कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

रगत संकलन अभियान

काठमाडौँ — एक वर्षमा १० हजार पोका रगत गर्ने अभियानमा जुटेको एक समूहले डेड सय दिनमा २६ सय ७० युनिट रगत संकलन गरेको छ । २०७० को वैशाख १२ को भूकम्पमा परी दिवंगत भएकी नेपाल रक्तसञ्चार केन्द्रकी कर्मचारी सानुमाया कपालीको सम्झनामा अभियान उनका पति धननारायण कपालीले सुरु गरेका हुन् ।

रगत संकलन अभियान

भूकम्प जाँदा सानुमाया काष्ठमण्डपमा नियमित रक्तदान कार्यक्रममा रगत संकलन गर्न व्यस्त थिइन् । सोही भूकम्पमा परी उनीलगायत दर्जनौंले ज्यान गएको थियो ।

३ सय ६५ दिनमा १० हजार युनिट रगत संकलन गर्ने अभियानको शनिबार एक सय ५० औं दिन हो । अहिलेसम्म अभियानका क्रममा २६ सय ७० युनिट रगत संकलन गरी भक्तपुर रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिसकिएको छ । उपत्यकामा मात्र दैनिक ५ सयदेखि ६ सय पोका रगत माग रहिआएको छ । तर, रक्त सञ्चारको मुख्य केन्द्र बालकुमारीले दैनिक एक सय ५० देखि २ सय, ललितपुर केन्द्रले ३० देखि ३५ र भक्तपुर केन्द्रले एक सय ५० पोकाको मात्रै माग पूरा गर्न सकिरहेका छन्,’ नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका जनसम्पर्क अधिकृत सन्देश थापाले भने ।

झन्, शुक्रबार र शनिबार त अन्य दिनभन्दा तीन सयदेखि ५ सय पोका रगतको माग हुने गरेको उनले बताए । किड्नी, क्यान्सर, प्रसूति र कुनै पनि शल्यक्रिया गर्दा नभई नहुने रगतको आवश्यकता दिन प्रतिदिन बढ्दो छ । मुलुकभर भएको जनसंख्याको दुई प्रतिशतले मात्र नियमित रूपमा रक्तदान गरे नेपालमा सहजरूपमा आवश्यकताअनुसारको रगत पूर्ति हुन्छ । रगत दिन आउनेमा महिलाभन्दा पुरुषको संख्या बढी छ । अभियानमा १९ सय जतिले पहिलोपटक रक्तदान गरेका छन् ।

कपालीले सुरु अभियानमा राजीव महर्जन, संगीता श्रेष्ठ, कुमार रञ्जित, ओम कपालीलगायतले नियमित सहयोग गरेका छन् । उनीहरूले सानुमाया कपाली स्मृति प्रतिष्ठान नामक संस्थामार्फत अभियान सञ्चालन गरेका हुन् ।

प्रकाशित : पुस ३०, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?