बादी बस्ती शौचालयविहीन

आर्थिक समस्याले शौचालय बनेनन्
हरि गौतम

रुकुम (पश्चिम) — आठबिसकोट नगरपालिका ९, राडीकी तारा बादी २ वर्षयता शौचालयमा शौच गरेकी छैनिन् । न उनको परिवारका अन्य सदस्यले नै शौचालयमा शौच गर्न पाएका छन् । ताराको परिवार सबैले शौच गर्नै भनेकै नजिकै बगिरहेको ठूलीभेरी हो ।

बादी बस्ती शौचालयविहीन

२०७२ यता ताराको परिवार मात्रै होइन बादी बस्तीका ११ परिवारको दिसापिसाब गर्ने थलो ठूलीभेरी नदी बनेको छ । बस्तीनजिकै रहेको नदीमा यहाँका बादी परिवार शौच गर्दै आएका छन् । ठूलीभेरी नदीलाई उनीहरूले दिसापिसाब गर्ने ठाउँसँगै कपडा धुने, नुहाउने र सोही ठाउँबाट पानी भरेर पिउन पनि प्रयोग गरिरहेका छन् । यसरी खानेपानीमै दिसापिसाब गर्नु उनीहरूको बाध्यता हो । भवन डिभिजन कार्यालय रोल्पाबाट जनता आवासमार्फत घर निर्माण भएपछि त्यस बस्तीमा बस्न थालेका बादी समुदाय शौचालय नहुँदा खानेपानीमै शौच गर्न बाध्य छन् । उक्त बस्ती बसेदेखि नै त्यहाँ एउटा पनि शौचालय बन्न सकेको छैन । बस्तीमा ४५ परिवारको बसोबास छ ।

घरजग्गा नभएपछि साविकको आठविसकोट गाविसको जग्गामा बसेका उनीहरूलाई गाविसले हटाएपछि जनता आवासमार्फत निर्माण भएको उक्त बस्तीमा सरेका थिए । आव ०७०/७१ मा तत्कालिन संविधान सभाका सदस्य दलजीत श्रीपालीको संसद् विकास कोषको १० लाख रुपैयाँबाट सुकुम्बासी बादीका लागि घर निर्माण गर्न जग्गा खरिद गरिएको थियो । १२ सय वर्गमिटर जग्गा खरिद गरी बादी परिवारका लागि घर बनाइए पनि शौचालय भने अझै बनेका छैनन् । भवन डिभिजन कार्यालय रोल्पाले १५ घर सुकुमबासी बादी परिवारका लागि १५ घर निर्माणको योजना अघि सारेको थियो । उक्त योजनाअन्तर्गत १० घर निर्माण भएका छन् जुन शौचालयबिनाका हुन् । सोही योजनामा घरसहित शौचालय नबन्दा समस्या परिरहेको तारा बताउँछिन् । ‘हामी सकुम्बासीका लागि घर त बनेका छन्, तर शौचालय नहुँदा भेरीमै शौच गर्ने र भेरीकै पानी खाने गरिरहेका छौं,’ उनले भनिन् । लालपुर्जासहितको जग्गामा घर पाइए पनि आर्थिक अभावका कारण शौचालय निर्माण गर्न नसकेको उनको गुनासो छ ।

‘पहिलो कुरा त हामीसँग शौचालय बनाउने पैसै छैन,’ उनले भनिन्, ‘मागेर, माछा मारेर जीविकोपार्जन गर्ने जात हामीसँग शौचालय बनाउने पैसा कताबाट आउला ?’ शौचालय अभावमा भेरीकिनारमा शौचका लागि बस्न निकै अठ्यारो भए पनि बाध्यताले थिचिरहेको विपना बादीले सुनाइन् । ‘अर्को उपाय छैन, पारि जाजरकोटको सडकबाट शौच गर्न बसेको छर्लंगै देखिन्छ,’ उनले भनिन्, ‘लाज मानेर के गर्नु दिसापिसाब नगरी पनि भएन ।’ मादल, सुल्पा बिक्री भए, माछा मार्न सकिएपछि मात्रै हातमुख जोड्ने समुदायको हैसियत आफै शौचालय बनाउने नभएको उनले सुनाइन् । ‘विहान के खाउँ र बेलुका के खाउँ भन्ने अवस्थाका हामीले कसरी शौचालय बनाउन सक्नु ?’ उनले थपिन् । बस्तीका लागि एउटा मात्रै शौचालय भए पनि सजिलो हुने अवस्था रहेको स्थानीय शिक्षक तेजबहादुर मल्ल बताउँछन् । घरघरै नभए पनि सबैले प्रयोग गर्ने गरी शौचालय बनाउन सके बादी समुदायका लागि सहज हुने उनले सुनाए । २०७१ पुस २१ मा साविकको रुकुम जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । १८औं जिल्लाको रुपमा खुला दिसामुक्त भएको

रुकुमको यो बादी बस्ती नै २ बर्षदेखि शौचालयविहिन छ ।

आठबिसकोट नगरपालिकाले भने ‘समृद्ध सहरको रहर, स्वच्छ, सफा र शान्त आठविसकोट नगर’ अभियानअन्तर्गत यो बादी बस्तीको समस्या पनि समाधान हुने जनाएको छ । नगर प्रमुख गोर्खबहादुर केसीले उक्त बस्तीमा सुरुमा २ शौचालय निर्माण गर्ने योजना बनाइएको बताए । ‘केही समयमै त्यो काम सुरु हुन्छ,’ उनले भने ।

प्रकाशित : पुस ३०, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?