विपन्नको घरमा टिन हालिँदै
लमजुङ — बेंसीसहर नगरपालिकाले खरले छाएका घरहरूमा टिन हाल्ने योजना अघि सारेको छ । विपन्न नागरिक लक्षित कार्यक्रमअन्तर्गत खरले छाएका घरलाई टिनले छाउने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको हो ।
यसका लागि सुरुमा सामाजिक परिचालकमार्फत तथ्यांक संकलन गरिने भएको छ । तथ्यांकलाई वडा कार्यालयले एकीकृत गरेपछि प्राविधिकद्वारा इष्टिमेट गरिने बेंसीसहरका नगर प्रमुख गुमानसिंह अर्यालले बताए । उनका अनुसार प्राविधिक इष्टिमेटपछि वडा तहमा गएर घरधनीसँग अन्तक्र्रिया गर्दै लगानीमा साझेदारी निक्र्यौल गरिने छ ।
‘खरले छाएका घरधुरीलाई टिनको छानो उपलब्ध गराउन घरधनीले कति लगानी गर्न सक्छन् भन्ने कुरा अन्तक्र्रियामा गर्छौं,’ उनले भने, ‘त्यसपछि कार्यपालिकाले
अनुमानित बजेट निकालेर कार्यक्रम अगाडि बढाउँछ ।’ आगामी दुई महिनाभित्र खरले छाएका सबै घरधुरीको तथ्यांक संकलन गरिसक्ने उनले बताए ।
बसाइँ सरेर गएकाले यस्तो सुविधा पाउने छैनन् । ‘नगरभित्रका विपन्न र असहायलाई माथि उठाउने स्थानीय सरकारको कर्तव्य हो,’ उनले भने, ‘सँगै आत्मनिर्भर बनाउन बारीमा तरकारी र फलफूल खेती लगाउने तरिका सिकाउनुका साथै अनुदानको पनि व्यवस्था गर्छौं ।’ टिन उपलब्ध गराउने काम सकेसम्म २/३ वर्षभित्रै गरिसक्ने र नभए ५ वर्षभित्र जसरी पनि सक्ने उनले बताए । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय
अधिकृत राजेश्वर सिलवालले कार्यापालिकाको बैठकले खरले छाएको घरलाई टिनले छाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिसकेकाले यसको कार्यान्वयन सुरु भइसकेको बताए ।
नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाईका अनुसार १ देखि ११ नम्बर वडासम्म करिब १० हजार घर छन् । यसमा खरले छाएका घरधुरी ६ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । ‘तथ्यांक लिएपछि खरले छाएका घरधुरीबारे यकिन तथ्यांक आउँछ । त्यसपछि जति सक्दो छिटो हामी कार्यक्रम सञ्चालन गर्छौैं,’ उनले भने । नगर कार्यपालिका सदस्य देवबहादुर गहतराजका अनुसार खरले छाएका घर धेरै मात्रामा दलित समुदाय, विपन्न तथा असहायका छन् । उत्पीडित समुदायलाई स्थायी बसोबासका लागि पहिलो प्राथमिकता र त्यसपछि उनीहरूको जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिने उनले बताए ।