माघीमा छोरीको प्रतीक्षा

कमल पन्थी

गुलरिया — १३ वर्षअघि ठाकुरद्वारा नगरपालिका ९ वनकट्टीकी भर्थनी थारूले छोरीलाई कमलरी (घरेलु कामदार) का रूपमा ‘मालिक’ को जिम्मा लगाएकी थिइन् । राजधानी पुर्‍याइएकी छोरी आसरानी त्यसपछि घरै फर्किनन् । माघी आउँदा भर्थनीलाई छोरीको सम्झनाले सताउँछ । मनमा कतै छोरी घर आइहाल्छेकी भन्ने लागिरहन्छ ।

बर्दिया ठाकुरद्वारा—५ की आसरानी थारूका बुवाआमा  र सम्पर्कविहीन छोरीको तस्बिर देखाउँदै कैलालीको चौमला–४ की दृष्टिविहीन बजारी थारू ।  

छोरी आसरानीलाई सम्झेर आमा बेला–बेला भक्कानो छाड्छिन् । ‘मेरी छोरी कहाँ होलिन् । धेरै माघी बिते, तर खबर पत्तो केही आएन,’ भर्थनीले भनिन् । छोरी लाने मालिकसँग पटक–पटक सम्पर्क गर्दा ‘तिम्रो छोरीले विवाह गरिन्, अहिले कहँ छिन् हामीलाई पनि थाहा छैन,’ भन्ने जवाफ पाउँछिन् । छोरीलाई गाउँकै विजय शाहले आफ्नी दिदीको घरमा काम लगाउन मासिक ५ सय रुपैयाँ तलब दिने सर्तमा लगेको उनले बताइन् ।
यसरी लैजाँदा आसरानी ६ वर्षकी मात्र थिइन् । छोरीको खोजी गर्न काठमाडौंसम्मै पुगिन्, आमा भर्थनी । प्रहरी कार्यालयमा उजुरी दिइन् । तर प्रहरीले पनि पत्ता लगाउन सकेन । ‘माघी आउँदा छोरीको सम्झना आउँछ,’ उनले भनिन्, ‘छोरी जिउँदै भए जस्तो लाग्छ, सरकारले खोजी गरिदिनुपर्‍यो ।’

Yamaha

करिब ११ वर्षअघि बारबर्दिया—१० शोभानगरकी तुलारानी थारूलाई पनि आफन्तले घरेलु कामदारका रूपमा गुलरियास्थित सम्झना होटलमा राखिदिएका थिए । उनको अवस्था पनि अज्ञात छ । आमा गुलियाले काठमाडौं पुगेको आशंकामा त्यता धेरै धाइन् । ‘अहिले त छोरी खोज्न काठमाडौं जान सक्दिनँ, उमेर ढल्कँदै गयो,’ उनले दु:खेसो पोखिन् । होटल धनीले सर्पले डसेर तुलारानीको मृत्यु भएको जानकारी गराएका थिए । ‘मरेको भए लास त दिनुपर्ने थियो,’ आमा गुलियाले भनिन्, ‘तर दिएनन् ।’
यस्तै ०५९ को माघी सकिएलगत्तै कैलालीको चौमाला ४ राजीपुरकी आशा चौधरीलाई आफन्त सीता थारूले धनगढीका एकजना साहूको जिम्मा लगाएकी थिइन् । आशा सम्पर्कविहीन भएको पनि १५ वर्ष पुग्यो । आमा बजारी छोरीको प्रतीक्षा गर्दागर्दै दृष्टिविहीन भइसकिन् ।
‘छोरी कहाँ छिन् भन्दा साहूले घरबाट भागेर गएको बताउँछन्,’ उनले भनिन्, ‘गरिब र असहाय भएका कारण प्रहरी प्रशासनमा गएर मुद्दा दिन पनि सकेकी छैन ।’ बर्दियामा दुई र कैलालीमा एक गरी तीनजना कमलरीको खोजी गरिदिन उनीहरूका आफन्तले मानव अधिकारकर्मी र विभिन्न संघसंस्थासँग आग्रह गरेका छन् ।
विगतमा माघी (संक्रान्ति) मान्न घर आउँदा अरूको झैं आफ्नी छोरीले पनि वर्षभरिको कमाइ ल्याउली र परिवारका सबैसँग वर्षको सबैभन्दा ठूलो पर्व मनाउ‘ला भन्ने आशा गर्ने धेरै थिए । तर ०७० असार १३ गते कमलरी मुक्त घोषणा भएपछि यो प्रथा बन्द भएको छ । कमलरी क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका नायफ संस्थाका क्षेत्रीय प्रबन्धक एवं कानुन व्यवसायी फक्ला थारूले बेपत्ताको खोजीका लागि नि:शुल्क कानुनी सेवा दिने बताए ।

प्रकाशित : पुस ३०, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चिसोले थप २ को मृत्यु

कान्तिपुर संवाददाता

राजविराज — दुई सातादेखि बढेको चिसो र शीतलहरले शनिबार सप्तरीमा दुईवर्षे बालकसहित थप २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका डीएसपी धु्रवकुमार श्रेष्ठका अनुसार शनिबार रूपनी गाउँपालिका ८ रायपुरका २ वर्षीय बालक शिवम पासवानको चिसोका कारण मृत्यु भएको हो ।

यस्तै डाकनेश्वरी नगरपालिका ८ की सुगावतीदेवी सरदारको जाडोका कारण कठ्यांग्रिएर मृत्यु भएको श्रेष्ठले बताए । यो समेत जिल्लामा पछिल्लो २ सातामा चिसोले मर्नेको संख्या २७ पुगेको छ ।
यस्तै चिसोले गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पालभित्रको पोषण पुन:स्थापना गृहमा रहेका बालबालिकामा कोल्ड डायरिया भएको छ । कुपोषित बालबालिका निको भएर घर जाने स्थितिमा रहेका बेला चिसो लागेर सबै बालबालिका डायरियाबाट प्रभावित भएका हुन् । बिरामी बालबालिकाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
पर्याप्त ओढ्नेको अभावमा पोषण पुन:स्थापना गृहमा रहेका बालबालिका र तिनका कुरुवा थरथर काम्दै दिनरात बिताउन बाध्य छन् । उक्त पोषण गृहमा विपन्न समुदायका कुपोषित बालबालिकाको उपचार हुँदै आएको छ । पोषण गृहमा अहिले सातजना बालबालिका र तिनका सातजना कुरुवा छन् । गृहकी प्रबन्धक रश्मी झाका अनुसार सिरक पातलो भएकाले गृहमा रहेका बालबालिका र कुरुवालाईजाडो छल्न मुस्किल भइरहेको छ । ‘यहाँ रहेका सिरक र कम्बल पातला छन्, जसले जाडो छल्न सकिने अवस्था छैन,’ प्रबन्धक झाले भने, ‘अहिले चलिरहेको शीतलहरबाट जोगाउन तत्कालै ओढ्ने व्यवस्था गर्नु जरुरी छ ।’ केही दिनयता तराईमा चिसो र शीतलहरले जनजीवनप्रभावित भएको छ ।

प्रकाशित : पुस ३०, २०७४ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT