत्केरी अवस्थामा एक घण्टाको बाटो तल झरेर नुहाएर आउँदा दुई घण्टा लाग्यो । बुढा काम गर्न मनाङ गएकाले छ वर्षको छोराले बोतलमा पानी खुवायो । सासु ससुराबाट पानी पैचो गरेर बच्चालाई नुहाइधुवाइ र लुगा धुनु पर्‍यो,' उनले गुनासो पोखिन् ।

'हामी ३६ घर चेपाङ परिवार वरिपरिको विकास हेरर बसेका छौ । धेरै पटक सदरमुकाम गएर समस्या बतायौं । । हामीलाई कि खानेपानी ल्याइदिनुस कि घरजग्गा सहित पानी, स्कुल भएको ठाउँमा बस्ती सारी दिनुस, ’ खाद्य अधिकार समूहका संयोजक प्रेम बहादुर चेपाङले भने ।

'बस्ती पहाडको चुचुरोमा भएको र आसपासका डाँडाहरुमा पानीका मुहान नभएका कारणले पानीको विकल्प बस्ती स्थानान्तरण भएकाले जिल्लाको सरोकारवालाहरु मिलेर खानेपानी, आवास, स्कुल, स्वास्थ्य चौकी भएको आसपास बस्ती सारेर समुदायको समस्या समाधान गर्नु पर्छ,' प्रमख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले भने ।


पहाडको चुचुरो, हिमालको आमुन्ने सामुन्ने र १८ सय ४५ मिटर उचाईमा रहेकोले यो बस्तीमा हिउँदवर्खै चिसो हुन्छ । गरिबीका कारण ३६ घरका ८७ पुरुष र ८६ महिला न्यानो कपडा बिनै सुत्न बाध्य छन् । कतिपय घर खरको अभावमा छाउन सकेका छैनन् । ‘८ महिनामा पाक्ने मकैले ६ महिनासम्म मात्रै खान पुग्छ । बाँकी ६ महिना सिस्नो, टाँकी, गिठाभ्याकुर, लगायतका जंगली कन्दमूलका खानु पर्ने बाध्यता छ,’ ५१ वर्षी गैंचाबहादुरले भने ।

प्रकाशित : पुस २७, २०७४ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?