२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

फेरिँदै जीवनशैली

डीआर पन्त

धनगढी — कैलालीको गोप्का गाउँको नाम धेरैले सुनेका पनि थिएनन् । यो दुर्गम गाउँ अहिले च्याउ खरिद गर्ने, च्याउ खेतीका विषयमा जानकारी लिने र अवलोकन गर्न आउने/जानेका कारण चर्चामा छ । गाउँलाई कृषक तपराज भट्टले चर्चामा ल्याएका हुन् । दैनिक २० केजीसम्म गोब्रे च्याउ बिक्री गर्ने भट्टले दैनिक १० हजार बढी कमाइ पनि गरिरहेका छन् ।

फेरिँदै जीवनशैली

उनले गोब्रे च्याउ खेती गर्न थालेको ३ वर्ष मात्र भयो । यसअघि उनी साधारण च्याउ खेती गर्थे । बारीमा बनाइएको टनेलमा लटरम्म फलेका भेडे खुर्सानी । छेउमै इँटाको पर्खाल र खरको छाना भएको अर्को घरभित्र बनाइएका ठूला र्‍याकहरूमा डल्लो आकारमा देखिने गोब्रे च्याउ उमारिएको दृश्यले यहाँ पुग्ने जो कोहीलाई च्याउले लोभ्याउँछ । भारतबाट प्याकिङ भएर कैलाली र कञ्चनपुरका बजारमा आयात हुने गोब्रे च्याउ अहिले भट्टले बिक्री गरिरहेका छन् । भारतबाट आयात हुने च्याउको तुलनामा यो गुणस्तरीय र स्वादिलो रहेको होटल व्यवसायी सुरेन्द्र बम बताउँछन् । बमले भने, ‘महिनौंअघि उत्पादन गरी प्याकिङ गरिएको च्याउभन्दा यो निकै गुणस्तरीय छ ।’ दैनिक च्याउ खरिद गर्न ठूलो संख्यामा होटेल सञ्चालकहरू यहाँ पुग्छन् । सुरुमा धनगढी र अत्तरियाको बजारमा च्याउ बिक्री गर्न जाने भट्टले अहिले घरमै बिक्री केन्द्र बनाएका छन् ।

‘सुरु–सुरुमा गाउँलेले विश्वासै गर्दैन्थे,’ भट्टले भने, ‘अहिले देखासिखीमै धेरैले यो खेती सुरु गरेका छन् ।’ रोजगारीका लागि तेस्रो मुलुक गएर फर्किएका धेरै युवा अहिले च्याउ खेतीतर्फ आकर्षित भएको भट्ट बताउँछन् । ‘प्रविधिसँग परिचित हुने र परिश्रम गर्ने हो भने यहीं धेरै कमाउन सकिन्छ,’ उनले भने, ‘गोब्रे च्याउ साधारणभन्दा दोब्बर महँगो पनि हुन्छ र परिश्रम पनि धेरै गर्नुपर्छ । श्रम गर्नेका लागि यहीं कोरिया र अस्ट्रेलिया हो ।’

गोब्रे च्याउ उत्पादनका लागि १४ देखि १८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । गहुँको छ्वाली र चामलको ढुटोमा जंगलको माटो मिश्रण गरी ३० दिन सड्ने गरी मल तयार गर्नुपर्ने र यसरी तयार भएको मललाई घरभित्र तयार पारिएको र्‍याकमा राख्नुपर्छ । मल फिजाएर राखिसकेपछि त्यसमा च्याउको बीउ छर्नुपर्ने भट्टले सुनाए । गत वर्ष ४ सय रुपैयाँ प्रतिकेजीका दरले १८ क्विन्टल गोब्रे च्याउ बिक्री गरेका भट्टले यस वर्ष ३ महिनामै १८ क्विन्टल बिक्री गरिसकेका छन् । ‘यस वर्ष च्याउको मूल्य पनि वृद्धि भएको छ,’ भट्टले भने, ‘घरमै बिक्री गरिरहेकाले मैलै गत वर्षकै मूल्यमा बेचिरहेको छु ।’ बजार मूल्य भने गत वर्षभन्दा सय रुपैयाँ बढेको पनि उनले जानकारी दिए । घरमै च्याउ खरिद गर्न आउने भएकाले आफूलाई बजारको पनि समस्या नभएको उनी सुनाउँछन् ।

भट्टले च्याउ खेतीमा अन्यलाई पनि रोजगारी दिएका छन् । ‘३ जना त नियमित रोजगारीमै छन्,’ उनले भने, ‘मबाट खरिद गरी बजारमा लगेर बिक्री गर्ने पनि धेरै छन् ।’ उनले भारतको उत्तराखण्डस्थित गोविन्दबल्लभ विश्वविद्यालयमा ४५ दिने च्याउ खेतीसम्बन्धी प्रशिक्षण लिएपछि ६ वर्ष अघिदेखि व्यावसायिक रूपमा खेती थालेका हुन् । पछि उनले जिल्ला कृषि विकास कार्यालयबाट २ लाख रुपैयाँ अनुदानसमेत लिई खेतीमै लगाएका छन् ।

उनीबाट च्याउ खेतीका विषयमा जानकारी लिई अहिले यो क्षेत्रमा अन्य कृषक पनि संलग्न भएका छन् । गोदावरी नगरपालिका बल्मीका खुसीराम चौधरी र धनगढीकी पार्वती गिरी पनि भट्टबाटै सिकेर अहिले अगुवा च्याउ कृषक बनेका छन् । यसरी च्याउ खेती गर्ने कृषकलाइ जिल्ला कृषि विकास कार्यालयले पनि सहयोग गरिरहेको छ । ‘कार्यालयले प्राविधिक तथा आर्थिक अनुदान दिएर च्याउ कृषकलाई सहयोग गरिरहेको छ,’ वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले भने, ‘अहिले जिल्लामा डेढ दर्जन बढी व्यावसायिक च्याउ खेती गर्ने कृषक छन् ।’ नगद आम्दानी हुने खेती भएकाले पनि कृषकहरू यसतर्फ आकर्षित भएको जोशी बताउँछन् । केही वर्षभित्रै भारतबाट आउने च्याउ विस्थापित गर्ने गरी कृषि विकास कार्यालयले च्याउ खेती गर्ने कृषकलाई सहयोग गरिरहेको पनि उनले बताए ।

प्रकाशित : पुस ३०, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?