१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नगरपालिकाले पारित गर्‍यो ऐन

नगर सफाइ तथा व्यवस्थित सहर विकासका लागि फोहोरमैला व्यवस्थापन र जग्गा प्लटिङसम्बन्धी  कार्यविधि पारित 

भक्तपुर — सूर्यविनायक नगरपालिकाले दोस्रो नगरसभा गरी ऐन तथा नियमावली पारित गरेको छ । नगरसभाले संविधानले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी विभिन्न विधेयक र निर्देशिका तथा कार्यविधि पारित गरेको नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले बताए । 

नगरपालिकाले पारित गर्‍यो ऐन

नगरसभाले सहकारी संस्था दर्ता तथा नियमनका लागि सहकारी विधेयक २०७४, कृषिलाई व्यवस्थित र प्रवद्र्धनका लागि कृषि व्यवसाय प्रवद्र्धन विधेयक २०७४ र शिक्षामा सबैको पहुँच पुर्‍याउन शिक्षा नियमावली २०७४ लगायतका ऐन तथा नियमावली पारित गरेको छ ।

नगरपालिका क्षेत्रभित्रको योजना तथा कार्यक्रम व्यवस्थित रूपले सञ्चालन गर्न योजना तथा कार्यसञ्चालन निर्देशिका, नगरमा व्यवस्थित तरिकाले व्यावसायिक विज्ञापनका लागि विज्ञापन कर निर्देशिका, नगरभित्रका पसल तथा व्यवसाय सञ्चालनलाई एकिन गर्न व्यवसाय कर निर्देशिका र पूर्वप्रावि व्यवस्थित गर्न पूर्वप्रावि व्यवस्थापन निर्देशिका पारित गरेको नगरप्रमुख वासुदेव थापाले बताए ।

नगरसभाले खेलकुद विकास, विपत व्यवस्थापनमा ठोस सहयोग पुर्‍याउन अनुदान तथा आर्थिक सहायता निर्देशिका पारित गरेको छ । निर्माण व्यवसाय नियमन गर्ने निर्देशिका तयार गरिएको छ भने उपभोक्ता हकहितका लागि बजार अनुगमन निर्देशिका पनि नगरसभाले पारित गरेको उनले बताए । नगर सफाइ तथा व्यवस्थित सहर विकासका लागि फोहोरमैला व्यवस्थापन र जग्गा प्लटिङसम्बन्धी कार्यविधि पारित गरेको छ । नगरसभाले पारित गरेको शिक्षा नियमावलीमा व्यवस्था भएअनुसार सूर्यविनायक नगरपालिकाले शैक्षिक सत्र २०७५ देखि नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास कक्षादेखि तीन कक्षासम्म अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था छ । शैक्षिक सत्र २०७८ भित्र कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरेको जनाएको छ ।

भवनहरूलाई भूकम्प प्रतिरोधात्मक प्रविधियुक्त र भरपर्दो सुरक्षित निर्माणका लागि बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी सडकको क्षेत्राधिकारसहितको आधारभूत निर्माण मापदण्ड २०७२ लागू गरिएको थापाले बताए ।

नगरपालिकाको कार्यक्षेत्रभित्र परेका विभिन्न कार्य कानुनबमोजिम कार्यान्वयनमा सहयोग पुर्‍याउन र सहरी वातावरण व्यवस्थापन गर्न नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ । संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएबमोजिम उपप्रमुख जुना बस्नेतको संयोजकत्वमा विनय महत र राजु लुबञ्जार श्रेष्ठ रहने गरी न्यायिक समितिसमेत गठन गरेको जनाएको छ ।

प्रकाशित : पुस २९, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?