कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घटेन चिसो

कठ्यांग्रिएर रौतहट, सप्तरी र धनुषामा थप ११ को मृत्यु
कान्तिपुर टिम

काठमाडौँ — पछिल्ला दुई दिनमा रौतहटमा जाडोले कठ्यांग्रिएर थप पाँच जनाको मृत्यु भएको छ । माधवनारायण–४ बिसुनपूर्वा निवासी विक्रम राय यादवकी एक वर्षीया छोरी रेखाकुमारी, कटहरिया नगरपालिका–६ बस्दै आएकी धुपलीदेवी साह, बौधीमाई नगरपालिका–९ अजगैबीका ५५ वर्षीय रामचन्द्र साह, गढीमाई नगरपालिका–९ धरमपुरका ७४ वर्षीय रामवृक्ष साह र सोही नगरपालिका–७ धनाडीका ६५ वर्षीय भिक्षु ठाकुरले ज्यान गएको हो ।

घटेन चिसो

यी पाँचैजनाको कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामकुमार दानीले जानकारी दिए । योसहित दुई सातायता जिल्लामा चिसोकै कारण १६ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश बाढीले घरबारविहीन बनेकाहरू छन् । ‘बाढीले घरबारविहीन बनेकाहरू जाडोको मारमा परेका हुन्,’ डीएसपी दानीले भने, ‘बाढीले दिएको पीडाबाट सम्हालिन नपाउँदै उनीहरू जाडोको सिकार बन्न बाध्य भए ।’

जाडोले सबैभन्दा बढी दलित समुदाय मारमा परेको गौर–९ सिरिसियाकी मोहरमतीदेवी पासवानले बताइन् । ‘सबै विपत् हामीमाथि नै आइलागेको छ,’ उनले भनिन्, ‘बाढीले सबै बगायो । एक जोर कपडासमेत बचेन । अहिले जाडोले कामिरहेका छौं ।’ अहिलेसम्म कतैबाट राहत पाउन नसकेको उनको गुनासो छ । शुक्रबार दिनभरि पनि यहाँ शीतलहर हटेन । चिसोकै कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।

यसैबीच प्रशासनले जाडोकै कारण ज्यान गुमाउनेका परिवारलाई १ लाख रुपैयाँ राहत दिने भएको छ । केन्द्रकै निर्णयमा पीडित परिवारलाई उक्त रकम दिन लागिएको निमित्त प्रजिअ गणेश अधिकारीले जानकारी दिए । बाढीपीडितलाई तत्कालीन राहत स्वरूप २५ हजार रुपैयाँका दरले उपलब्ध गराउने गरी केन्द्रले परिपत्र गरेको पनि उनले बताए ।

‘पीडितलाई जोगाउन हामी गम्भीर छौं,’ उनले भने, ‘न्यानो कपडा गाउँमा पुर्‍याउने काम भइरहेको छ ।’ शुक्रबार जिल्लाका १८ वटै स्थानीय तहलाई १ सय ५५ वटाका

दरले ज्याकेट पठाइएको र केन्द्रबाट थप २ हजार ८ सय थान ज्याकेट आउने अधिकारीले जानकारी दिए ।

रोकिएन शीतलहर

सप्तरीमा बिहीबार र शुक्रबार गरी थप पाँच जनाको चिसोकै कारण मृत्यु भयो । ज्यान गुमाउनेमा सुनसरीको इनरुवा–१ घर भएका ४० वर्षे ढुण्डीराज पोखरेल, तिलाठी कोइलाडी–४ की ७० वर्षीया श्यामादेवी सिंह, छिन्नमस्ता–२ की ५२ वर्षीया सरोदेवी मुखिया, सोही स्थानकी ७० वर्षीया सरस्वतीदेवी साह र हनुमाननगर कंकालिनी–१ की ६० वर्षीया शान्तिदेवी यादव छन् ।

पोखरेल शुक्रबार बिहान हनुमाननगर कंकालिनी–१ कोसी ब्यारेजमा जाडोले कठ्यांग्रिएर मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । बिहीबार साँझसम्म स्वस्थै रहेकी सिंह पनि बिहान मृत फेला परेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले बताए । बाँकी तीनको पनि कठ्यांग्रिएरै ज्यान गएको प्रहरी निरीक्षक भण्डारीले जनाए ।

योसहित जिल्लामा चिसोले ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । शुक्रबार केहीबेर मधुरो घाम लागे पनि चिसो हावा चल्ने क्रम नरोकिएकाले शीतलहरको प्रभाव कायमै रह्यो । प्रजिख भागीरथ पाण्डेले जनचेतना अभावमा जाडोका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको बताए । घरमा भएका लुगा पनि नलगाउने, पातलो लुगा लगाएर चिसो हावामा बाहिर निस्कने गरेकाले पनि जाडोको चपेटामा पर्ने गरेको उनले जनाए । ्

जाडोबाट जोगिन जनचेतना जगाउनका लागि स्थानीय तहका प्रतिनिधहिरूलाई आग्रह गरिँदा उनीहरूले वास्ता नगरेको पाण्डेको गुनासो छ । ‘विपन्न बस्तीमा दैनिक न्यानो कपडा वितरण जारी छ,’ उनले भने, ‘विभिन्न संघसंस्थाको सहयोगमा हालसम्म १० हजार थान ब्लाङकेट बाँडिसकिएको छ ।’ मौसममा सुधार नभएपछि मानिससँगै पशु चौपायाको पनि बिजोग भएको छ । ‘एक सातादेखि गाईबस्तु चराउन लग्न सकिएको छैन,’ तिलाठी कोइलाडी–८ का शिवकुमार मण्डलले भने, ‘गोठमै थन्किएका छन्, चिसो हावाका कारण बाहिर निस्कने अवस्था छैन ।’ राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा चिसोका बिरामीको चाप बढेको छ । दैनिक १५ जना भन्दा बढी चिसोका बिरामी आउने गरेको अञ्चल अस्पतालले जनाएको छ । बिरामी पर्नेमा बालबालिका बढी छन् ।

छैन ठोस योजना

धनुषामा पनि जाडोले कठ्यांग्रिएर थप एकको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–९ नौसयबिघाकी २२ वर्षीया मञ्जु यादवका चार महिने छोराको मृत्यु भएको हो । बालकलाई आमाले पिठ्युँमा बोकेर धारापानीबाट नौसयबिघा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

तीन सातादेखि जारी शीतलहर, हुस्सु र पश्चिमी हावाका कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गए पनि सरोकारवाला निकायले ठोस योजना अघि सार्न सकेका छैनन् । केही गाउँपालिका र नपाले पीडितहरूका बस्तीछेउ घुर बाल्ने व्यवस्थासम्म गरेका छन् । आगो ताप्ने क्रममा जीउमा सल्किँदा बिहीबार कमला नपा–३ की ६० वर्षीया मनोरिया देवी साह तथा हंसपुर नपा–८ की २३ वर्षीया सुजान महरा घाइते भएका छन् । उनीहरूलाई जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको छ । एसपी सिंहका अनुसार सुजानको अवस्था चिन्ताजनक छ ।

चिसोका कारण बजार सुनसान छन् । चार दिनदेखि जनकपुर हवाई अडामा कुनै पनि विमान अवतरण गरेका छैनन् । हवाई अड्डास्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड अफिस जनकपुरका अनुसार एक सातायता यहाँको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री तथा अधिकतम १५ डिग्री सेल्सियसको बीचमा रेकर्ड गरिएको छ ।

प्रकाशित : पुस २९, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?