प्रदेश सांसदमा मुसहर

भरत जर्घामगर

सिमलटोकी (सिरहा) — सामान्य अक्षर मात्र खुट््याउन सक्ने ३९ वर्षीया फुलियादेवी सदाय मुसहरले राजनीतिमा लाग्ने कल्पनासमेत गरेकी थिइनन् । तर, जतिबेला ‘जनयुद्ध’ सुरु भयो, तिनै फुलियाको परिवार प्रत्यक्ष रूपमा जोडिन बाध्य भयो । पार्टीमा लागेका पति महेन्द्रको २०६२ मा मृत्यु भएपछि उनी राजनीतिसँग जोडिइन् । र, कल्पनासम्म नगरेको समानुपातिकतर्फबाट दलित मुसहर समुदायबाट महिला प्रदेशसभा सदस्य भइन् ।

प्रदेश सांसदमा मुसहर

सिरहा डुमरीकी फुलियादेवी प्रदेश सांसद भएसँगै खुसी हुनु स्वाभाविक हो । ‘सुरुमा विश्वासै भएन,’ उनी भन्छिन्, ‘पार्टीको जिम्मेवारी तोकेको छ ।’ माओवादी जनयुद्ध सुरु भएपछि उनका पति भूमिगत भए । एसएलसी उत्तीर्ण महेन्द्र गाउँघर ट्युबवेल गाड्ने मिस्त्री थिए । स्थानीय लालीगुराँस क्लबमार्फत जनचेतनामूलक सडक नाटकका कलाकार पनि थिए । उनका २ छोरी, १ छोरा छन् ।

क्षेत्रीय इन्चार्ज हुँदै कम्पनी कमिसार भएका महेन्द्र सिरहा तेनुवापट्टी शिवनगरमा बम बनाउने क्रममा विस्फोटमा परेका थिए । त्यहाँ उनीसँगै कचनारीका शिवकुमार यादव, अमहीका राजेन्द्र महतो, मथियाहीका रुदल महतोसहित ५ जनाको मृत्यु भएको थियो । ‘धेरै दु:ख कष्ट सहें, पतिको मृत्युपछि कठोर भएछु,’ उनले भनिन्, ‘पार्टीको कार्यक्रममा पनि नियमित जान थालें ।’

सांसदमा सिफारिस भएपछि उनको घर र गाउँमा पनि चहलपहल बढेको छ । जनयुद्धमा महेन्द्रका दौंतरी बर्छवाका रामविलास सदाय मुसहर, रामप्रताप महरालगायत कार्यकर्ता पनि फुलियाकै घरमा भेटिए । ‘चुनाव आएपछि समानुपातिकमा नाम सिफारिस भयो,’ उनले भनिन्, ‘सांसद हुन्छु भन्ने सोचेकी थिइनँ तर पार्टीले सहिद परिवारको सम्मान गरेको छ ।’

९० प्रतिशत भूमिहीन सुकुम्बासी दलितमध्ये पनि अति पिछडिएको समुदायमा मुसहर पर्छ । २०६८ को जनगणनाअनुसार मुसहर समुदायको जनसंख्या २ लाख ३४ हजार ४ सय ९० छ । तीमध्ये सिरहामा ३९ हजार ९ सय २९ मुसहर समुदायको बसोबास छ । उनले मुसहर समुदायको बासका लागि थातथलो तथा आवास व्यवस्था मिलाउने बताइन् ।

प्रकाशित : पुस ३०, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?