मुक्त कमलरीलाई व्यावसायिक सीपमा जोड

आयआर्जनको माध्यम नखोजिए मुक्तिको अर्थ हुन्न
दुर्गालाल केसी

दाङ — माघी पर्व कमलरी प्रथाको पर्यायवाचीका रूपमा चिनिन्छ । हरेक माघीमा थारू समुदायका छोरीलाई अर्काको घरमा बँधुवा मजदुर बन्न पठाइन्थ्यो । शिक्षा, स्वास्थ्य, पोषण, स्याहार र आरामबाट वञ्चित भएर अर्काको घरमा रातदिन काम गर्नुपर्ने बाध्यताबाट मुक्त भएका कमलरी फेरि त्यो बाटोमा नफर्कन विभिन्न आयआर्जनको बाटो खोजिरहेका छन् ।

मुक्त कमलरीलाई व्यावसायिक सीपमा जोड

आर्थिक अभावका कारण कमलरी बस्नुपरेको निष्कर्ष निकाल्दै उनीहरू सहकारी र व्यावसायिक सीपमा आकर्षित भएको कमलरी मुक्तिको क्षेत्रमा क्रियाशील नेपाल युथ फाउन्डेशनले जनाएको छ । उसले बुधबार घोराहीमा जिल्लाका सरोकारवालासँग समीक्षा बैठक गरी पश्चिम तराईमा दास प्रथाका रूपमा रहेको कमलरी अन्त्य गर्ने मुख्य माध्यमका रूपमा आर्थिकस्तर वृद्धिलाई लिइएको जानकारी दिएको छ ।

पश्चिम तराईका ५ जिल्लामा ४२ सहकारी र १४ बचत समूहमार्फत मुक्त कमलरीले ३ करोड ८२ लाख २१ हजार ४ सय ९३ रुपैयाँ बचत गरेको फाउन्डेशनका कार्यक्रम संयोजक मानबहादुर क्षत्रीले बताए । सहकारीबाट २ हजार ४ सय ६२ मुक्त कमलरीले ऋण लिएर विभिन्न व्यवसाय गरिरहेको उनले जनाए । उनका अनुसार सहकारीले घुम्ती कोषको ७० लाख रुपैयाँ पनि परिचालन गरिरहेको छ । कुल ४ करोड ५२ लाख २१ हजार ४ सय ९३ पुँजीमध्ये ४ करोड ३७ लाख ३४ हजार २ सय २३ रुपैयाँ ऋण लगानी भएको क्षत्रीले जनाए ।

विगतमा आर्थिक अभावकै कारण कमलरी बस्ने चलन रहेकाले अहिले मुक्त कमलरीलाई व्यावसायिक सीप दिएर आत्मनिर्भर बनाउने प्रयास गरिरहेको फाउन्डेशनका कार्यकारी निर्देशक राजु धमलाले बताए । हालसम्म पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ४ सय ४५ मुक्त कमलरीले लामो अवधिको प्राविधिक तालिम र १ हजार २ सय ४८ ले छोटो अवधिको व्यावसायिक सीप सिकेको उनले जानकारी दिए । तालिम लिएकामध्ये १ हजार १ सय ४६ रोजगार तथा स्वरोजगारमा संलग्न छन् । अहिले पनि १ सय ४१ ले तालिम लिइरहेको र भर्खरै १ हजार ५ सय ५२ ले तालिम पूरा गरिसकेको फाउन्डेशनका परियोजना अधिकृत फकला थारूले बताए । सरकारले ०७० असार १३ मा देशमा कमलरी मुक्तिको घोषणा गरेको थियो र पनि अझै कमलरी राख्ने चलन पूर्णरूपमा हट्न नसकेको सहायक प्रजिअ गणेशप्रसाद आचार्यले बताए । मुक्त भएकामध्ये केहीले आयआर्जनका विभिन्न प्रयास गरेकोमा उनले खुसी व्यक्त गरे । फाउन्डेशनका अनुसार अझै पनि कैलालीमा ५९, बाँकेमा १७ र कञ्चनपुरमा ११ गरी ८७ कमलरीको उद्धार भएको छैन । मुक्त भएकाको शिक्षाका लागि सक्दो प्रयास गरिरहेको जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले बताए ।

०५७ मा दाङ गोबरडिहाका ३६ कमलरीलाई मुक्त गरी विद्यालय पठाएर कमलरी मुक्त अभियान सुरु गरिएको थियो । अहिले २ हजार ९ सय ६३ नियमित विद्यालय गइरहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ । त्यसमध्ये पाँच जनाले स्नातकोत्तर अध्ययन गरिरहेको मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताइन् । हालसम्म पश्चिम तराईमा १२ हजार ८ सय ६९ कमलरीको उद्धार भइसकेको छ ।

प्रकाशित : पुस २८, २०७४ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?