२ सय ८२ दीक्षित

कान्तिपुर संवाददाता

कञ्चनपुर — सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार स्नातक र स्नातकोत्तरका विभिन्न संकायका २ सय ८२ विद्यार्थीलाई दीक्षित गरेका छन् । उक्त अवसरमा वरिष्ठ आँखा विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरियो । 

पहिलो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले विश्वविद्यालय स्थापनाका लागि सुदूरपश्चिमवासीले गरेको पहल महत्त्वपूर्ण रहेको र अब गुणस्तरीय, नैतिकवान एवं योग्य जनशक्ति उत्पादन पहिलो लक्ष्य हुनुपर्ने बताए । ‘विश्वविद्यालयको शैक्षिक र अनुसन्धानात्मक गतिविधिको स्तरोन्नतिमा लाग्न म सबै पक्षसँग आग्रह गर्छु,’ उनले भने ।
दीक्षान्त समारोह अघि बसेको विश्वविद्यालय सिनेटको बैठकले १५ वटा क्याम्पसलाई सरकारी सुविधासहित आंगिक बनाउने निर्णय गरेको छ । ‘थप ६ क्याम्पसलाई पनि आंगिक बनाउने तयारी छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यसबारे छिट्टै मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’ आंगिक क्याम्पस थपिँदै गएपछि विश्वविद्यालयको दायरा फराकिलो हुँदै जाने उनले बताए । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्राकृतिक र विविध पहिचानले भरिपूर्ण यस क्षेत्रमा विश्वविद्यालयसमेत विशिष्ट पहिचान स्थापित गर्न सफल हुने बताए । विश्वविद्यालयले आफ्ना नियमित शैक्षिक र प्रशासनिक गतिविधिका अतिरिक्त आवश्यक स्रोतको पहिचान गरी अध्ययन गर्नुपर्ने उनले बताए । समारोहमा उपकुलपति भूषण श्रेष्ठले विश्वविद्यालयका शैक्षिक र भौतिक संरचना निर्माणको गतिविधि प्रस्तुत गरेकी थिइन् ।
दीक्षान्त पदक प्रदान
पहिलो दीक्षान्त समारोहमा विभिन्न संकायका परीक्षामा सबैभन्दा बढी अंक ल्याएर उत्कृष्टता हासिल गर्ने २ छात्रालाई भाइस चान्सलर पदक र २ छात्रलाई चान्सलर पदक प्रदान गरिएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री देउवाले उनीहरूलाइ पदक प्रदान गरी सम्मान गरे ।
भाइस चान्सलर पदक पाउनेमा स्नातक बीबीएतर्फ ३.९५ अंक ल्याउने प्रतिभा भट्ट र स्नातकोत्तर टीईएसओएलतर्फ३.४३ अंक ल्याउने जानकीकुमारी विष्ट छन् । यसैगरी
चान्सलर पदक प्राप्त गर्नेमा बीबीएतर्फ ३.९९ अंक प्राप्तगर्ने नीरज थापा र स्नातकोत्तर सीपीएलतर्फ ३.६५ अंकल्याउने विष्णुदत्त भट्ट छन् ।

प्रकाशित : पुस ३०, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

माघीमा छोरीको प्रतीक्षा

कमल पन्थी

गुलरिया — १३ वर्षअघि ठाकुरद्वारा नगरपालिका ९ वनकट्टीकी भर्थनी थारूले छोरीलाई कमलरी (घरेलु कामदार) का रूपमा ‘मालिक’ को जिम्मा लगाएकी थिइन् । राजधानी पुर्‍याइएकी छोरी आसरानी त्यसपछि घरै फर्किनन् । माघी आउँदा भर्थनीलाई छोरीको सम्झनाले सताउँछ । मनमा कतै छोरी घर आइहाल्छेकी भन्ने लागिरहन्छ ।

बर्दिया ठाकुरद्वारा—५ की आसरानी थारूका बुवाआमा  र सम्पर्कविहीन छोरीको तस्बिर देखाउँदै कैलालीको चौमला–४ की दृष्टिविहीन बजारी थारू ।  

छोरी आसरानीलाई सम्झेर आमा बेला–बेला भक्कानो छाड्छिन् । ‘मेरी छोरी कहाँ होलिन् । धेरै माघी बिते, तर खबर पत्तो केही आएन,’ भर्थनीले भनिन् । छोरी लाने मालिकसँग पटक–पटक सम्पर्क गर्दा ‘तिम्रो छोरीले विवाह गरिन्, अहिले कहँ छिन् हामीलाई पनि थाहा छैन,’ भन्ने जवाफ पाउँछिन् । छोरीलाई गाउँकै विजय शाहले आफ्नी दिदीको घरमा काम लगाउन मासिक ५ सय रुपैयाँ तलब दिने सर्तमा लगेको उनले बताइन् ।
यसरी लैजाँदा आसरानी ६ वर्षकी मात्र थिइन् । छोरीको खोजी गर्न काठमाडौंसम्मै पुगिन्, आमा भर्थनी । प्रहरी कार्यालयमा उजुरी दिइन् । तर प्रहरीले पनि पत्ता लगाउन सकेन । ‘माघी आउँदा छोरीको सम्झना आउँछ,’ उनले भनिन्, ‘छोरी जिउँदै भए जस्तो लाग्छ, सरकारले खोजी गरिदिनुपर्‍यो ।’
करिब ११ वर्षअघि बारबर्दिया—१० शोभानगरकी तुलारानी थारूलाई पनि आफन्तले घरेलु कामदारका रूपमा गुलरियास्थित सम्झना होटलमा राखिदिएका थिए । उनको अवस्था पनि अज्ञात छ । आमा गुलियाले काठमाडौं पुगेको आशंकामा त्यता धेरै धाइन् । ‘अहिले त छोरी खोज्न काठमाडौं जान सक्दिनँ, उमेर ढल्कँदै गयो,’ उनले दु:खेसो पोखिन् । होटल धनीले सर्पले डसेर तुलारानीको मृत्यु भएको जानकारी गराएका थिए । ‘मरेको भए लास त दिनुपर्ने थियो,’ आमा गुलियाले भनिन्, ‘तर दिएनन् ।’
यस्तै ०५९ को माघी सकिएलगत्तै कैलालीको चौमाला ४ राजीपुरकी आशा चौधरीलाई आफन्त सीता थारूले धनगढीका एकजना साहूको जिम्मा लगाएकी थिइन् । आशा सम्पर्कविहीन भएको पनि १५ वर्ष पुग्यो । आमा बजारी छोरीको प्रतीक्षा गर्दागर्दै दृष्टिविहीन भइसकिन् ।
‘छोरी कहाँ छिन् भन्दा साहूले घरबाट भागेर गएको बताउँछन्,’ उनले भनिन्, ‘गरिब र असहाय भएका कारण प्रहरी प्रशासनमा गएर मुद्दा दिन पनि सकेकी छैन ।’ बर्दियामा दुई र कैलालीमा एक गरी तीनजना कमलरीको खोजी गरिदिन उनीहरूका आफन्तले मानव अधिकारकर्मी र विभिन्न संघसंस्थासँग आग्रह गरेका छन् ।
विगतमा माघी (संक्रान्ति) मान्न घर आउँदा अरूको झैं आफ्नी छोरीले पनि वर्षभरिको कमाइ ल्याउली र परिवारका सबैसँग वर्षको सबैभन्दा ठूलो पर्व मनाउ‘ला भन्ने आशा गर्ने धेरै थिए । तर ०७० असार १३ गते कमलरी मुक्त घोषणा भएपछि यो प्रथा बन्द भएको छ । कमलरी क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका नायफ संस्थाका क्षेत्रीय प्रबन्धक एवं कानुन व्यवसायी फक्ला थारूले बेपत्ताको खोजीका लागि नि:शुल्क कानुनी सेवा दिने बताए ।

प्रकाशित : पुस ३०, २०७४ ०७:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT