१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ट्रयाक्टरमै सिन्डिकेट

४० देखि ४५ क्विन्टल माल बोक्दा १४ हजार रुपैयाँ भाडा
हरि गौतम

रुकुम (पश्चिम) — यात्रुवाहक सवारीको सिन्डिकेट त ठीकै होला । यातायात व्यवसायीले गर्ने सिन्डिकेटलाई सरकारले पनि हटाउन सकेको छैन । सिन्डिकेट हटाउन भन्दै विभिन्न तरिका अपनाउँदा केही न्यून हुँदै गएको छ तर पूरै हट्न सकेको छैन । यसले सर्वसाधारण भने मारमा परेका छन् ।

ट्रयाक्टरमै सिन्डिकेट

यहाँ त यात्रुमात्रै होइन, व्यवसायी पनि हैरान हुने गरी मालवाहक सवारीमा पनि सिन्डिकेट लागेको छ । कृषि कार्यमा समेत प्रयोग हुने ट्रयाक्टरमा समेत सिन्डिकेटले दु:ख दिएको छ । ट्रयाक्टर व्यवसायीले थालेको सिन्डिकेटले केही व्यवसायी र मालसामान ढुवानीकर्ता पनि हैरान भएका छन् । जाजरकोट–डोल्पा सडकअन्तर्गत २ खण्डमा ट्रयाक्टरकै सिन्डिकेट छ । रुकुम पश्चिमको आठबिसकोट र जाजरकोटको नलगाड नगरपालिकाको एक/एक खण्डका सडकमा व्यवसायीले झन्डै दुई महिनादेखि सिन्डिकेट लगाएका छन् ।

जाजरकोट नलगाड ८ को बगरादेखि सोही नगरपालिकाको तल्लुबगरसम्मको झन्डै २५ किलोमिटर सडक र रुकुम पश्चिमको आठबिसकोट ५ को गोतामकोटदेखि त्रिवेणीसम्मको २४ किलोमिटर सडकमा ट्रयाक्टर व्यवसायीले सिन्डिकेट लगाएका हुन् । ढुवानीका लागि मालसामान पाइएपछि पालोअनुसार नै व्यवसायीले आफ्नो ट्रयाक्टर चलाउँछन् । दुवै खण्डमा गरी झन्डै ४० ट्रयाक्टरले पालैपालो मालसामान ओसारपसार गर्छन् । जाजरकोटको बगरादेखि तल्लु बगरसम्मको सडकमा ट्रयाक्टर चलाउने एक चालकले सिन्डिकेट नमानेकै कारण आफूले ढुवानीका लागि माल नपाएको गुनासो गरे ।

‘यहाँका ट्रयाक्टर नम्बरअनुसार चल्छन्, माल पाइएको बेला जसको नम्बर छ उसैले बोक्ने हो,’ उनले भने, ‘हामीले त माल पाउने अवस्थै हुन्न ।’ मालसामान ढुवानी गरेबापत अवैध तरिकाले केही ट्रयाक्टर व्यवसायीले सिन्डिकेट गरिरहेको गुनासो बजारमा व्याप्त छ । जाजरकोटको २५ र रुकुमको २४ किलोमिटर सडकमा ४० देखि ४५ क्विन्टल माल बोक्दा १४ हजार रुपैयाँ भाडा तिर्न पर्ने व्यवसायीले बताए । मालसामान ओसारपसार गर्नुपर्ने व्यवसायीले ढुवानी भाडा महँगो हुँदा सबैतिर असर गरेको जानकारी दिए ।

उक्त दुवै खण्डमा ट्रयाक्टर सञ्चालनका लागि कुनै समिति दर्ता छैन । अवैध रूपमा कतिपय ट्रयाक्टर व्यवसायीले मनोमान गरिरहेको गुनासो ट्रयाक्टर चालकबाटै आएको छ । ‘बिनादर्ता, बिनासमिति ट्रयाक्टरले नम्बर लाएरमात्रै सामान ओसारपसार गरिरहेका छन्,’ व्यवसायी खडक शाहीले भने, ‘यसको नियमन कसले गर्ने हो ? कसैको ध्यान जान सकेको छैन ।’ ट्रयाक्टर व्यवसायीले भने आफूहरूले कुनै सिन्डिकेट नलाएको दाबी गरे । सधैंझैं मालसामान नपाइने भएपछि व्यवसायीकै हितका लागि मिलेर काम गरिरहेको बलबहादुर बुढाले बताए ।

मालसामान ओसार्न ट्रयाक्टर पनि तुइनबाट तारेर उक्त सडकमा पुर्‍याएकाले भाडा केही महँगो हुन गएको उनको तर्क छ । ती दुवै खण्डमा ट्रयाक्टर सञ्चालन गर्न रुकुम पश्चिमको राडीबाट जाजरकोटको बगरा पुर्‍याउन तुइनमार्फत ट्रयाक्टर ठूलीभेरी तार्नुपर्छ । जाजरकोटको तल्लुबाट रुकुम पश्चिमको गोतामकोट पुर्‍याउन पनि तुइन नै प्रयोग गर्नुपर्छ । ठूलीभेरीमा पुल नहुँदा ट्रयाक्टर, जिपलगायत तार्न महँगो भाडा तिर्नुपर्ने उनले जानकारी दिए ।

प्रकाशित : माघ १, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?