अवैध औषधि पसल सिल

कान्तिपुर संवाददाता

वीरगन्ज — सञ्चालनको म्याद सकिँदा पनि बन्द नगर्ने औषधि पसलमा स्थानीय प्रशासनले शुक्रबार सिलबन्दी गरेको छ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा रहेका १६ औषधि पसलमा सिलबन्दी गरिएको पर्साका प्रजिअ विनोदप्रकाश सिंहले बताए । अस्पताल विकास समितिले विगत ३ वर्षदेखि पसल खाली गराउन पहल गरे पनि सञ्चालकहरूले टेरेका थिएनन् । 

२०७१ मंसिरमै सम्झौताको म्याद सकिएकाले ती पसलहरूबाट मासिक भाडा नलिने निर्णयसमेत भएको थियो । गत साउनदेखि उपक्षेत्रीय अस्पतालले आफ्नै औषधि पसल सञ्चालनमा ल्याएको छ । तर, निजी औषधि पसलहरूका कारण सरकारी औषधि पसल पूर्ण क्षमतामा चल्न सकेको थिएन । सर्वोच्चले २०७२ असार १३ मा सरकारी अस्पताल परिसरमा रहेका निजी पसल बन्द गराउने आदेश दिएको थियो ।
अस्पताल विकास समितिले स्थानीय प्रशासनलाई समेत पसल खाली गराइदिन पटकपटक पत्राचार गरे पनि सञ्चालकहरू विभिन्न शक्तिकेन्द्रबाट दबाब दिन लगाएर हट्न मानेका थिएनन् । ३० हजार देखि ५० हजार रुपैयाँसम्म पर्ने सटर सञ्चालकहरूले २ देखि ८ हजार रुपैयाँमा बस्न पाएका थिए । पछिल्लोपटक समितिले एक साताको म्याद दिँदै पुस २६ सम्म सटर खाली गर्न पत्राचार गरेको थियो । प्रशासनले शुक्रबार पसल खाली गराउने सूचना सञ्चालकले थाहा पाएपछि अबेरसम्म सटर खोलेका थिएनन् । पसले र स्थानीय नेताको दबाब थेग्न नसकेर अस्पतालका मेसु डा. एनामुल हक सम्पर्कविहीन भएका थिए । ‘मेसु सम्पर्कमा नआएपछि अस्पतालका एक प्रतिनिधिलाई राखेर औषधि पसलमा सिलबन्दी गरेका हौं,’ प्रजिअ सिंहले भने ।

Yamaha

Esewa Pasal

प्रकाशित : पुस २९, २०७४ ०७:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नगरपालिकाले पारित गर्‍यो ऐन

नगर सफाइ तथा व्यवस्थित सहर विकासका लागि फोहोरमैला व्यवस्थापन र जग्गा प्लटिङसम्बन्धी  कार्यविधि पारित 
कान्तिपुर संवाददाता

भक्तपुर — सूर्यविनायक नगरपालिकाले दोस्रो नगरसभा गरी ऐन तथा नियमावली पारित गरेको छ । नगरसभाले संविधानले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी विभिन्न विधेयक र निर्देशिका तथा कार्यविधि पारित गरेको नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले बताए । 

नगरसभाले सहकारी संस्थादर्ता तथा नियमनका लागिसहकारी विधेयक २०७४, कृषिलाई व्यवस्थित र प्रवद्र्धनका लागि कृषि व्यवसाय प्रवद्र्धन विधेयक २०७४ र शिक्षामा सबैको पहुँच पुर्‍याउन शिक्षा नियमावली २०७४ लगायतका ऐन तथा नियमावली पारित गरेको छ ।
नगरपालिका क्षेत्रभित्रको योजना तथा कार्यक्रम व्यवस्थित रूपले सञ्चालन गर्न योजना तथा कार्यसञ्चालन निर्देशिका,नगरमा व्यवस्थित तरिकाले व्यावसायिक विज्ञापनका लागि विज्ञापन कर निर्देशिका,नगरभित्रका पसल तथा व्यवसाय सञ्चालनलाई एकिन गर्न व्यवसाय कर निर्देशिका र पूर्वप्रावि व्यवस्थित गर्न पूर्वप्रावि व्यवस्थापन निर्देशिका पारित गरेको नगरप्रमुख वासुदेव थापाले बताए ।
नगरसभाले खेलकुद विकास, विपत व्यवस्थापनमा ठोस सहयोग पुर्‍याउन अनुदान तथा आर्थिक सहायता निर्देशिका पारित गरेको छ । निर्माण व्यवसाय नियमन गर्ने निर्देशिका तयार गरिएको छ भने उपभोक्ता हकहितका लागि बजार अनुगमन निर्देशिका पनि नगरसभाले पारित गरेको उनले बताए । नगर सफाइ तथा व्यवस्थित सहर विकासका लागि फोहोरमैला व्यवस्थापन र जग्गा प्लटिङसम्बन्धी कार्यविधि पारित गरेको छ । नगरसभाले पारित गरेको शिक्षा नियमावलीमा व्यवस्था भएअनुसार सूर्यविनायक नगरपालिकाले शैक्षिक सत्र २०७५ देखि नगरभित्रका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास कक्षादेखि तीन कक्षासम्म अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था छ । शैक्षिक सत्र २०७८ भित्र कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरेको जनाएको छ ।
भवनहरूलाई भूकम्प प्रतिरोधात्मक प्रविधियुक्त र भरपर्दो सुरक्षित निर्माणका लागि बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी सडकको क्षेत्राधिकारसहितको आधारभूत निर्माण मापदण्ड २०७२ लागू गरिएको थापाले बताए ।
नगरपालिकाको कार्यक्षेत्रभित्र परेका विभिन्न कार्य कानुनबमोजिम कार्यान्वयनमा सहयोग पुर्‍याउन र सहरी वातावरण व्यवस्थापन गर्न नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ । संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएबमोजिम उपप्रमुख जुना बस्नेतको संयोजकत्वमा विनय महत र राजु लुबञ्जार श्रेष्ठ रहने गरी न्यायिक समितिसमेत गठन गरेको जनाएको छ ।

प्रकाशित : पुस २९, २०७४ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT