केन्द्र निर्धारण विवाद चुलियो
गाउँपालिकाका बहुमत सदस्यले गाउँसभामार्फत केन्द्र राख्न गरेको निर्णय माङसेबुङ, फाकफोक र रोङवासीले विरोध गरेका छन्
इलाम — बहुमत सदस्यले निर्णय गरे पनि इलामका केही गाउँपालिका सेवा केन्दको विरोध भएको छ । गाउँसभाले निर्णय गरेपछि फरक कारण देखाउँदै विरोध सुरु भएको हो । गाउँसभा बहुमतले सेवाकेन्द्र सार्ने निर्णय गरेसँगै माङसेबुङ, फाकफोकथुम र रोङ गाउँपालिकामा विवाद देखिएको हो ।
माङसेबुङको केन्द्र ३ नम्बर वडाको चतुरेमा राख्ने निर्णयको विरोधमा लारुम्बावासी छन् । उनीहरूले खानेपानी मुहानलाई प्रत्यक्ष प्रभाव पार्ने गरी केन्द्र निर्धारण गरेको जनाए ।
भर्खरै सम्पन्न गाउँसभामा मतदान हुँदा चतुरे केन्द्र राख्न बहुमत रहेको थियो । ३२ सदस्यमध्ये चतुरेको पक्षमा १८ र इभाङको पक्षमा १४ मत परेको हो । ‘नीतिगत ढंगले प्रक्रियामा गएर निर्णय भएको हो,’ गाउँपालिका प्रमुख डिकेन्द्र इदिङ्गोले भने, ‘यहाँ उठेका समस्याबारे हामी गम्भीर छौं ।’
धार्मिक क्षेत्रलाई असर नपर्नेगरी जहाँ केन्द्र राखे पनि आपत्ति नहुने माङसेबुङ सम्पदा संरक्षण नागरिक समाज संयोजक एनएस फागोले बताए । करिब ११ हजार जनसंख्या रहेको लारुम्बावासीले चतुरेको फेदीमा रहेको मुहानको पानी उपभोग गर्ने गर्छन् ।
सरकारी तथा गैरसरकारी निकाय र विदेशी दातृसंस्थाबाट निर्मित विभिन्न ९ खानेपानीको मुहान चतुरेको फेदीमा छ । चतुरे डाँडामा केन्द्र राखिएमा सहरीकरण हुनेक्रममा खानेपानी प्रदूषित हुने उनीहरूको तर्क छ । पटकपटक ध्यानाकर्षण गराउँदा पनि चतुरेलाई केन्द्र तोकिएकोमा स्थानीयको विरोध रहेको संस्थाका अध्यक्ष टीकाराम केरुङले बताए ।
त्यस्तै रोङ गाउँपालिकाको केन्द्र साविकको कोल्बुङबाट पहरीगाउँमा सारेको भन्दै विवाद भएको हो । तर गाउँसभाको एकमतले निर्णय गरेकाले यसको कुनै तुक नरहेको गाउँपालिकाको भनाइ छ । पुस १६ गतेको गाउँसभामा ३४ मध्ये ३३ सदस्यको सहमतिमा केन्द्र कायम गरिएको प्रमुख शमशेर राईले बताए । १ सदस्य जिल्ला समन्वय समितिमा तानिएका छन् ।
निर्वाचनमा सबैले कोल्बुङ नै केन्द्र राख्ने भन्दै जनतामा मत मागेको तर अहिले छलफल नै नगरी परिवर्तन गरेकाले आन्दोलनमा जानुपरेको भनाइ छ । फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोक निर्धारण भएपछि त्यहाँ पनि विरोध छ । यो गाउँपालिकामा २, ६ र ७ नं. वडावासीले फाकफोकको साप्तिन केन्द्र हुनुपर्ने माग गरेका छन् ।
प्रकाशित : पुस २९, २०७४ ०७:३०