कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पुल निर्माणमा ढिलाइ

मनोज बडू

दार्चुला — दार्चुला–तिंकर सडकमा बनाइन लागेका दुई पुलको ठेक्का म्याद सकिएको ६ महिना बितिसक्दा जगसम्म तयार हुन सकेको छैन । तिंकर सडक खण्डको लास्कु र निजाङगाड खोलामा पुल बनाउन तोकिएको ठेक्काको म्याद गत असारमै सकिएको हो । 

पुल निर्माणमा ढिलाइ

सडक विभागको क्षेत्रीय कार्यालयले पुल निर्माणका लागि निर्माण कम्पनीलाई ६ महिना म्याद थपेकोमा जगसमेत हाल्न नसकेको दार्चुला–तिंकर सडक योजनाले जनाएको छ । लास्कु खोला पुलको राजेन्द्र/देवसिंह/मालिकार्जुन ज्वाइन्ट भेन्चर र निजाङगाड खोला पुलको राजेन्द्र/मालिकार्जुन ज्वाइन्ट भेन्चरले जिम्मा लिएका थिए ।

लास्कु खोलामा एकतर्फ जग निर्माण भएको छ । अर्कोपट्टि कामै सुरु भएको छैन । निजाङखोलामा गत वर्ष रोकिएको काम अझै सुरु हुन नसकेको स्थानीय रामबहादुर बमले बताए । ‘पहिलाको काठको अस्थायी पुल भत्काएर पुल निर्माण थालिएको हो,’ उनले भने, ‘तर, निकै अघिदेखि काम रोकिँदै आएको छ ।’ यो ठाउँमा पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या छ । निजाङगाड खोला पुलको २०७२ फागुनमा निर्माण सम्झौता गरी २०७४ जेठमा र लास्कु खोला पुल २०७४ असारमा निर्माण सम्पन्न हुनुपर्ने थियो । थपिएको म्याद सकिँदासमेत दुवै पुलको जगसम्म पूरा नहुनुमा ठेकेदारको लापरबाही मुख्य कारण रहेको स्थानीयको भनाइ छ । निर्माण कम्पनीको थपेको म्याद पुस १४ गते सकिएको छ । सुरुमा निर्माण सामग्री ढुवानीमा समस्या देखिएकाले पुल निर्माणमा

ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ ।

महाकाली नदी नियन्त्रण आयोजनाले भारततर्फ आएको सुख्खा पहिरो क्षेत्रमा तटबन्धको काम गर्न कठिन भएकाले निर्माण अवधि लम्बिएको औंल्यायो । दुई– तीन महिनासम्म तटबन्धको कामले निर्माण सामग्री ओसार्ने बाटो बन्द थियो । बाटो अवरुद्ध हुँदा चाहिएको समयमा साइटमा निर्माण सामग्री ढुवानी गर्न नसकिएको निर्माण व्यवसायी महेशसिंह धामीले बताए ।

पटक–पटक ताकेता गर्दासमेत पुल निर्माणमा ढिलाइ गरेकाले निर्माण कम्पनीलाई कार्य प्रगति पेस गर्न पत्राचार गरिएको आयोजना कार्यालयले जनाएको छ । तिंकर सडकमा अहिले दुहु गाउँपालिकाको हिकिलासम्म सवारी गुड्छन् । तर, पुल नबन्दा स्थानीय यात्रामा जोखिम मोल्न बाध्य छन् ।

प्रकाशित : माघ २, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?