१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘सरकार जसको पनि बन्न सक्छ’

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले भावी सरकार एमालेबाहेक राजनीतिक दलको पनि बन्न सक्ने बताएका छन् । भावी सरकार यही दलको बन्छ भनेर अहिल्यै भन्न नसकिने उनले जनाए । 

‘सरकार जसको पनि बन्न सक्छ’

चुनावपछि पहिलोपटक गृहक्षेत्र आएका प्रधानमन्त्री देउवाले धनगढी विमानस्थलमा भने, ‘नेपालमा जे पनि हुन सक्छ म यस विषयमा धेरै भन्न सक्दिनँ ।’ उनी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शनिबार महेन्द्रनगरमा हुने दीक्षान्तमा सहभागी हुन आएका हुन् । राष्ट्रिय सभा निर्वाचनपछि मात्र आफूले सत्ता हस्तान्तरण गर्ने सोच बनाएको देउवाले बताए । भने, ‘आफू राजीनामा दिन तयार भए पनि राष्ट्रिय सभाको निर्वाचन यही सरकारले गराउनुपर्ने भएकाले चुनावपछि मात्र सत्ता हस्तान्तरण गर्ने तयारी छ ।’

प्रदेशसभा प्रमुख र अस्थायी राजधानीका विषयमा प्रधानमन्त्रीले राष्ट्रिय हैसियतप्राप्त दलसँग पटक–पटक छलफल गरे पनि सहमति नहुँदा अहिलेसम्म तोक्न नसकेको प्रधानमन्त्रीले बताए । ‘सरकारले सहमति गर्न खोजे पनि अन्य दलले नमान्दा समस्या सिर्जना भएको हो,’ देउवाले भने, ‘राजधानी फर्केर पुन: सहमतिको प्रयास गर्छु, सहमति नभए यही सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेछ ।’ धनगढी–अत्तरिया–मोहना ६ लेन सडकको काम अदालतको आदेशकै कारण रोकिएको विषयमा उनले विकास निर्माणमा कसैले पनि अवरोध गर्न नहुने बताए । भने, ‘अदालतले आफ्नो काम गर्छ विकास निर्माणको क्रम भने रोकिँदैन ।’

प्रकाशित : पुस २९, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?