कृषकलाई व्यावसायिक बनाइँदै

भइरहेको उत्पादनलाई वृद्धि गर्ने, मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने पूर्ण व्यावसायिक कृषक बनाउने लक्ष्य हो’
वीरेन्द्र केसी

अर्घाखाँची — सबै कृषकलाई पूर्ण व्यावसायिक बनाउन जिल्लामा ‘तरकारी जोन’ कार्यक्रम सुरु भएको छ । उत्पादित तरकारी अर्गानिक र विषादीरहित हुनेछन् । सन्धिखर्क नगरपालिका, छत्रदेव र मालारानी गाउँपालिका ५ स्थित ५ सय हेक्टर क्षेत्रफल छनोट गरी मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न दस वर्षे कार्यक्रम तय भएको छ । पहिलो आर्थिक वर्ष एक करोड २३ लाख रुपैयाँ हुने छ । 

कृषकलाई व्यावसायिक बनाइँदै

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ तरकारी जोनको सन्धिखर्कमा कार्यालय खोलेर कार्यक्रम सुरु गरिएको हो । ‘भइरहेको उत्पादनलाई वृद्धि गर्ने, मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने पूर्ण व्यावसायिक कृषक बनाउने लक्ष्य हो,’ वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले भने, ‘तरकारी खेतीबाटै कृषकलाई स्वरोजगार बनाउने हो ।’ तीन स्थानीय तहको क्षेत्रफलमा अर्गानिक तरकारी उत्पादन हुन्छ । त्यसको बजारीकरण गर्न र थोरै जग्गामा धेरै उत्पादन गर्न सबै सहयोग परियोजनाले गर्ने उनले बताए ।

परम्परागत रूपमा गरिँदै आएको खेतीलाई आधुनिकीकरण गरी उत्पादनमा जोड दिन सिँचाइका लागि ८५ प्रतिशत अनुदान, औजार उपकरण खरिदमा ५० प्रतिशत, उत्पादन सामग्रीलाई ५० प्रतिशत र उन्नत तथा हाइब्रिड बिउविजन, रासायनिक एवं जैविक विषादीहरूमा पनि ५० प्रतिशन अनुदान दिने प्रावधान रहेको उनले बताए । सन्धिखर्कमा भएको जोनस्तर अभिमुखीकरणमा जनप्रतिनिधि र कृषकले तरकारीमा बिमाको माग गरे । छत्रदेव–३ का वडाध्यक्ष राजेश पन्थीले बारीमा उत्पादन भएको अन्नबाली र तरकारी सबै बाँदरले सखाप पारिदिएको गुनासो कृषकबाट आउने गरेको बताए । बाँदर नियन्त्रण नगर्दासम्म व्यावसायिक तरकारी उत्पादन गाह्रो छ, उनले भने ।

गाउँबाट सुविधा खोज्दै सहरतिर बसाइँसराइ गर्नेको लहर चलेको छ । खेतबारी बाँझिएका छन् । खेती गर्न कसैले खोज्दैनन् । परियोजना सञ्चालन गर्नुको मुख्य उद्देश्य बस्ती छाडेर जानेलाई रोकेर आम्दानी गराउने पनि रहेको कृषि प्रचार अधिकृत थीरलाल गैरेले बताए । कहाँ कुन तरकारी उत्पादन हुन्छ । त्यसको ठाउँ छनोट गर्ने र कृषकलाई आबद्ध गराएर व्यावसायिक बनाउने हो । बेमौसमी तरकारी उत्पादन गरेर जिल्ला बाहिर पठाउने लक्ष्य रहेको उनले दाबी गरे ।

‘तरकारीबाट आम्दानी भएपछि विदेश जाने घट्छन्,’ सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसालले भने, ‘आर्थिक समृद्धिको आधार नै तरकारी खेती हो । प्रत्येक घरका परिवारलाई कृषिमैत्री बनाउँछौं ।’ तरकारी उत्पादन गरिरहेका कृषकलाई थप उत्पादन बढाउने र नगरेकालाई पनि पूर्ण व्यावसायिक बनाएर कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रूपान्तररित आधुनिक, व्यावसायिक एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने परियोजनाले जनाएको छ ।

अहिले आफनै तरिकाले तरकारी उत्पादन गरेका कृषकलाई उत्प्रेरणा गर्ने र नगरेकालाई पनि समावेश गरी अर्गनिक उत्पादन गर्न थप सहयोग गर्छाैं, छत्रदेव गापा अध्यक्ष लेखनाथ पोखरेलले भने । उत्पादित तरकारी विषादीरहित र अर्गानिक उत्पादन गर्ने खालको हुनुपर्ने जोड छ । कृषक नारायण चुँदालीको अध्यक्षतामा गठित ९ सदस्यीय तरकारी जोन समितिले जग्गा छनोट गर्ने, कुन गाउँमा कुन तरकारी उत्पादन राम्रो हुन्छ त्यसको पहिचान गरेर परियोजनामा कार्यक्रम माग गर्ने भएको छ ।

प्रकाशित : पुस २८, २०७४ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?