जातीय भेद - कानुनमा छैन, व्यवहारमा उस्तै

केटी पक्षका परिवारले खोजीनिती गरी छोरीलाई फिर्ता ल्याए । पछि केटा केटी दुवै भागे । 
प्रशान्त माली

ललितपुर — संविधानले जातीय, वर्गीय, लिंगीय विभेद नहुने भने पनि ललितपुरका नेवार जातिभित्र विभेद कायम छ । एक साताअघि ठेचोका एक महर्जन युवाले कपाली थरकी केटीसँग विवाह गरे । तर, जब उनले दुलही घरमा भित्र्याउन खोजे, परिवारले मानेनन् ।

जातीय भेद - कानुनमा छैन, व्यवहारमा उस्तै

घरबाट निकाल्ने मात्र नभई छुट्टिन दबाब दिएपछि केटीले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि गोदावरी नगारपालिकाका र महानगरीय प्रहरी वृत्त चापागाउँमा निवेदन दर्ता गरिन् ।

त्यस्तै, ठेचोकै एक माली थरका युवाले ५ वर्षअघि महर्जन थरकी युवतीसँग प्रेम विवाह गरे । घरपरिवारमा मिल्ती भए पनि दम्पतीबाट जन्मिएको छोरालाई भने माली गुठीले गुठियारका रूपमा स्विकारेको छैन । गुठीमा भित्र्याए गुठी देवता रिसाउने र सम्पूर्ण गुठियारलाई नराम्रो हुने अन्धविश्वास छ ।

केहीअघि खडगी थरका केटाले महर्जन थरकी केटीलाई भगाए । केटी पक्षका परिवारले खोजीनिती गरी छोरीलाई फिर्ता ल्याए । पछि दुवै भागे । यसले झगडाकै रूप लियो । केटाको घरमा महर्जन युवतीलाई बुहारीका रूपमा भित्र्याए पनि अहिलेसम्म केटी पक्षले ज्वाइँलाई घरमा भित्र्याएको छैन । त्यसैले ससुरालीको देवाली गुठीमा ज्वाइँले प्रवेश पाएका छैनन् ।

यी तीन प्रतिनिघि पात्र मात्र हुन् । उनीहरूजस्तै जातीय विभेदको समस्या भोग्न नेवारी समुदायमा थुप्रो छन् । नेवार बस्तीहरूमा ‘नेवा: खाजा घर’ प्रचलित छन् । तर, बस्तीमाँझ यस्ता खाजाघरमा ‘तल्लो’ मानिने नेवारले खाजा खाएमा अझै पनि परै बसेर खानुपर्ने र खाएको भाँडो आफैं माझ्नुपर्छ । खेतबारीमा काम गर्दापछि छुट्टै बसेर खानुपर्ने कुप्रथा अझै समाजमा विद्यमान छ । नेवारी समुदायमा विंसगति र विकृति अझै बाँकी छ ।

नेवारको छाता संस्थाका रूपमा नेवा: देय दबू छ । यो संस्थाअन्तर्गत नेवार जातिभित्रका २८ जातीय संस्था र संगठन सदस्य छन् । दबूका महासचिव माइलाबाबु देउला भन्छन्, ‘नेवार समुदायभित्र विविधतामा अनेकता र अनेकताभित्र एकता छ, तर दलित परिभाषित छैन ।’ उनले जयस्थिति मल्लले ४ वर्ण र ३६ जातलाई जातीय व्यवस्था सुरु गरेको नभई व्यवस्थित मात्र गरेको बताए । ‘नेवार समुदायमा पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने १९१० को मुलुकी ऐनलाई प्रचलनमा ल्याउन खोजेकोमा आपत्ति छ,’ उनले भने । देउला समाजका अध्यक्षसमेत रहेका उनले कुप्रथा गर्दै जाने भएमा नेवार/नेवारबीच नै आन्दोलन हुने चेतावनी दिए । ‘मुलुकमा आमूल परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सुरुमा कुप्रथा अन्त्य गर्न जरुरी छ,’ उनले भने, ‘यसबारेमा सरकार पक्ष पनि गम्भीर हुन जरुरी छ ।’

नेवार समुदायमा लिच्छविकालदेखि सुरु भएको जात र वर्ण व्यवस्थाको प्रभाव अझै पाइन्छ । सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये नेवार आर्थिक हिसाबले उन्नत समूहमा पर्छ । व्यापार व्यवसायमा अब्बल मानिने यो जातिभित्र पनि ब्राह्मण, क्षत्री, वैश्य र शूद्रजस्तै ४ तहमा विभाजन गरेको पाइन्छ । नेवार समुदायमै रहेका देउला, कुचीकार, च्याम्खललाई भने दलितको सूचीमा राखिएको छ । राष्ट्रिय दलित आयोगले नै यिनलाई दलित मानेको छ ।

नेवा: दे दबूका अध्यक्ष नरेश ताम्रकारको भनाइ पनि उस्तै छ । नेवार समाजभित्र विभेद कम भए पनि निर्मूल नभएको उल्लेख गदै उनी भन्छन्, ‘रोटीबेटी चलेको छैन । गुठीको भोजमा अरू सहभागी हुन पाउँदैनन्, बिहेबारी पनि चल्दैन ।’ उनले सरकारले संसद्मा नेवार समुदायभित्र दलित भनेर खड्गी, कपाली, देउला र धोबीको विधयकको रूपमा दर्ता गरेको बताए । ‘हामीले पारित गर्न दिएनौं,’ उनले भने, ‘पछिल्लोपटक पहाडी दलित भनेर देउलालाई ल्याए, यो पनि मान्य छैन ।’ पुरानो बस्तीमा विभेद बाँकी रहेको बताउँदै उनले भने दबूले यसबारेमा जागरण ल्याउने काम गरिरहेको छ ।

अधिकारकर्मी मल्ल के सुन्दरले ८ वर्षअघि नै राष्ट्रिय सम्मेलन गरी नेवारभित्रको जातीय विभेद अन्त्य भएको सार्वजनिक घोषणा भइसकेको बताए । उनले सीमित व्यक्तिले दलितको कोटामा सुविधा लिने र राजनीतिक दलहरूले समेत त्यसलाई प्राथमिकता दिने प्रवृत्तिले नेवार दलित भनेर खण्डित गर्ने काम भइरहेको बताए ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार मुलुकमा नेवारको संख्या १३ लाख २१ हजार ९ सय ३३ छ । जुन कुल जनसंख्याको ४ दशमलव ९ प्रतिशत हो । नेवारको प्रमुख पहिचान गुठी परम्परालाई मानिन्छ । सामाजिक, धार्मिक, आर्थिक, पारिवारिक सम्बन्धहरू गुठीअन्तर्गत सञ्चालन हुन्छन् । वंश र परम्पराको निरन्तरताको टुंगो पनि गुठी र त्यसका प्रमुख थकालीबाट हुने गर्छ । गुठीका सदस्यलाई गुठियार भनिन्छ । गुठियारको घर परिवारमा हुने देवाली, व्रतबन्ध, विवाहदेखि मृत्यु संस्कारसम्मका क्रियाकलाप गुठीले गर्छ ।

विभेदको जरो

नेवारलाई बहुधर्मावलम्बी जाति मानिन्छ । नेवारभित्र हिन्दु र बौद्ध धर्म मान्ने छन् । नेवार समुदायका महिलाले विभिन्नथरीका गरगहना पहिरिए पनि नाक छेडदैनन् र फुली पनि लगाउँदैनन् । तर, सामाजिक भेदका कारण नाक छेड्ने महिला भेटिन्छन् । विशेषगरी ‘दलित’ मानिने समुदायमा यो चलन बढेको छ । विभेदबाट मुक्ति पाउन केहीले धर्म परिवर्तन गर्ने गरेको पनि पाइन्छ । कतिपय उपल्लो जातका युवाले कथित तल्लो जातिकी युवतीसँग विवाह गरे समाजबाट बहिष्कृत हुने, बुहारीलाई कुलमा सामेल नगरिने गरेको पाइन्छ ।

कथित तल्लो जातिका युवासँग छोरीचेलीले विवाह गरे माइती पक्षले सधैंका लागि त्याग्ने गरेको उदाहरण पनि छन् । ब्राह्मण, राई वा क्षत्रीजस्ता अन्य जातिमा विवाह गर्नेलाई प्रत्यक्ष भेदभाव गरेको खासै नभेटिने जानकारहरू बताउँछन् । नेवा: पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जन भन्छन्, ‘सामाजिक जातीय विभेदलाई नयाँ पुस्ताले बेवास्ता गर्ने गरे पनि गुठीमा कठोर व्यवस्थाका कारण चटक्कै छोड्न सकेको छैन ।’

विभेद अन्त्यको घोषणा

नेवार समुदायभित्र विभेद हुनु हुँदैन भन्ने सर्वत्र आवाज उठदै आएको छ । त्यही विभेद अन्त्य गर्न विभिन्न ६५ थरी नेवारभित्रका जातीय संस्थाका प्रमुखले एक साथ २०६५ मा भक्तपुरको बोडे र २०६६ पुसमा ललितपुरको पुल्चोकमा राष्ट्रिय सम्मेलन आयोजना गरी नेवार जातिबीच भेदभाव, छुवाछूत छैन, भए अन्त्य भएको मौखिक प्रतिबद्धता उद्घोष गरेका थिए । त्यही समुदायका प्रमुखले २०६८ पुसमै काठमाडौंको वसन्तपुरस्थित महादेव–पार्वती डबलीअघि लिखित रूपमै विभेद अन्त्य भएको घोषणापत्र सार्वजनिक गरेका थिए ।

प्रकाशित : माघ २, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?