कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कौसी खेतीमा रमाउँदै

‘४ वर्षयता कुनै तरकारी किन्न परेको छैन’

धरान — प्रत्येक छाकमा ताजा तरकारी खान नछुटाएका धरान–३ मनिसुन्दर मार्गका मोहन श्रेष्ठको परिवारले सागसब्जी नकिनेको चार वर्ष भयो । बजारमा तरकारी किन्नु नपर्दा श्रेष्ठको परिवारको अहिलेसम्म करिब ६ लाख रुपैयाँ बचत भएको छ ।

कौसी खेतीमा रमाउँदै

यो बचत श्रेष्ठले आफ्नै चारतले घरको छतमा गरेको कौसी खेतीले सम्भव भएको हो । करिब १० धुर क्षेत्रफलमा फैलिएको उनको कौसीबाट रासायनिक मल र विषादिरहित फलफूल, सागसब्जी उत्पादन हुन्छ । ‘कौसी खेतीले मलाई वार्षिक डेढ लाखभन्दा बढी बचत गराएको छ,’ धरानका विभिन्न सामाजिक संस्थामा आवद्ध ७० वर्षीय श्रेष्ठले भने, ‘किन्नमात्र नपरेको होइन, दैनिक अर्गानिक तरकारी खान पाएको छु ।’

अधिकांशले घरको छत वा कौसीलाई सदुपयोग गर्न सकेका छैनन् । श्रेष्ठले भने चार वर्षअघि धरान उपमहानगरपालिका र युएन ह्याबिटेटको संयुक्त आयोजनामा कौसी खेती तालिम लिएपछि आफूले सिकेअनुसार सीप सदुपयोग गरेको बताए । उनले भने, ‘तीव्र सहरीकरणले जमिन अभाव हुन थालेको बेला मैले तरकारी उत्पादनका लागि छत प्रयोग गर्दा धेरै फाइदा भएको छ ।’

आफ्नो व्यवसाय अरू नै भएकाले तरकारी बिक्री भने नगरेको उनले बताए । बिक्री गर्ने हो भने दैनिक हजार रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । ‘मेरो अरू नै व्यवसाय छ । तरकारी बिक्री गर्न घरका सदस्यले भ्याउँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले बढी भएको तरकारी आफन्त छरछिमेकीमा बाँड्छु ।’

कौसीमा उनले सिजनअनुसारका टमाटर, साग, बैगुन, प्याज, लसुन, लौका, फर्सी, काँक्रा, कागती, पुदिना, धनिया, अदुवा, सिंवी, बोडी, अकबरे खोर्सानी, स्ट्रवेरी, मकैलगायत धेरै प्रकारका फलफूल लगाएका छन् । कौशी खेतीका लागि उनले गमला, बाकस, फोमको बाकस प्रयोग गरेका छन् । तितेपाती, खरानी–पानी, निमको झोल, गहुत मिसाएर जैविक विषादी बनाउने गरेको उनले बताए ।

उनको कौशी खेती हेर्न टाढा टाढाबाट विभिन्न संघसंस्थाका कृषक र विद्यार्थी/शिक्षक आउने गर्छन् । कौसी खेती तालिममा धरानका ३५ जना सहभागी भए पनि उनले मात्र खेती गरेका छन् ।

धरानमा ४२ वर्षसम्म अर्काको घर बहालमा लिएर बसेका श्रेष्ठले व्यापार व्यवसाय गर्दै आफंैले चारतले घर बनाएपछि कौसी खेतीबाट अर्गानिक तरकारी खाने सपना पूरा भएको बताए । उनलाई कौसी खेती गर्न श्रीमती विद्या श्रेष्ठ र बुहारी कुसुम र मनीषाले सहयोग गर्ने गरेका छन् ।

सहरमा पक्की घर बनाएर बसेका निम्न मध्यम वर्ग र मध्यम तथा उच्च धनाढ्यका एउटा परिवारले हरिया सागसब्जी तरकारी फलफूलमा वार्षिक ५० हजारदेखि ३ लाख रुपैयाँसम्म खर्च गर्छन् । उनले भने, ‘धरान उपमहानगर क्षेत्रमा बनेका करिब २६ हजार पक्की घरका सबैले कौसी खेती गरे अर्गानिक तरकारी उत्पादनबाट वार्षिक २ अर्व ६० करोडभन्दा बढी बचत हुन्छ ।

प्रकाशित : पुस २९, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?